प्राविधिकले सिफारिस गरेको चैते–५ धानमा घाँटी मरुवाको प्रकोप

चितवन । चितवनमा चैतेधानमा घाँटी मरुवा अर्थात नेकब्लाष्ट रोग देखिएको छ । नेकब्लाष्ट रोग नलाग्ने भनेर सिफारिस गरिएको ‘चैते–५’ धानमा यो रोग देखिएपछि किसान चिन्तित देखिएका छन् ।

चैते धान धेरै रोपाइँ हुने चितवनको पूर्वी क्षेत्र रत्ननगर, खैरहनीमा यो रोग देखा परेको हो । यो रोग लागेपछि धानका बाला सुक्न थालेको र दाना समेत नलागेको किसानले बताएका छन् ।

अघिल्ला वर्षहरुमा हर्दिनाथ जातको धान रोप्दा घाँटी मरुवाले सताएर हैरान भएका किसानलाई कृषि विज्ञ र प्राविधिकहरुले ‘चैते–५’मा रोग लाग्दैन भनेर आश्वासन दिएका थिए । तर, धानमा दाना लाग्ने बेला फेरी पनि सोही प्रकारको रोग लागेपछि किसान प्राविधिकप्रति नै आक्रोशित देखिएका छन् ।

राम्रो धान भनेर चितवनका विभिन्न स्थानीय तहले अनुदानमा बीउ दिएका थिए । चैते–५ राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले विकसित गरेको उन्नत जातको धान हो ।

चैते र बर्खे दुवै सिजनका लागि उपयोगी भनेर सिफारिस भएको छ । यो पटक चैते–५ बाहेक किसानले रोपेका टाइचुन, पिआर जस्ता जातमा ब्लाष्टको समस्या देखिएको छैन । चितवनमा ७५ सय हेक्टर जमिनमा चैते धान रोपाइँ हुने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here