गर्मीमा पनि लेयर्स कुखुराबाट मनग्य उत्पादनका लागि यसरी स्याहारौं

चर्को गर्मीको तापले लेयर्सको कुखुराको बथान माथिकै ठूलो प्रभाव पारेको हुन्छ। तर पनि यस्तो वातावरणमा कुखुरालाई स्वस्थ बनाई अण्डा उत्पादन गरि राख्ने बनाउन सकिने धेरै उपायहरु छन् । जब गर्मीमा तापक्रम बढ्छ, अण्डा उत्पादकहरु थाहा पाउनु पर्छ कि त्यस्तो वातावरणमा अण्डाको उत्पादन घट्ने मात्र होईन कुखुराको बथानमा मृत्यूदर पनि अत्याधिक हुन्छ ।

पोल्ट्रीका लागि सुविधाजनक मानिने वातावरणको तापक्रम १८ देखि २४ डिग्री सेल्सियस हो । यसभन्दा बढी तापक्रम भएमा पसिना ग्रन्थीको अभाव र प्वाँखले भरिएको कारण कुखुराले सामान्य शरिरको आन्तरिक तापक्रम कायम राख्न सक्दैन । यदि वातावरणको तापक्रम चाहिनेभन्दा बढी भएमा कुखुराको आन्तरिक तापक्रम पनि बढ्छ जसका कारण दानाको खपतमा कमी, शरीर तात्ने, छिटो छिटो श्वास फेर्ने, कमजोर भएर जमिनमा पल्टिने र अन्त्यमा मृत्यू समेत हुने जोखिम रहन्छ ।

यदि कुखुराको शरिरको तापक्रम बढ्ने समस्यालाई समयमै व्यवस्थापन गर्न सकिएन भने लेयर्सबाट राम्रो उत्पादन लिन सकिदैन र यस्तो समस्याबाट थोरै उमेर र कमतौल भएका भन्दा बढी पुराना र बढी तौल भएका कुखुराहरु बढी प्रभावित हुनेछन् ।

समग्र रुपमा वरावर र फार्मको वातावरणको उपयूक्त व्यवस्थापनद्धारा यस समस्या समाधान गर्न सकिन्छ । गर्मी मौसममा लेयर्स कुखुरालाई सुविधाजनक वातावरण निर्माण गरी उनीहरुबाट अण्डा उत्पादनमा असर नपर्ने स्थिति सृजना गर्न फार्मको व्यवस्थापन, पानीको व्यवस्थापन, दानाको गुणस्तर र अन्य सामान्य व्यवस्थापन गरी चार कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ ।

यस्तो छ, शितलता प्रदान गर्ने उपायहरु

पोल्ट्री फार्मको वातावरणमा समायोजन

  • कुखुरालाई तापबाट जोगाउन गर्मी मौसममा निम्न उपायहरु अपनाउन सकिन्छ ।
  • कुखुराको फार्म पुर्व पश्चिम फर्काई लामो संरचना बनाउनु पर्छ र छाना कम्तीमा पनि डेड मिटर अग्लो बनाई सिधै घाम र पानीको प्रभावबाट मुक्त बनाउनु पर्छ । छानामा चुन दलेर कम्तीमा २ डिग्री सेल्यिसय तापक्रम कम गर्न सकिन्छ ।
  • धानको पराल, गहुँको छ्वाली, उखुको पात वा नरिवलको पातले छानोलाई छाप्ने हो भने पनि कुखुरा राख्ने घरको तापक्रम कम गर्न सहयोग पुग्छ ।
  • छाना नजिकै भेन्टिलेटर राखी प्राकृतिक हावाको आवत जावत हुनेगरी कुखुराको घर बनाउनु पर्छ ।
  • कुखुुराको घरको बाहिरपट्टी जुटका बोराको पर्दा राखी कुखुराको घर भित्र शितलता प्रदान गर्न सकिन्छ । यसले गर्दा कोठाको तापक्रम २ देखि ३ डिग्री सेल्सियससम्म तापक्रम घट्न सक्छ ।
  • कुखुराको घर भित्र पानी छर्केर तापक्रम कम पार्ने र दानालाई चिसो हुन नदिने उपाय गर्न सकिन्छ ।
  • कुखुराको घर वरपर ठूला रुखहरु रोपेर पनि गर्मीको चापलाई कम गर्न सकिन्छ ।

