नुवाकोट र रसुवामा प्रभावकारी बन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

नुवाकोट । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, नुवाकोटले किसानलाई व्यावसायिक कृषिमा लाग्न गरेका काम प्रभावकारी देखिएका छन् । नुवाकोट र रसुवालाई आफ्नो कार्यक्षेत्र बनाएको कार्यालयले दुई जिल्लामा आलु, तरकारी, धान र बाख्रा जोन कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

परियोजनाले सञ्चालनमा ल्याएका जोन तथा सुपरजोन कार्यक्रम प्रभावकारी बन्दै गएको र किसानलाई व्यावसायिक बनाउन सफल देखिएको कार्यालयका प्रमुख कृष्णप्रसाद उपाध्याले बताउनुभयो ।

कार्यालयले तरकारी जोन कार्यक्रम नुवाकोटका ककनी, शिवपुरी, पञ्चकन्या र दुप्चेश्वर गाउँपालिकामा सञ्चालन गरेको जनाएको छ । आर्थिक वर्ष २०७४/०७५ देखि सञ्चालनमा आएको यो कार्यक्रमले ८५१ हेक्टर क्षेत्रफल ओगटेको कार्यालयले जनाएको छ । जसमा हालसम्म ९४ फर्म आवद्ध रहेको प्रमुख उपाध्याले जानकारी दिनुभयो ।

नुवाकोटमा नै सञ्चालित आलु जोन परियोजनामा लिखु, ककनी, पन्चकन्या र सूर्यगढी गाउँपालिकाका १०० कृषि फर्म आवद्ध रहेको र यसले ८५५ हेक्टर क्षेत्रफल ओगटेको उहाँको भनाइ छ । आलुको बीउ उत्पादनका लागि बेलकोटगढी नगरपालिका क्षेत्रका विभिन्न वडाले काम गरिरहेको र त्यसमा पनि कार्यालयले समन्वय तथा प्राविधिक रुपमा काम गरिरहेको जनाइएको छ ।

रसुवामा सञ्चालित आलु जोनमा भने आमदोछोदिडमो गाउँपालिका, उत्तरगया, नौकुण्ड, कालिकास्थान र गोसाइकुण्ड गाउँपालिकाका विभिन्न वडा आवद्ध रहेका छन् । रसुवामा ६५५ हेक्टर क्षेत्रफलमा आलु जोन कार्यक्रम सञ्चालनमा रहेको र ८७ फर्म आवद्ध रहेको कार्यालयको भनाइ छ ।

कार्यालयले नुवाकोटमा धान जोन कार्यक्रम पनि सञ्चालनमा ल्याएको प्रमुख उपाध्याले बताउनुभयो । नुवाकोटको लिखु, पन्चकन्या, शिवपुरी, ताँदी र बेलकोटगढीका विभिन्न वडामा धान जोन कार्यक्रम सञ्चालनमा रहेको उहाँको भनाइ छ । धान जोन कार्यक्रम ८७६ हेक्टर क्षेत्रफलमा विस्तार गरिएको र यसमा १५० कृषि समुह तथा फर्म आवद्ध रहेको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, नुवाकोटले रसुवामा सञ्चालन गरेको बाख्रा जोन कार्यक्रम आमदोछोदिडमो गाउँपालिका, उत्तरगया, नौकुण्ड, कालिकास्थान र गोसाईकुण्ड गाउँपालिकाका विभिन्न वडा रहेको जनाइएको छ । बाख्रा जोन कार्यक्रममा ३४० कृषि फर्म तथा कृषक आवद्ध रहेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, नुवाकोटले स्थानीय आवश्यकता र उत्पादन तथा किसानको सक्रियताका आधारमा नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा पकेट, ब्लक, जोन तथा सुपर जोनका विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको बताइएको छ ।

कार्यालयले कृषिलाई आधुनिक तरिकाले सञ्चालन गर्नका लागि यान्त्रीकरण, चक्लाबन्दी कार्यक्रम, पशुको नश्ल सुधार, आधुनिक गोठ निर्माणका लागि काम पनि गर्दै आएको प्रमुख उपाध्याले जानकारी दिनुभयो । किसानलाई व्यावसायिक र कृषिलाई आधुनिक बनाउने परियोजनाको मुख्य लक्ष्य रहेको भन्दै उहाँले दुबै जिल्लामा थप कार्यक्रम विस्तारको तयारीमा रहेको जानकारी दिनुभयो ।