प्रकृतीले पानी दियो, सरकारले मल दिन सकेन

  •  
  •  
  •  
  •  
  •  
  •  

धादिङ – धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटकी सेतीमाया गुरुङ रासायनिक मल लिन दुई दिनदेखि सदरमुकाम धादिङबेसीमा छिन्।

गाउँघरमा मलको हाहाकार भएपछि चर्को घाममा हातमा नाम्लो र बोरा बोकेर मंगलबार नै सदरमुकाम झरेको उनले बताइन्। ‘खेतमा हरेक वर्ष रासायनिक मल हाल्ने गरेकी थिएँ, यसपालि मल नै पाइएन,’ उनले दुखेसो पोख्दै भनिन्, ‘चैतमा रोपेको धान र मकैमा मल हाल्न ढिलाइ भइसक्यो।’

खेत रोपाई गर्ने बेलामा प्रशस्त पानीको अभाव भए पनि जसोतसो रोपाई गरेका किसानलाई यतिबेला रासायनिक मल अभावले सताउन थालेको छ। खेत रोपाई गर्ने बेलामा यस वर्ष कम वर्षा भएकाले सीमित ठाउँमा मात्र रोपाई गरेका किसानलाई अहिले खेतमा हाल्ने युरिया मलको चरम अभाव हुन थालेको गुरुङले बताइन्। ‘अहिले रोपो हुर्किसकेको र त्यसलाई राम्रो बनाउन मल राख्ने समय भएको छ,’ गुरुङले भनिन्, ‘पर्याप्त पानी र मल अभावमा जसोतसो रोपाई गरेका फाँटहरुमा यतिबेला रोपोहरु पहेलै देखिन थालेको छ।’

मलको अभाव यसवर्ष मात्रै होइन, प्रत्येक वर्ष देखिने गर्दछ। किसानहरुले जसोतसो बाली लगाएपछि त्यसलाई हुर्काउने समयमा मलको हाहाकार हुने गर्दछ। यो क्रम यसपालि पनि दोहोरिएको छ। मल नपाएपछि ग्रामीण क्षेत्रका किसान सदरमुकाम धादिङबेसी, गजुरी, नुवाकोट, चितवनलगायत ठाउँमा पनि धाइरहेका छन्। तर मल अभावको समस्या समाधान हुन सकेको छैन। एकातर्फ रोपाई गरिएको खेतमा भने जति पानी लगाउन पाइएको छैन भने रोपो गोड्ने समय भएको र गोडमेल गरेपछि मल राख्ने समय भए पनि मलखाद नपाउँदा उत्पादन कम हुने भन्दै किसान चिन्तित बनेका छन्।

मल खोज्दै सदरमुकाम धादिङबेसी झरेकाहरु रित्तै हात फर्कनु परेको धुवाँकोटका शेरबहादुर गुरुङले बताए। ‘मल खोज्दै सदरमुकाम झरेको यो पाँचौं पटक हो, अहिलेसम्म पाएको छैन,’ उनले भने, ‘खेतमा लगाइएको मकैले चमरा निकाल्ने र रोपो गोडमेल गर्ने बेलामा मलजल पु¥याउन नसक्दा उत्पादन नै नहुने हो कि भन्ने चिन्ताले सताउन थालेको छ।’ जसोतसो रोपाई गरेका किसानहरु यतिबेला भने रोपोमा राख्ने युरिया मल नै नपाएपछि झन् समस्या परेका छन्।

बजारमा फाट्टफुट्ट रुपमा मल आएको भए पनि किसानलाई आवश्यक पर्ने जति मल नआउँदा मल खोज्दै धादिङवेसीका एग्रोभेट पसलमा आएका किसान फर्कन बाध्य भएका छन्। लामो समयदेखि धादिङका किसानलाई सहुलियत दरमा रासायनिक मल वितरण गर्दै आएको नीलकण्ठ सहकारी संस्थाले पनि किसानलाई आवश्यक पर्ने मल पर्याप्त वितरण गर्न सकेको छैन। मल लिनका लागि दैनिक किसानहरुको लाम लाग्ने भएपछि सहकारीमा मल नआउदाँ किसानहरुलाई वितरण गर्न नसकेको बताएका छन्।

किसानले खेती सुरु गर्नुअघि नै मलको अभाव खेप्दै आइरहेकाले उत्पादन घट्न सक्ने अनुमान गरिएको छ। कृषि ज्ञान केन्द्र धादिङका अनुसार जिल्लाभर एक वर्षमा १२ हजार मेट्रिकटन मल आवश्यक पर्ने गर्दछ। कृषि सामग्री कम्पनी लिमिटेडले मुस्किलले चार हजार मेट्रिक टन मल ल्याउने गर्दछन्। बाँकी आवश्यक मल व्यापारीले चोरबाटोबाट ल्याएर महंगो मूल्यमा बेच्ने गरेका छन्।

युरियाबाहेक पोटास र डिएपी मल धेरैजसो मलखाद बिक्री गर्ने सहकारी पसलमा स्टक रहेको छ। यो समयमा चैते धानमा युरिया मल नै आवश्यक हुने भएकाले मलको हाहाकार मच्चिएको हो। नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३३ प्रतिशत योगदान रहेकामा धानको मात्र १० प्रतिशतभन्दा माथि रहेको छ। हाल नेपालमा धान खेती हुने जमिन वार्षिक रूपमा ६ प्रतिशतले घट्दै गइरहेको तथ्यांकले देखाएको छ।

जिल्लामा १६ हजार हेक्टर क्षेत्रमा धान खेती गरिदै आएको छ। वार्षिक ५० हजार मेट्रिक टन वर्षे धान र २० हजार मेट्रिक टन चैते धान उत्पादन हुँदै आएको छ। विशेषगरी टारहरु अर्थात कम उचाइ भएका ठाउँमा मकवानपुर १, सावित्री, सुक्खा १, २, ३, ४, ५ रामधान जस्ता धान लगाइने गर्छ।

बढी उचाइ भएका ठाउँमा अर्थात अलि चिसो हावापानी भएका ठाउँमा खुमल ४, खुमल १०, हर्दिनाथ १, हर्दिनाथ २, सुमलचार, खुमल ११, गोरखनाथ, बायोसिट जातका धान खेती गरिँदै आएको कार्यालयले जानकारी दिएको छ। – नागरिकबाट


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here