दुग्ध विकास बोर्डको कामप्रति सन्तुष्ट नभएर खारेज गर्न लाग्यौ‌ : कृषिमन्त्री

फाइल तस्विर

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले दुग्ध विकास बोर्डले गरेको कामप्रति सरकार सन्तुष्ट नभएकाले खारेज गर्न लागेको बताउनुभएको छ । ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै कृषिमन्त्री डा. भुसालले सरकारले जुन उदेश्य लिएर बोर्डको स्थापना गरेको थियो बोर्डले त्यो उदेश्य अनुसार काम गर्न नसकेको बताउनुभयो ।

उहाँले दुग्ध विकास बोर्ड दुधको विकास र अनुसन्धान तथा समन्वय गर्ने भनेर स्थापना भए पनि त्यस्तो काम गर्न नसकेको बताउनु भयो । उहाँले बोर्डको काममा सरकार सन्तुष्ट नभएर र खर्च कटौती पुनरावलोकन आयोगको सिफारिसको आधारमा खारेजको सूचीका परेको बताउनुभयो ।

उहाँले सरकार दुध विकासको पक्षमा रहेको भन्दै दुग्ध विकास बोर्ड खारेज भए पनि अन्य संरचनाबाट भए पनि काम गर्ने बताउनु भयो । उहाँले दुग्ध विकास बोर्ड खारेज गरेर सरकार दुध विकासबाट हात झिक्न नखोजेको भन्दै पहिलाको भन्दा अझ बढी विकास गर्ने पक्षमा रहेको बताउनुभयो।

उहाँले सरकारले दुध विकास गर्नको लागि भारतबाट मुर्रा राँगा ल्याउन लागेको बताउनु भयो । उहाँले सरकारले नसल सुधार गरी दुधको विकास गर्ने तर्फ प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले बोर्ड खारेज हुँदैमा डेरी व्यवसायीहरु आतिहाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो ।