नेपालको जल र कृषिमा लगानी गर्न नेपाल र भारतका प्रधानमन्त्री सहमत

काठमाडौं, चैत २४ – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी नेपाललाई जल र रेलमार्गले जोड्न सहमत भएका छन्।

तीन दिने राजकीय भ्रमणका लागि नयाँदिल्लीमा रहेका प्रधानमन्त्री ओलीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले सगरमाथाको देश अब सागरसँग जोडिने बताए।

मोदीले आज भएको औपचारिक वार्तामा नेपालका नदी हुँदै समुद्रसम्म सामान ओसारपसार गर्ने विषयमा सहमति भएको उल्लेख गरे।

‘सगरमाथाको देश अब सागरससम्म पनि पहुँच हुनेछ,’ मोदीले भने ‘नेपाल अब ल्यान्ड लिंक मात्र होइन वाटर लिंक पनि हुनेछ।’

मोदीले काठमाडौंलाई भारतसँग जोड्ने नयाँ रेलमार्ग बनाउन दुबै देशले मिलेर काम अघि बढाउने सहमति भएको बताए।

तीन तहका निर्वाचन सम्पन्न हुनु नेपालका लागि ठूलो उपलब्धी भएको उल्लेख गर्दै यसका लागि नेपाली जनता र सरकारलाई अभिनन्दन गर्न चाहेको बताए।

उनले आफ्नो ‘सबका साथ सबका विकास’ र प्रधानमन्त्री ओलीको ‘समृद्ध नेपाल खुसी नेपाली’ को नारा एकअर्काका पूरक भएको बताए।

‘नेपाल नयाँ युगमा प्रवेश गरेको छ, प्रधानमन्त्री ओलीजी समृद्ध नेपाल र खुसी नेपालीको सपना साकार पार्न आर्थिक विकास गर्ने अभियानमा हुनुहुन्छ। यो अभियानमा भारत कसरी सहभागी हुन सक्छ भन्नेबारे हामीले छलफल गर्यौं’ मोदीले भने।

उनले नेपालको कृषि क्षेत्रको विकासमा हुने सहयोगका बारे पनि सहमति भएको उल्लेख गरे।

मोदीपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्ला दुई वर्षमा नेपाल बदलिएको टिप्पणी गरे।

हैदरावाद हाउसमा भएको पत्रकार सम्मेलनमा ओलीले दुई वर्ष अघिको आफ्नो भारत भ्रमणको समेत स्मरण गरे।

‘म दुई वर्षअघिको भ्रमण सम्झन्छु। त्यो समयदेखि नेपालले धेरै परिवर्तन हासिल गरेको छ। नेपालमा राजनीतिक स्थायित्व कायम भएको छ। चुनाव भएको छ’, ओलीले भने, ‘मेरो भ्रमणको मिसन हाम्रो सम्बन्ध उचाइमा पुर्‍याउनु हो।‘

ओलीले नेपालले संक्रमणकाल पूरा गरेको र आर्थिक विकासको चरणमा प्रवेश गरेकाले साथीहरूको साथ चाहिएको बताए। उनले नेपाल र भारतको बीचमा गठन भएको प्रवुद्ध समूहको सुझावको आधारमा अब पुराना विषय सम्बोधन गर्ने बताए। उनले दुवै मुलुकको लक्ष्य समृद्धि भएको तर्क गरे।

ओलीले रेल र जलमार्गबाट नेपाल जोड्ने मोदीको भनाइमा खुसी व्यक्त गरे। उनले नेपालको जलविद्युतका लागि लगानी आवश्यक रहेको बताए।

‘रिभर नेभिगेसनबाट जोडिने विषयमा पनि हामीले छलफल गर्‍यौं’, ओलीले भने, ‘प्रधानमन्त्री मोदीले नपाल ल्याण्डलक नभई ल्यान्ड लिंक भएको बताउनुभयो। साथै यस्ता विषयमा भारत सकरात्मक रहेको हामीले प्रतिवद्धता पाएका छौं। अब हामी जलमार्गबाट पनि जोडिने भएका छौं। यो हाम्रा लागि खुसीको कुरा हो।’

ओलीले रेलमार्गबाट काठमाडौं जोडिने विषयमा पनि खुसी व्यक्त गरे। प्रधानमन्त्री मोदीले भने नेपाल र भारतले यस्तो रेल मार्ग संयुक्त रूपमा बनाउने बताए।

ओलीले मोदीलाई नेपाल भ्रमणमा आउन निम्तो समेत दिएका छन्।

दुबै प्रधानमन्त्रीले पञ्चेश्वर परियोजना, अरूण तेस्रो, माथिल्लो कर्णाली आयोजनाको काम तीव्र रूपमा अघि बढाउन पनि सहमत भएको उल्लेख गरेका छन्।

संयुक्त पत्रकार सम्मेलनमा दुबै प्रधानमन्त्रीले भारतको मोतीहारी र नेपालको अमलेखगञ्ज जोड्ने पाइपलाइन र वीरगञ्जमा निर्माण भएको एकीकृत जाँच चौकीको उद्घाटन गरेका छन्।

दिल्लीस्थित हैदरावाद हाउसमा दुबै प्रधानमन्त्रीले सम्बोधन गर्नुअगाडि दुई आयोजनाको उद्घाटन गरेका हुन्।

वीरगञ्ज रक्सौल एकीकृत जाँच चौकी भारतीय सहयोगमा निर्माण भएको हो। भारतले जाँच चौकी नेपाललाई हस्तान्तरण समेत गरेको छ। जाँच चौकीमा बोर्डर सुरक्षाकर्मीदेखि अध्यागमनको कार्यालय समेत रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here