लहरे तरकारी बालीको फल  कुहाउने औंसा पार्ने झिंगाको चिनारी, आनीबानी र व्यवस्थापन

  • 469
  •  
  •  
  •  
  •  
  •  
    469
    Shares

कीराको परिचय: तरकारी बालीमा लाग्ने बिभिन्न प्रकारका कीराहरु मध्ये फलमा औसा पार्ने झिंगा एक मुख्य समस्याको रुपमा रहेको छ । नेपालमा पाइने १६ प्रजातिका हानिकारक फल कुहाउने औंसा पार्ने झिंगाहरु मध्ये केहि प्रजातिहरु लहरे तरकारी बाली वरिपरि घुमिरहेको देख्न सकिन्छ । यिनिहरु मध्ये सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ४ खट्टारमा गरिएको एक अध्ययन अनुसार दुई ओटा प्रजातिहरु ब्याक्ट्रोसेरा कुकरविटी (Bactrocera cucurbitae)ब्याक्ट्रोसेरा टाउ (Bactrocera tau) ले मात्र लहरे तरकारी बालीको फलमा संक्रमण गरेको पाईयो । हाल यि प्रजातिलाई कीट बैज्ञानिकहरुले ज्युगोडाकस कुकरविटी (Zeugodacus cucurbitae) र ज्युगोडाकस टाउ (Zeugodacus tau) भनेर नामाकरण गरेको पाईन्छ । अन्य प्रजातिका झिंगाहरु लहरे तरकारीको खेतीबारीमा भेटिएको भएतापनि लहरे तरकारी बालीको फलहरुमा संक्रमित गरेको पाईएन ।

कीराको जीवनचक्र: फलहरुमा औंसा पार्ने झिंगाको पोथीले बढ्दै गरेका कलिला फलहरुमा अण्डा पार्दछन् । पोथी झिंगाले अण्डा पारेको फलको बोक्रामा चोप निस्किएको दाग जस्तो देखा पर्छ । पछि फल बाङ्गिन सक्दछन् । अण्डावाट १ देखि ३ दिनमा औसा निस्कन्छन् । यी औसाहरु खन्चुवा प्रकृतिका हुन्छन् जसले फलको भित्री भाग / गुदी खान थाल्दछन् । औंसाले खान थालेपछि फल पहेंलिने, कुहिने र झर्ने हुन्छ । कीराको औंसा अवस्था ‍औषतमा १ हप्ताको हुन्छ । छिप्पिएका औसाहरु संक्रमित फलको बोक्रामा प्वाल पारि निस्कन्छन् र माटो मुनी गई अचल (प्युपा) अवस्थामा बस्दछन् । अध्ययनका अनुसार प्युपाबाट ९ देखि ११ दिनमा फेरी बयस्क झिंगा बनेको पाईयो । यसरी कीराको जीवनी अनुसार लहरे फल तरकारी बालीमा नोक्सानीको क्रमलाई जारी राख्दछन् । यसरी यस कीराबाट हुन सक्ने क्षति मौसम र लहरे तरकारी बालीको जात अनुसार ४० प्रतिशत देखि १०० प्रतिशत सम्म पाईएको थियो ।

व्यवस्थापन: सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा मोहिनी पासोबाट गरिएको अनुगमन र किसानहरुसंग गरिएको सर्वेक्षणवाट यस झिंगाको संख्या तथा क्षति वैशाखको पहिलो र दोस्रो हप्तामा उच्च रहेको पाईयो । तसर्थ यस समयमा सम्पुर्ण कृषकहरु चनाखो हुनुपर्छ र व्यवस्थापनका उपायहरु समयमै एकिकृत रुपमा अवलम्वन गर्नु पर्दछ । कमलामाई नगरपालिकाका कृषकहरुले संक्रमित फल तरकारी बालीको सरसफाई,  स्थानीय वनस्पतिहरु (निम, सुर्ति, तितेपाती, वनमारा आदि) बाट तयार गरिने झोल, क्यू ल्यूर पासो र रासायनिक विषादी जस्तैः मालाथियन ५० ई.सि. आदि विधिहरुको प्रयोग गर्ने गरेको पाईयो । तर अधिकांश कृषकले यि विधिहरुलाई गलत र अबैज्ञानिक तरिकाले प्रयोग गर्ने गरेको पाईयो । जस्तैः संक्रमित फलहरुलाई जथाभावी फाल्ने, क्यू ल्यूर पासोमा ल्यूरको पुर्नभरण नगर्ने आदि ।

केहि कृषकले औंसा सहितका संक्रमित फलहरु आफ्नो खेतबारी बाहेक अन्यको खेतवारी वा बाटोहरुमा जथाभावी फाल्ने गरेको पाईयो । यसो गर्दा संक्रमित फलभित्र रहेका औसाहरु सजिलै प्यूपा अवस्थामा प्रवेश गर्छन् र पुनः वयस्क बनि तरकारी वालीमा क्षति पुर्याउन सक्छन् । तसर्थ संक्रमित फलहरुको ब्यवस्थापन गर्दा त्यस भित्र भएका औसाहरु पुर्ण रुपमा नष्ट हुने विधिहरु जस्तैः हावा नछिर्ने गरि प्लाष्टिकको झोलामा बन्द गरि राखेर मार्ने वा कम्तिमा २०-३० सेन्टिमिटर गहिरो खाडलमा पुर्ने वा जलाउने वा गाईवस्तुलाई कुडो बनाई खुवाउने वा गोबरग्याँसमा हाल्ने वा पानीमा डुवाउने आदी गर्न सकिन्छ । जे जसरी हुन्छ झिंगाको ‍औंसा अवस्थालाई माटो मुनी प्यूपा / अचल अवस्थामा जान नदिनु बुद्धिमानी हुन्छ।

