ब्यापारीले भारतबाट ल्याएनन् प्याज, कालिमाटीले हटायो मूल्यसूची

काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाउने भएपछि कालीमाटी तरकारी बजारमा प्याजको कारोबार हुन छाडेको छ । कर लगाएपछि होलसेल व्यापारीले प्याज नल्याउँदा सुकेको प्याजको कारोबार नभएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

भारतले कर लगाउनु अघि ल्याइएको प्याजको स्टक सोमबार सम्म कारोबार भएको थियो । मंगलबारबाट भने कालिमाटी तरकारी बजारले प्याजको कारोबार गर्न छाडेको हो । उसले मूल्य सूचीबाट पनि प्याजलाई हटाएको छ ।

भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बरको अन्त्यसम्म ४० प्रतिशत निर्यात कर लगाउने निर्णय गरेको छ। विश्वमा सर्वाधिक रुपमा प्याज निर्यात गर्दै आएको भारतले प्याज उत्पादनमा आएको कमीसँगै मूल्यवृद्धि बढेपछि निर्यात कर लगाउने निर्णय लिएको थियो। कर लगाएपछि निर्यातमा कमी आउने र आन्तरिक आपूर्तिमा सुधार भई मूल्यवृद्धि नियन्त्रण हुने मन्त्रालयको दाबी छ।

भारतले कर लगाउने निर्णय गरेको भोलिपल्टसम्म कालिमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ६२ रुपैयाँसम्म रहेको थियो। सोमबार भने बजारको मूल्य प्रतिकिलो न्यूनतम ७५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ रहेको थियो। जसअनुसार प्याजको मूल्य कालिमाटीमै प्रतिकिलो २० रुपैयाँसम्म बढेको पाइएको थियो।