पोल्ट्री फर्मको राजधानी चितवनमा अन्र्तराष्ट्रिय पोल्ट्री सम्मेलन हुने

काठमाडौं, भदौ ४ –कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर, चितवनमा अन्र्तराष्ट्रिय पोल्ट्री विज्ञहरुको सम्मेलन हुने भएको छ । आउँदो कार्तिक ११ देखि १३ गतेसम्म हुने सम्मेलनमा विभिन्न १० देशका पोल्ट्री विज्ञहरूको सहभागीता रहनेछ ।

विश्वविद्यालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालमा पहिलोपटक हुन लागेको अन्र्तराष्ट्रियस्तरको पोल्ट्री सम्मेलनमा नेपाल, भारत, जापान, अष्ट्रेलिया, जर्मनी, बंगलादेश र इजिप्ट लगायत १० देशका ५० भन्दा बढी वैज्ञानिकहरुको सहभागिता रहने जनाइएको छ ।

सम्मेलनमा नेपालका पोल्ट्री उद्योग, व्यवसायिक किसानसहित यो क्षेत्रसँग सम्वन्धित विभिन्न संघ–संस्थाहरुको सहभागिता रहनेछ । ‘खाद्य स्वच्छता र सुरक्षाको लागि पोल्ट्रीको माग परिपूर्ति’ भन्ने मूल नाराका साथ सम्पन्न हुने सम्मेलनमा कुखुरा उत्पादन र व्यवस्थापन, अध्ययन, अनुसन्धान, विकास सम्बन्धी वैज्ञानिक सम्मेलन मार्फत भविष्यमा कुखुरापालन जस्तो महत्वपुर्ण क्षेत्रमा विविध प्रविधियुक्त आधुनिक खोजमुलक जानकारीको सम्प्रेषण हुनेछ ।

सम्मेलनमा कुखुरा उत्पादन सम्बन्धी नीतिगत र सामाजिक–आर्थिक अवस्था, कुखुराको पोषण व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन, कुखुराको अनुवांशिकी, प्रजनन् व्यवस्थापन तथा जैविक प्रविधि र एकिकृत तथा ग्रामिण कुखुरापालन जस्ता विधाहरुमा वैज्ञानिक र अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत गरिने कार्यक्रम सम्मेलन आयोजक समितिको अध्यक्ष प्रा. डा. शारदा थपलियाले जानकारी दिनुभयो ।

सम्मेलनमा भाग लिन भारतीय पोल्ट्री साइन्स एसोसिएसनका उपाध्यक्ष प्रा.डा.देवेन सापकोटा, जापनिज पोल्ट्री साइन्स एसोसिएसनका उपाध्यक्ष डा.नाओकी गोतो, पोल्ट्री अनुसन्धान फाउन्डेसन, अष्ट्रेलियाका निर्देशक पिटर गु्रभ्स, भारतीय कृषि अनुसन्धान परिषद÷केन्द्रिय कुखुरा अनुसन्धान संस्थानका निर्देशक एस. सी. गिरी लगायत विदेशी वैज्ञानिकहरूको सहभागिता रहनेछ ।

सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्रहरु आउने क्रम जारी रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर पशु प्रजनन् तथा जैविक प्रविधि विभागका प्रमुख उपप्राध्यापक डा. निराजन भट्टराईले जानकारी दिनुभयो । सिम्पोजियमा विभिन्न देशमा पोल्ट्रि सम्वन्धी भइरहेका अनुसन्धान, ज्ञानको आदानप्रदान र हाल देखिएका समस्याका विषय वृहत छलफल हुने पशु सेवा विभागका महानिर्देशक डा.विमलकुमार निर्मलले बताउनुभयो ।

पोल्ट्री फर्मबाट वार्षिक ३३ अर्व आम्दानी, डेढ लाखलाई रोजगारी

नेपालको कुल गार्हस्थ उत्पादनको करिब ४ प्रतिशत र कुल कृषि गार्हस्थ उत्पादनको करिब ८ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ । नेपालमा आत्मनिर्भर उन्मुख क्षेत्रका रुपमा पोल्ट्रिलाई लिने गरिएको छ । ग्रामिण कुखुरापालनबाट हुने आर्थिक योगदानलाई छोडेर हेर्ने हो भने नेपालको व्यवसायिक कुखुरापालनबाट राज्यले वार्षिक ३३ अर्ब ७२ करोड आर्थिक उपार्जन गरिरहेको विज्ञ डा. निराजन भट्टराईले जानकारी दिनुभयो । पोल्ट्री क्षेत्रमा करिब १ लाख ५० हजार प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएका छन् । पशु सेवा विभागको सन् २०१७ को तथ्याङ्क अनुसार नेपालमा करिब ७ करोड कुखुरा रहेको पाइन्छ । देशको कुल मासु उत्पादनको करिब १७.२ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ ।