यस झिंगाको सफल व्यवस्थापनको लागि पोथी झिंगाहरुलाई फलहरुमा अण्डा पार्न बाट जेगाउनु पर्छ । यसको लागि झिंगाहरुलाई आकर्षण गर्ने वा विकर्षण गर्ने वा दुवै विधिहरु अपनाउन सकिन्छ । जैविक विषादीको रुपमा स्थानीय वनस्पतिहरु जस्तैः निम, सुर्ति, तितेपाती, वनमारा र गाईभैसीको गहुँत सहित तयार गरिएको झोल वा निमजन्य बिषादी छर्कन सकिन्छ । यस झोलले विकर्षणको काम गर्ने हुदा झिंगाहरु भाग्दछन् र फलहरुमा अण्डा पार्ने सम्भावना कम हुन्छ । त्यस्तै वयस्क भालेहरुलाई आकर्षित गरि मार्न क्यू ल्यूर पासोको प्रयोग गर्न सकिन्छ जसले गर्दा भाले र पोथी झिंगा बिच संसर्ग हुन सक्दैन । फलस्वरुप पोथी झिंगाले बतासे अण्डा पार्दछन् जसबाट औँसा निस्किदैनन् ।

तर कृषकहरुले यो विधि प्रयोग गरिरहेको भएता पनि यसको प्रभावकारितालाई कायम राख्न ध्यान दिएको पाइदैन् । क्यू ल्यूर पासो प्रयोग गर्दै जाँदा क्यू ल्यूर र मालाथियन ५० ई.सी. दुवैको भाले झिंगालाई आकर्षण गर्ने तथा मार्ने क्षमतामा ह्रास हुदै जाने हुदा निश्चित समयावधि पछि पुनर्भरण गर्नुपर्ने हुन्छ । क्यू ल्यूर र मालाथियन ५० ई.सी. लाई अर्धमासिक वा मासिक रुपमा पुनर्भरण गर्नु पर्ने हुन्छ जुन अधिकांश कृषकहरुले गरेको पाइदैन् । त्यस्तै पासोमा प्रयोग गरिने कपासमा क्यू ल्यूर र मालाथियन ५० ई.सी. को मात्रालाई पनि ध्यान दिनुपर्ने हुन्छ । ०.२५ मिलिलिटर क्यू ल्यूर र ०.५ मिलिलिटर मालाथियन ५० ई.सि. प्रति पासोमा प्रयोग गर्न सकिन्छ ।

पासो तयार गर्दा एउटै कपासको टुक्रामा क्यू ल्यूर र मालाथियन नराखि छुट्टा छुट्टै राख्नु प्रभावकारी हुन्छ । पासोको संख्या अनुगमनको लागि भए १ ओटा र व्यवस्थापनको लागि भए ५-६ ओटा प्रति राेपनीका दरले राख्नु पर्दछ । यो भन्दा बढि मात्रा वा संख्या प्रयोग गरेमा आकर्षित भाले झिंगाको संख्यामा वृद्धि हुदैन तर कृषकको उत्पादन लागतमा भने वृद्धि हुन्छ । तसर्थ प्रत्येक कृषकले क्यू ल्यूर पासोको प्रयोग गर्दा क्यू ल्यूरको मात्रा र पुनर्भरण गर्ने कुरामा विषेश ध्यान दिनुपर्छ ।

यसका साथै झिंगा व्यवस्थापनका लागि प्रोटिन बेट स्पोट एप्लिकेसनको बिधि अनुसार छर्न सकिन्छ ।रासायनिक कीटनाशक बिषादीलाई पनि यस झिंगा व्यवस्थापनको अन्तिम विकल्पको रुपमा प्रयोग गर्नुपर्छ । सुरक्षित बिषादी जस्तै:  मालाथियन ५० ई. सि. सँगसँगै चिनी वा सख्खरको मिश्रण बनाएर छर्केमा बिषादीको प्रभावकारितालाई बढाउन सकिन्छ । मालाथियन ५० ई.सी. १.५ मिलिलिटर र २० ग्राम चिनी वा सख्खर प्रति लिटर पानीमा मिसाएर पात र फलमा पर्ने गरि छर्नु पर्ने हुन्छ । तर यसले फलभित्र रहेका औसा नमार्ने हुँदा तरकारी बारीको सरसफाई तथा संक्रमित फलहरुको व्यवस्थापनमा खास ध्यान दिनुपर्छ ।

रासायनिक विषादीले मानव स्वास्थ्य र वातावरणमा नकारात्मक प्रभाव पार्दछ । त्यसैले व्यक्तिगत सुरक्षाको पहिरन (पी पी इ सेट) अनिवार्य रुपमा लगाउनु पर्छ र पर्खाई अवधि ख्याल गर्नुपर्छ । मालाथियन ५० ई.सी. को प्रखाई अवधि १४ दिन रहेको छ अर्थात यो विषादी छरेको १४ दिन सम्म पनि यसका अवशेषहरु फलमा रहिरहने हुनाले १४ दिन पछि मात्र फल टिप्नु सुरक्षित हुन्छ ।

भुसाल श्री बरुणदेवी मा. बि. कमलामाई ४ सिन्धुलीमा कृषि डिप्लोमा कार्यक्रमको संयोजक र अधिकारी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, सिन्धुलीमा बरिष्ठ कृषि अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।


  • 469
  •  
  •  
  •  
  •  
  •  
    469
    Shares
error: Content is protected !!