तेह्रथुम,
चैत ४ – तेह्रथुमको छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारलाई हरित शहरको रुपमा निर्माण गर्न भन्दै स्थानीयबासीले अभियान सुरु गरेका छन् । शुक्रबारे बजारको शान्ति टोलका बासिन्दाले शुक्रबारेलाई हरित शहरको रुपमा विकास गर्न एक घर, एक हरित बनस्पतीको अभियान चलाएका हुन् ।
शान्तिटोलका संयोजक इन्द्र इम्सङको नेतृत्वमा स्थानीयबासीले आज छथर बचत तथा ऋण सहकारी संस्थाको कार्यालय अगाडि धुपी रोपेका छन् । टोलबासीले सिंगो बजारलाई नै हरित शहरको रुपमा विकास गर्न बजारबासी सबैलाई आग्रह गरेका छन् ।
बजारका हरेक घर अगाडि एक–एकवटा हरियो बोट विरुवा रोपेर बजारको सुन्दरता वृद्धि गराउन सबैसँग आग्रह गरिएको संयोजक इम्सङले बताउनुभयो । गाउँपालिकाले पनि शान्तिटोलबासीको सो अभियानलाई सहयोग गर्ने जनाएको छथरबाट विदुर बस्नेतले जानकारी दिएका छन् ।