spot_img

किसानको छुपुछुपु रोपाइँमा हाते ट्याक्टरले दिएको खुसी

बैतडी – बैतडीका पाटनमा रोपाइँ चटारो सुरु भएको छ । सिँचाइको सुविधा भएका पाटनमा असार सुरु नहुँदै महिला छुपुछुपु धान रोप्न थालेका छन् । त्यसमाथि यहाँका किसानलाई कृषियन्त्रले सहज बनाइदिन थालेको छ ।

“हाते ट्याक्टर भित्रिएपछि गोरु पाल्नुपर्ने झन्जट छैन । खेतमा पानी लगायो । हातेट्याक्टरले गह्रा जोत्यो, सम्यायो अनि छुपुछुपु धान रोप्यो,” स्थानीय हीरा खत्रीले भन्नुभयो ।

प्रविधि भित्रिएपछि रोपाइँ गर्न सजिलो भएको लक्ष्मी खत्रीले बताउनुभयो । वर्षभर गोरु पाल्नु परेन । एक लिटर तेलले एक घण्टासम्म खेत जोत्न सकिने उहाँले बताउनुभयो । तीन दिनमा दुई रोपनी खेत हातेट्याक्टरले जोतेर रोपाइँ सकिएको केशव खत्रीले बताउनुभयो ।

पाटन नगरपालिका–६ का किसानले खुमल ४, जानकी, राधा, सुक्खा ३ र सुक्खा ४ प्रजातिको धान लगाउने गरेका छन् । तर यस वर्ष कृषि ज्ञान केन्द्रबाट धानको बीउ नपाएको किसानले गुनासो गरेका छन् । मलखादको समेत समस्या भएको किसानले बताए ।

कृषि ज्ञान केन्द्र बैतडीले यस वर्ष उन्नत जातको धानको बीउबारे कार्यक्रम नआएकाले किसानलाई बीउ बाँड्न नसकेको केन्द्रका प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो ।
बैतडीमा दस हजार हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा रहेको भए पनि त्यसमध्ये करिब सात हजार हेक्टर क्षेत्रफल जमिनमा मात्रै धान खेतीका लागि सिँचाइ सुविधा रहेको कृषि ज्ञान केन्द्र बैतडीले जानकारी दिएको छ ।

जिल्लाको पाटन धान उत्पादनका लागि उत्कृष्ट मानिन्छ । पाटनपछि गोकुलेश्वर, सेरा, ढुङ्गाढ, हाट, सुर्नया, मेलौली नगरपालिकाको रडिलो भडार खेत, पञ्चेश्वरको विनायक धान उत्पादनका लागि मुख्य क्षेत्र मानिन्छन् ।

यस वर्ष स्थानीय प्रजातिको मकैको बीउ र उन्नत जातको भटमासको बीउ वितरण गरिएको चन्दले बताउनुभयो । बैतडी र दार्चुलाका जिल्लामा ३० क्विन्टल भटमास र ५० क्विन्टल मकैको बीउ वितरण गरेको कृषि ज्ञान केन्द्र बैतडीले जानकारी दिएको छ ।

2 COMMENTS

Comments are closed.

ताजा समाचार

सम्बन्धित समाचार