कुखुराको दानाको मूल्य फेरी बढ्दै, एक वर्षमा बोरामै हजार रुपैयाँ बढ्यो

काठमाडौं । रुस–युक्रेन युद्धका कारण कुखुरालाई खुवाउने दानाको मूल्य अस्वभाविक ढंगले बढेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थ महँगिएपछि कुखुरालाई खुवाउने दानाको मूल्य बढेको उत्पादकको दाबी छ । उत्पादकहरुले फागुन २९ गते आइतबारबाट कुखुराको दानाको मूल्य फेरी बढाउने भएका हुन्।

कुखुराको दाना उत्पादनका लागि चाहिने अधिकांश कच्‍चा पदार्थका लागि नेपाल आयातमा नै भर पर्दै आएको छ। स्थानीय उत्पादनले नगण्य मात्रामा मात्र माग धानेको छ। यस्तोमा अन्तरराष्‍ट्रिय बजारमा कच्चा पदार्थको मोल महँगिदै गएपछि दाना उत्पादनको लागत पनि बढेको पेलेट दाना उत्पादकहरुको भनाइ छ।दाना बनाउनका लागि आवश्यक पर्ने मकै, भटमास, पिना र भटमासको तेलको मूल्य अन्तराष्ट्रिय बजारमा नै बढेर आएको छ दाना उद्योग संघले जनाएको छ ।

अहिले पनि दानाको मूल्य किलोमा कम्तिमा ४ रुपैयाँदेखि पाँच रुपैयाँसम्म बढिसकेको किसानहरुको भनाइ छ।

कुखुराको दानाको मुख्य कच्चा पदार्थमध्येको मकै नेपाली उद्योगीहरुले भारतबाट आयात गर्छन्। भारतले भने युक्रेनबाट ठूलो परिमाणमा मकै ल्याउँदै आएको छ। युक्रेन विश्वमै मकैको प्रमुख उत्पादक तथा निर्यात मुलुकमध्ये हो। युक्रेनबाट नेपाललगायत विभिन्न मुलुकका लागि सिपमेन्टको तयारीमा रहेका मालसामान पनि यतिबेला धमाधम रद्द भइरहेका छन्। यही कारण कुखुराको दानाको कच्चा पदार्थको अन्तरराष्ट्रिय मूल्यमा पछिल्लो रुस–युक्रेन युद्धको असर देखिएको छ।

यसबाट आपूर्ति श्रृंखलामा प्रतिकुल असर पर्न थाले पनि कच्चा पदार्थ महँगिएसँगै दानाको उत्पादन लागत र बजार मूल्य आकाशिन थालेको हो। अझ मकै लगायतका केही कच्चा पदार्थको त बजारमा अभाव नै सिर्जना भएको पनि उद्योगीहरुको अनुभव छ।

उद्योगहरुले बढाउन थालेको मूल्यअनुसा दानाको मोल अब बोरामै दुई सय रुपैयाँसम्म महँगिने देखिएको छ। यससँगै अब दानाको मूल्य ५० केजी बोराको चार हजार एक सय रुपैयाँसम्म पर्ने उत्पादकहरुको भनाइ छ। यसअनुसार किलोको ८२ रुपैयाँ हाराहारीसम्म पर्ने भएको छ। यसअघि समान तौलको दाना बोराको ३८०० देखि ३९०० रुपैयाँमा पाइँदै आएको थियो।

अझ पछिल्लो एक वर्षमा नै दानाको मूल्य बोरामा एक हजार रुपैयाँले बढेको किसानको भनाइ छ । केही महिनाअघिसम्म दाना बोराको ३१ सय रुपैयाँ थियो।
दाना उत्पादकहरुका अनुसार, एक वर्षमा मकैको भाउ बढेर प्रतिकेजी २६ रुपैयाँबाट ४८ रुपैयाँ पुगेको छ। दानामा प्रयोग हुने भटमासको पिना अमेरिकाबाट प्लेनमा ल्याउने गरिएको छ।

भटमासको मूल्य पनि पछिल्लो केही महिनामै किलोको ८५ रुपैयाँबाट ११० रुपैयाँ पुगेको उनीहरुको भनाइ छ। नेपालमा ब्राजिल अमेरिका र अर्जेनटिनादेखि भटमास आउँछ। कोभिडपछि भटमासको उत्पादन घटेकाले चाहिएजति परिमाणमा खरिद गर्न नपाइने अवस्था आएकाले पनि भटमासको मूल्य बढेको हो ।

हाल नेपालमा एक सय १८ वटा दाना उद्योग रहेका छन। यी उद्योगहरुको क्षमता दैनिक चार हजार टन हाराहारी छ। यसका बाबजुद अहिले दैनिक २६ सयदेखि २८ सय टन मात्र दाना उत्पादन गर्दै आएको संघले जनाएको छ।

६ महिनाअघि उद्योगहरुले करिब ३६ सय टनको हाराहारीमा दाना उत्पादन गर्दै आएका थिए। कोभिडका कारण ८०० देखि एक हजार टन उत्पादन कम भएको हो । अन्तराष्ट्रिय बजारमा भटमासको तेल तथा पिनाको मूल्य बढेपछि दानाको मूल्यमा पनि असर पर्ने उत्पादकहरुको जिकिर छ। नेपालमा वार्षिक डेढ लाख मेट्रिक टन भटमासको पिना दाना उत्पादनका लागि खपत हुन्छ।

Leave a Reply