करोडौंको लगानीमा कृषि फार्म सुरु, लगानी भयो तर काम गर्ने उचित वातावरण भएन

  •  
  •  
  •  
  •  
  •  
  •  

लमजुङ, चैत १६ –
लमजुङको राइनास नगरपालिका–५, कैनीटारमा व्यावसायिक रुपमा कृषि फार्म सञ्चालन गरिएको छ । ८ जनाको संयुक्त लगानीमा ‘राईनास मल्टी एग्रो फार्म’ सञ्चालनमा आएको हो । २ सय ३५ रोपनी क्षेत्रफलमा फैलिएको यो फार्मलाई वरिपरिबाट तारबारले घेरिएको छ ।

फार्ममा अहिले माछापालन, कुखुरापालन, केरा खेती र तरकारी खेती गरिएको छ । फार्मभित्र १४ वटा माछापोखरी रहेका छन् भने ५ हजार कुखुरा अट्ने क्षमताको आधुनिक कुखुराको खोर छ ।

त्यो खोरमा अहिले ४ हजार ब्रोईलर जातका कुखुरा पालिएको छ । माछापालनको लागि मात्रै एक सय रोपनी जग्गा छुट्याइएको छ । ‘उचित दानापानीको व्यवस्था हुन सक्ने हो भने माछा बिक्रिबाट मात्रै वार्षिक ८० लाख आम्दानी गर्न सकिन्छ,’ फार्मका प्रवन्ध सञ्चालक नवराज पौडेलले भन्नुभयो ।

सञ्चालक पौडेलका अनुसार अनुसार आवश्यक पानी नहुँदा फार्म सञ्चालनमा समस्या भएको छ । पानी नहुँदा चेपेबाट गाडीमा पानी बोक्नुपर्ने बाध्यता रहेको छ । नहर नचल्दा पानीको अभाव भएको हो । ‘नहर नचलेको लामो समय भयो, माछा पानीको खेती हो, पानी बिना व्यवसाय सञ्चालनमा कठिनाई भएको छ,’ उहाँले गुनासो गर्नुभयो ।


उहाँले भन्नुभयो, ‘सम्बन्धित निकायको साथरसहयोग पाएमा, दानापानीको उचित प्रवन्ध भएमा लमजुङमा ५० प्रतिशत माछाको आपूर्ति हामीले कम गर्न सक्छौ ।’

२०६८ सालमा सुरु भएको फार्म व्यवसायिक रुपमा २०७१ सालबाट सुरु भएको हो । फार्मबाट उत्पादित कृषि उपज स्थानीय बजारमै खपत हुँदै आएको पौडेलले बताउनुभयो । फार्मबाट उत्पादित माछा प्रतिकेजी ४ सय रुपैयाँका दरले बिक्री हुँदै आएको उहाँले बताउनुभयो ।

‘राईनास मल्टी एग्रो फार्म’ का व्यवस्थापक दिपेन्द्र पन्तका अनुसार केराखेती आशा गरे अनुसार फस्टाउन सकेको छैन । फार्म सञ्चालनमा पानी नहुँदा समस्या भएको छ । फार्ममा कमन कार्प, रघुनैनी, सिल्भर, ग्रास लगायतका जातका माछा रहेका छन् । फार्ममा ७ जनाले रोजगारी पाएका छन् । ‘पानीको समस्या समाधान हुने हो भने हामी उत्पादन बढाउन सक्छौ, उत्पादनले बजार नपाउने कुरै छैन,’ उहाँले भन्नुभयो । नेपालमा नै केही गरौ भनेर लाग्नेका लागि सरकारले पनि सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!