यसरी गर्नुहोस अकबरे खुर्सानीको खेती (सम्पूर्ण प्रकृयासहित)

  • 108
  •  
  •  
  •  
  •  
  •  
    108
    Shares

खुर्सानीको उत्पत्ति मध्य अमेरीकाबाट भएको भन्ने अनुमान छ । नेपालमा २०–२५ खालका पिरो, भेडेखुर्सानी र अकबरे खुर्सानी पाईन्छन् । त्यस मध्ये पूर्वी नेपालमा अकबरे खुर्सानी पाईन्छन् । विशेषगरी अकबरे खुर्सानी पूर्वी पहाडमध्ये पनि इलाम र धनकुटामा बढी खेती गरेको पाइन्छ । पूर्वी नेपालमा पाइने ६–७ जातका अकबरे खुर्सानी मध्ये आकार रङ्गमा हेर्दा ठूलो देखिने, सानो डल्लो, सानोगोलो, लाम्चो, ठूलोगोलो, लाम्चो (बास्नादार) तथा चिप्लो डल्लो (पिरो नहुने) र उल्जे पोटिलो रङ्गका आधारमा पनि गाढा रातो, कलेजी रातो तथा रातो रङ्गहरुमा पाईन्छ । तर ठूलो गोलो लाम्चो (बास्नादार) जातको अकबरे निकै पिरो र प्रख्यात सबैले मन पराउने जात हो ।

हावापानी

अकबरे खुर्सानीको खेती उच्च पहाडदेखि गर्मी हावापानी भएको तराईमा समेत सजिलै खेती गर्न सकिन्छ । यसका लागि साधारणतया दिनको तापक्रम २२–२५ डिग्री से. र रातीको तापक्रम १५–२० डि.से. उपयुक्त हुन्छ । पानी जम्ने स्थान र बढी आद्रता भएको ठाउँमा राम्रोसँग उत्पादन हुदैन ।

माटो
मलिलो हल्का दोमट तथा केही चिम्टाईलो माटो समेत उपयुक्त हुन्छ । माटोको पि.एच.६–७ सम्म । भिरालो तथा नयाँ पाखो माटो अकबरे खेतीका लागि उपयुक्त हुन्छ ।

नर्सरी व्यवस्थापन
छिटोमा आश्विन—कार्तिक देखी ढिलोमा माघ—फाल्गुण सम्म ।

जमिन व्यवस्थापन
पानी नजम्ने ठाउँको जमिनको छनौट गर्नुपर्छ । माटोलाई ३–४ पटक खनजोत गरी माटो फुरफुर बनाउनु पर्दछ । त्यसपछि जङ्गलको माटो,पाकेको गोबरमल र बालुवा १ः१ः१ चिम्टाईलो माटोमा मिसाई १ मिटर चौडाई र लम्बाई आवश्यकता अनुसार हुनेगरी (वर्षादमा १० ईन्च र हिउँदमा ६ इन्चको उचाई हुने गरी डयाङ्ग बनाउनु पर्छ । नर्सरीमा बीउ रोप्नुअघि निम्न अनुसार मल तथा औषधी प्रयोग गर्नु पर्छ । माटो उपचार गर्न फ्युराडन वा डर्सवान २५ ग्राम, डी.ए.पी. २०० ग्राम, पोटास १०० ग्राम, कृषि चुन १०० ग्राम उक्त मलहरु तयारी माटोमा राम्ररी मिसाई १–२ दिन जति सुकेको परालले छोपी सिंचाई गर्ने ।

बीउको मात्रा
एक रोपनी जग्गाको लागि १० ग्राम बीउ आवश्यक पर्छ । जाडोको मौसम भए प्लाष्टिक टनेलको व्यवस्था गर्नुपर्छ ।

बीउ छर्ने र बेर्ना उमार्ने तरिका
बीउ छर्ने र बेर्ना उमार्ने तरिकाको तयारी जमिनमा चौडाइ तिर ४ ईन्चको फरकमा लाईन कोरी १ ईन्च फरकमा १÷१ दाना बीउ छर्ने । उक्त बीउ माटोले छोपी सुकेको पराल अथवा झारले छोप्ने माटोको अवस्था हेरी सिँचाई गर्ने । बिरुवा उम्रिएपछि छापो झिकिदिने र हरेक सात दिनको फरकमा आवश्यकता अनुसार ढुसीनासक किटनासक विषादी छर्ने । यसरी बिरुवा छिटो जातको हो भने ३÷४ महिना र ढिला हो भने १÷२ महिनामा बेर्ना तयार हुन्छ । यदि बेर्ना पहेंलो भएमा बेर्नामा नै भिटामीन, मल्टिप्लेक्स, भेजिमेक्स आदि लगायत युरिया २ ग्राम प्रति लि. पानीमा स्प्रे गर्न सकिन्छ ।

