काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि सोमाबरदेखि देशभरि सहुलियत पसल सञ्चालन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको निर्णय अनुसार सोमबारदेखि सहुलियत पसल सञ्चालनमा ल्याएकाउ साल्ट ट्रेडिङ मुख्य कार्यालय कालिमाटीले जनाएको छ ।
सहुलियत पसल छठ पर्वसम्म सञ्चालन हुनेछ । यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि असोज ३ देखि नै सुपथ मूल्य पसल सञ्चालनमा ल्याइसकेको छ । ४२ जिल्लाका ६३ स्थानमा खाद्यले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।
साल्ट ट्रेडिङले भने उपत्यकामा तीन वटा घुम्ती पसल सहित १२ सहुलियत पसल र अन्य २१ जिल्लाका विभिन्न सहरमा सहुलियत पसल चलाउनेछ ।
साल्ट ट्रेडिङले उपत्यकाका कुन ठाउँमा चलायो सहुलियत पसल ?
- कालिमाटी
- सतुंगल
- जावलाखेल
- कोटेश्वर
- सिफल
- कपन
- बालाजु
- भक्तपुर
- कौशलटार
- बनेपा
- धुलिखेल
साल्ट ट्रेडिङले उपत्यका बाहिर २१ जिल्लाका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । झापा बिर्तामोड, मोरङ विराटनगर, सप्तरी राजविराज, सिरहा लहान, धनुषा जनकपुर, पर्सा वीरगञ्ज, मकवानपुर हेटौंडा, चितवन नारायणगढ र नुवाकोट त्रिशूलीमा सहुलियत पसल सञ्चालनमा आएको हो ।
त्यसैगरी कास्की पोखरा, बागलुङ, रुपन्देही भैरहवा, कपिलवस्तु कृष्णनगर, दाङ, सुर्खेत, बाँके नेपालगञ्ज, कैलाली धनगढी, टिकापुर र अत्तरिया, कञ्चनपुर बेलौरी र महेन्द्रनगर, डोटी दिपायल र बैतडी बैतडी पाटनमा सहुलियत पसल खुलेको हो ।
साल्ट ट्रेडिङका अनुसार चाडपर्व लक्षित सहुलियत पसलमा खाद्यान्न, गेडागुडी, तेल र मसलाजन्य सामग्री मात्रै पाइन्छ । बजार मूल्यभन्दा नुनमा किलोको २ रुपैयाँ र चिनीमा ५, तेल लिटरमा ७, चिउरा, पिठो र मैदामा प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको छ ।