देशको माग अनुसार मासु र अण्डा उत्पादन–लागतलाई कम्तिमा २ ठूला छिमेकीहरु चीन र भारतको दाँजोमा कम र प्रतिष्पर्धी बनाउनु पर्ने चुनौती रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालय , पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायकी डिन समेत रहेकी प्रा. डा. शारदा थपलियाले जानकारी दिनुभयो । पोल्ट्रीमा नेपाल आत्मनिर्भर भएपनि दाना तथा औषधीमा भने परनिर्भर हुने अवस्था छ । बार्षिक १६ अर्व बराबरको कच्चा पर्दाथ र त्यसमा ७० प्रतिशत हिस्सा मकैं बिदेशबाट आयात गर्नुपरेको प्रमुख पशु चिकित्सक डा. उमेश दाहालले जानकारी दिए । कुखुरामा लाग्ने बर्ड फ्लुका कारण बार्षिक २० देखी २५ करोडसम्म घाटा लाग्ने गरेको छ ।

कुखुरामा जिरो एन्टिवायोटिकको प्रयोगको तयारी

व्यवसायिक कुखुरापालक किसानहरुले कुखुरामा एन्टिवायोटिकको अधिक प्रयोग गरेको भन्ने चर्चा भैरहेको बेला पशु सेवा विभागले उत्पादनमा जिरो एन्टिवायोटिक प्रयोगको नीति अख्तियारको तयारी गरेको छ । विभागका महानिर्देशक डा. विमल कुमार निर्मलले कुखुरामा बाहिर प्रचार गरिएजस्तो हानिकारक र अधिक एन्टिवायोटिकको प्रयोग नभएको दावी गरे । ‘जति भएको छ त्यसलाई पनि घटाउँदै लैजाने र जिरो एन्टिवायोटिक बनाउने तर्फ विभाग लागेको छ’ महानिर्देशक निर्मलले भने‘ एन्टिवायोटिकको विकल्पमा प्रोवायोटिकको प्रयोगलाई प्रोत्साहान गर्दछौं’ ।

उहाँले कुखुराको मासुमा केही एन्टिवायोटिक भएपनि त्यसले मानव स्वास्थ्यमा कुनै असर नगर्ने बताए । कुखुरालाई दिइएको एन्टिवायोटिक आन्द्रा, कलेजो, मृगौंला जस्ता भित्रि अंगहरुमा रहने र त्यो मानवले उक्त कुनै पनि भाग उपभोग नगर्ने भएकोले सुरक्षित रहेको महानिर्देशक डा. निर्मलले दावी गर्नुभयो ।

कुखुराको मासु रेड मिट नभई ह्वाइट सेतो हुने हुँदा जनस्वास्थ्यमा कुनै हानी नगर्ने महानिर्देशक डा. निर्मलको भनाई छ । महानिर्देशक निर्मलले आलुभन्दा अण्डा सस्तो भएको भन्दैं विगतमा कुखुरा उत्पादनका लागि ध्यान दिइएको विभागले अब त्यसको बजारीकरणलाई ध्यान दिने बताउनुभयो ।

स्थानीय जातको संरक्षण

पछिल्लो समयमा नेपालमा व्यवासायिक कुखुरापालन फस्टाउँदै जाँदा कुखुराको स्थानीय जात लोप हुँदै गएको भन्दैं विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । अन्र्तराष्ट्रिय पोल्ट्री सिम्पोजियममा हराउँदै गएका कुखुराका स्थानीय जातको संरक्षणका लागि के कस्ता उपायहरु अपनाउन सकिन्छ भन्ने बारेमा पनि छलफल हुनेछ । नेपालमा ३ प्रकारका स्थानीय जातका कुखुराहरु पाइन्छ । नेपालमा पाइने ३ प्रजातीमा साकिनी, घाँटी खुइले र प्वाँख उल्टे (दुम्से) हुन् । त्यस मध्ये साकिनीको संख्या बढि पाइएपनि अन्य दुई प्रजातीका कुखुराहरुको संख्या उल्लेख्य मात्रामा घट्दै गएको विज्ञ डा. निराजन भट्टराईले जानकारी दिनुभयो ।

यी दुई प्रजातीको उचित संरक्षण नभएमा लोप हुने खतरा रहेको विज्ञ डा. भट्टराईको भनाई छ । उहाँका अनुसार घाँटी खुईले प्रजाती अत्याधिक गर्मी सहन सक्ने प्रजातीमा पर्दछ, उपभोक्ताले घाँटीमा रौं नभएकै कारण देख्दा मन नपराउने कारणले संख्या घट्ने क्रम बढेको छ । स्थानीय प्रजातीका कुखुराको संरक्षणका लागि किसानहरुलाई प्रोत्साहन गर्ने र ग्रामिण कुखुरापालनलाई कृषि पर्यटनसँग जोडेर ग्रामिणस्तरका साना कृषकहरुको जीवीकोपार्जनमा सहजता ल्याउन सकिने उपायको खोजी सिम्पोजियमा हुनेछ ।

error: Content is protected !!