बिरुवा लगाउने तरिका
राम्ररी खेत तयार गरीसकेपछि बहुवर्षिय रूपमा लाइनदेखि लाइनको दुरी ९० से.मी. र बिरुवादेखि बिरुवाको दुरी ६० से.मी., वर्षेवाली ६०/६० र वषन्ते ६०/४५ से.मी. कायम गरी प्रति बोटमा २ के.जी. सम्म कम्पोष्ट मल, ५ ग्राम डि.ए.पी., पोटास, कृषि चुन हाल्ने । यदि सिधै खेतमा मलखाद राखि खेती गर्ने हो भने प्रति रोपनी डि.ए.पी.१६ के.जी., पोटास १० के.जी., कृषि चुन १० के.जी., गोबरमल ३० डोको, मल्टिप्लेक्ज २ के.जी., युरिया ८ के.जी. र फ्युराडन/डर्सवान १ के.जी. चाहिन्छ जसमध्ये डि.ए.पी., पोटास र कृषि चुनलाई २ भाग गरी सबै गोठमेल फ्युराडन/डर्सवान आदि एकमुष्ठ माटोमा राख्ने बाँकी आधा भाग दानमल, पोटास, कृषिचुनसँग ८ के.जी. युरिया २ के.जी., मल्टिप्लेक्सलाई ४ भाग गरी रोपेको १५ दिनको फरकमा ४ पटक प्रयोग गर्ने ।

सिँचाई र गोडमेल
आवश्यकता अनुसार माटोको अवस्था हेरी पानी दिनुपर्छ । बिरुवा सारेको १०–१५ देखि २०–२५ दिनसम्म माटोको अवस्था हेरी खुकुलो पार्ने झारपात हटाउने आदी ।
वाली संरक्षण
खुर्सानी बालीमा ढुसी, ब्याक्टेरिया, भाइरसबाट उपयुक्त वातावरण पाएमा विभिन्न प्रकारको रोगहरु लाग्न सक्छन् । रोग लागिसकेपछि उपचार गर्न सकिन्न तर रोगथाम र व्यवस्थापन गर्न सकिन्छ खुर्सानी बालीमा लाग्ने मुख्य मुख्य रोगहरु र तिनको रोकथाम यसप्रकार छ ।

डढुवा/ढुसीबाट हुने रोग
पातमा डढेजस्तो लक्षण देखिन्छ । सुरुमा पानीले भिजेजस्तो हल्का खैरो भई पछि गाडा खैरो वा कालो रङ्गमा परिणत हुन्छ । अनुकुल वातावरणमा त्यस्ता थोप्लाहरु वृद्धि भई बोटलाई डढाई दिन्छ । ओसिलो अवस्थामा फलको तल्लो सतहमा सेतो ढुसी देखिन्छ । फलमा खैरो कालो दागहरु देखा पर्दछन् । बेर्नामा डाँठ कुहिएको लक्षण देखापर्छ ।

व्यवस्थापन विधि
स्वस्थ्य बीउ मात्र प्रयोग गर्ने । रोग लागेका बोटहरु हटाउने जलाउने खेत सफा सुग्घर राख्ने, रोग शुरु हुने बेलादेखि कपर अक्सीक्लोराइड, ब्लाईटक्स, मेन्काजेब डाईथेन ४५, २–३ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्कने । कार्बान्डाजीम, बेभिष्टिन २ ग्राम प्रतिकिलोको दरले बीउ उपचार गर्ने ।

एन्थ्राक्नोज (कोत्रेरोग)
बोटको टुप्पा माथिबाट सुक्दै आउँछ । यसले गर्दा पुरै हाँगा सुकेर मर्दछ । बोटको डाँठहरुमा काला काला स–साना गिर्खाहरु देखिन्छन् । विस्तारै तलतिर असर गर्दै जान्छ र फल कम लाग्छ । अर्काे किसिमको फलमा काला दागहरु लागि फल सड्छ । यस्ता दागहरुमा थुप्रै काला गिर्खाहरु देखिन्छन् ।

व्यवस्थापन/ रोकथाम
रोगी फलका बोटहरुबाट बीउ नराख्ने, क्याप्टन, धानुटान विषादिले बीउ उपचार गर्ने । खेत सफा राख्न,े रोग लागेका पुराना बोटहरु जलाई नष्ट गर्ने । रोगको लक्षण देखापर्नासाथ कपर अक्सिक्लोराईड, ब्लाईटक्स ५० वा मेल्कोजेब, डाइथेन एम. ४५÷३ ग्राम प्रतिलिटर पानीमा मिसाई ७/७ दिनको फरकमा ३ पटक छर्कने ।
ब्याक्टेरियाबाट हुने ओइलाउने रोग
बोटहरु सर्लक्क ओईलाएको देखिन्छ । त्यस्तो बोटलाई सफा पानीमा डाँठ डुबायो भने सेतो संकाणु निस्केर पानीमा घोलिन्छ र धमीलो देखिन्छ ।