पानी व्यवस्थापन

  • गर्मी मौसममा कुखुराले छिटो छिटो श्वास फेरेर आफ्नो शरीरको तापक्रम कम गर्ने गर्छन् जसका कारण शरीरबाट समान्य अवस्थामा भन्दा बढी पानी खेर जान्छ । त्यसैले कुखुरालाई धेरै पानी उपलव्ध हुने व्यवस्था गर्नुपर्छ तर पानीको व्यवस्थापन होसियारी पुर्वक गर्नुपर्छ । कुखुरालाई सामान्य अवस्थामा आवश्यकभन्दा तीन चार गुणा बढी पानी उपलव्ध गराउनुु पर्छ ।
  • गर्मी मौसममा माथि राखिने पानीको भाँडा पुरै भरी राख्नु हुँदैन र वेला वेलामा पानी वाहिर निस्कने व्यवस्था गर्नुपर्छ । यदि सम्भव भएमा जुटको बोराले पानीको ट्यांकी छोपी टल्किने रंगले पेन्ट गर्नुपर्छ ।
  • कुखुरालाई पानीको पहुँच सहज बनाउनु पर्छ ।
  • कुखुरालाई पानी खान प्रेरित गर्न नुन पनि खुवाउन सकिन्छ जसका लागि पानीमा ०.२ प्रतिशत नुनको मात्रा हुनु जरुरी छ । कुखुराको
  • ईलेक्ट्रो टाईप सन्तुलन कायम गर्न ईलेक्ट्रोलिट पनि पानीमा मिसाउन सकिन्छ ।
  • गर्मी मौसममा कुखुराका लागि भिटामीन सि र सिट्रीक एसीड पनि पानीमा मिसाएर दिनु जरुरी हुन्छ ।

दाना उपभोग

  • लेयर्सले गर्मी मौसममा दाना कम खाने भएकोले यसबाट अण्डा उत्पादनमा कमी नआओस भनी उनीहरुलाई पुरक पोषण तत्व खुवाउनु पर्छ ।
  • लेयर्सलाई १० देखि १५ प्रतिशत दानाबाट पाउने शक्ति कार्वोहाईड्रेड र प्रोटिनले प्रतिस्थापन गर्नु पर्छ जसमा १ देखि २ प्रतिशत वनस्पतिजन्य तेल तथा चिल्लो पदार्थ हुनु बेस हुन्छ ।
  • तेल निकालिएको चामलको कनिकालाई तेल सहितको चामलको कनिकाले प्रतिस्थापित गर्नुपर्छ । यसबाट दानामा बढी मात्रामा प्रोटिन हुने सुचिश्चितता हुन्छ । ढुसी नलागोस भनी दाना चामलको कनिका बढीमा १० दिनभन्दा पुरानो नहुने गरी प्रयोग गर्नुपर्छ ।
  • दानामा डिएल मिथिओनाईनलाई मिथियोनाईन होईड्रोक्सिल एनालोग र बेटाईनले प्रतिस्थापन गर्नुपर्छ । भिटामिन ( विशेषगरी भिटामिन सी, ए र ई ) र मिनरलको मात्रा २५ प्रतिशतले बढाउनु पर्छ ।
  • ४० देखि ५० प्रतिशत नुनको मात्रालाई वाईकोराबोनेटले प्रतिस्थापन गर्नुपर्छ जसबाट अण्डाको बोक्राको गुणस्तर राम्रो हुन्छ ।
  • दानामा क्याल्सियमको मात्रा ४ देखि ५ प्रतिशत बढाउनु पर्छ ।
  • दानाको एक तिहाई भाग विहानै ( ४ बजे विहान) खुवानुपर्छ र बाँकी दिउसो १ बजे तिर खुवाउनु पर्छ ।
  • दानामा माईकोटोक्जिन वाईन्डरको मात्रा थप्नुपर्छ । – http://newsagro.com/
error: Content is protected !!