व्यवस्थापन विधि
सोलानेसी परिवार बाहेक अन्य बालीसँग घुम्ती बाली लगाउने । रोग अवरोधक जात लगाउने । फमार्लिन १० एम.एल. प्रतिवर्गमिटरमा माटोको उपचार गर्ने र १० ग्राम फोरेट राखी प्लाष्टिकले ३ दिनसम्म छोपीदिने चैत्र वैशाख घाममा खेत जोतेर छोड्ने र जमीनमा सोतर झारपात राखी जलाई दिने ।

मोज्याक भाईरस रोग
यो रोग खुर्सानीको लागि निकै हानिकारक मानिन्छ । यो रोग नर्सरीबाटै पनि शुरु हुन सक्छ । पात पहेंलो र गुज्मुज्ज परेको पात बटारीएको, बिग्रिएको, बोट वृद्धि राम्रो हुँदैन र फल कम लाग्छ । यो रोग किराको माध्यमबाट चाँडै एक ठाउँबाट अर्काे ठाउँमा सर्दछ । यस्तो रोग कहिले काहीँ सूक्ष्म खाद्य तत्वको कमिले पनि मिल्दो जुल्दो देखिन्छ र यसलाई चिन्नको लागि प्राविधिकको सल्लाह लिनु पर्ने हुन्छ ।

व्यवस्थापन विधि
रोगको लक्ष्ण देख्नासाथ बोट उखलेर खाडलमा पुरीदिने । स्वस्थ्य विउ प्रयोग गर्ने । किरा हटाउनलाई किटनाषक औषधी रोग र मालाथायन, मेटासिट, नुभान आदी स्प्रे गर्ने ।

सेतो धुले रोग 
यो ढुसीबाट लाग्ने रोग हो । न्यानो सुख्खा मौसममा हावाबाट सर्ने रोग हो । पातहरुमा पिठो जस्तो सेतो धुलोले ढाक्दछ ।

रोकथाम
क्याप्टान वा थिराम २.५ प्रतिकिलो बीउ उपचार गर्ने । क्याप्टान वा थिराम २.५ ग्राम÷लिटर पानीमा नर्सरीमा छर्ने ।

मुख्य मुख्य किराहरु र तिनको रोकथाम

थ्रिप्स कीराः यो एकप्रकारको मसिनो कीरा हो । माउ र बच्चाले कोत्रेर घाउ बनाई निस्केको रस चुस्छन् । कोत्रेको ठाउँमा खैरा धब्बाहरु देखिन्छन् । पातलाई धर्का पारेको ठाउँमा नियालेर हेर्दा मात्र किरा देखिन्छ । यसले एक बिरुवाबाट अर्कोमा रोग सार्ने काम पनि गर्छ ।

रोकथामका उपायहरु
दैहीक औषधी मेटासिस्टक्स, मेटासिड, मालाथियन जस्ता औषधी प्रयोग गर्ने, क्षतीको प्रकार हेरी पटक पटक स्प्रे गर्ने ।

फेद कटुवा
यो किरालाई खुम्ले वा ढुकुवा कीरा पनि भनिन्छ । भरखर सारेका बिरुवाका फेद काटेर लार्भा अवस्थाका किराहरुले नोक्सान गर्दछ । यो माटो मुनी बस्दछ । यो किरा वयस्क अवस्थामा कालो÷खैरो रङ्गको पुतली बन्छ । अघिल्लो पखेटामा चन्द्राकार र पछिल्लो पखेटाहरु सेता र मैला सेता बुट्टाहरु देखिन्छन् ।

रोकथामका उपायहरु
रोप्नु वा बेर्नासँग क्लाराडेन ५% धुलोले प्रतिरोपनी १ किलोको दरले उपचार गर्ने । बेर्ना सारीसकेर यो किरा देखिएमा माथि लेखीएको विषादी उही दरले माटोको सतहमा छर्कने वा मालाथियन वा सुमिथायन प्रतिलिटर पानीमा २ एम.एल.को झोल बनाई प्रत्येक बोट मुनीको माटो ७÷८ से.मी.को गोलाईको क्षेत्रफलमा राम्ररी भिज्ने गरी उपचार गर्ने ।

फल टिप्ने
खुर्सानीको फल टिप्ने एकै पटक परिपक्व नहुने भएकोले फल टिप्न शुरु गरेपछि २–४ महिना सम्म लगातार टिपिरहन सकिन्छ । एकपटक टिपिसकेपछि कम्तिमा १०–५ दिन सम्म पुनः फल टिप्नु हुँदैन र फेरी तयार हुन्छ । अकबरेको हकमा प्रति रोपनी ३०० देखि ८०० कि.ग्रा. उत्पादन हुन्छ ।


  • 108
  •  
  •  
  •  
  •  
  •  
    108
    Shares
error: Content is protected !!