स्वस्थ माटो, स्वस्थ बाली उत्पादनको लागि स्वायल हेल्थ कार्ड

  • 319
  •  
  •  
  •  
  •  
  •  
    319
    Shares

माटो, जसलाई अङ्ग्रेजी शब्दमा स्वायल (Soil) भनिन्छ, जुन पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग हो । यो विशेषत विभिन्न खनिज तत्व, अर्गानिक तत्व, हावा तथा ग्याँस, तरल पदार्थ (पानी) र थुप्रै आँखाले देख्न सकिने र नसकिने जीवहरुले बनेको हुन्छ । सबैजसो वनस्पतिको मुख्य आधार, पृथ्वीको पानी  र खनिज पदार्थ भण्डारण गर्ने स्थल, वायुमण्डलको मुख्य भाग, निर्माण संरचना तथा मानव लगायत थुप्रै जीवको वासस्थान पनि माटो नै हो ।

माटो मानव जीवनलाई आवश्यक पर्ने खाद्यान्न उत्पादन तथा आर्थिक क्रियाकलापहरु सँग पनि जोडिएको हुन्छ । विशेषत कृषिजन्य उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै स्वस्थ बाली उत्पादनको लागि स्वस्थ माटोको आवश्यकता पर्दछ । माटो स्वस्थ तब हुन्छ जब माटोमा सन्तुलित तथा व्यवस्थित खाद्य तत्वको प्रयोग हुन्छ । स्वस्थ माटो नै स्वस्थ खाद्य उत्पादनको मुख्य आधार हो । तसर्थ एकीकृत रुपमा माटोको व्यवस्थापन गरी स्वस्थ माटो अनि स्वस्थ बाली उत्पादनको लागि एक उपाय हो, स्वायल हेल्थ कार्ड ।

स्वायल हेल्थ कार्ड कृषकलाई दिइने एक प्राविधिक रिपोर्ट हो जसमा कृषकहरुले खेति गर्दै आईरहेको जमिनमा माटोको अवस्था झल्काउँदछ । यो रिपोर्टमा माटो परीक्षणको आधारमा हुने उपयुक्त बाली, खेतबारीमा प्रयोग गर्नुपर्ने मलखादको मात्रा तथा माटो सुधारका उपायहररु समेत सिफारिस गरिन्छ । मुख्यतया स्वायल हेल्थ कार्डमा आवश्यकता अनुसार माटोमा नाईट्रोजन, फोस्फरस, पोटास (मुख्य खाद्यतत्व), सल्फर (सहायक खाद्यतत्व), जिङ्क, आईरन, कपर, म्यागानिज र बोरोन (सुक्ष्म खाद्य तत्व) को मात्रा, स्वायल पि.एच., अर्गानिक कार्वन आदि विवरण समावेश हुन्छन ।

स्वस्थ बाली उत्पादनको लागि स्वस्थ माटो आधारभुत आवश्यकता हो । त्यसैले बेला बेलामा माटोको चेकजाच गरिरहनु पर्ने हुन्छ । स्वायल हेल्थ कार्डले भइरहेको कृषि अभ्यासले माटोमा कस्तो खालको असर पार्दछ भन्ने झल्काउने गर्दछ । साथै कुन कुन तरिकाहरु अपनाएर माटोलाई सबैभन्दा स्वस्थ अवस्थामा राख्न सकिन्छ भन्ने कुरा पनि यस कार्डमा समावेश हुन्छ ।

यसै अभिप्रायले संघीय सरकारले पनि स्वाय हेल्थ कार्ड वितरण गर्ने योजना बनाईरहेको छ, जसमा माटोको गुणस्तर चेकजाच गर्नुको साथै कुन माटोमा कुन बाली लगाउदा धैरै उत्पादन लिन सकिन्छ भन्ने कुराको एकीन र माटो अनुसार मलखादको मात्रा पनि सिफारिस गरिन्छ । यस कार्डको माध्यमवाट कृषकले आफ्नो माटोमा उपलब्ध भएका सम्पूर्ण खनिज पदार्थको बारेमा जानकारी लिन सक्नेछन । माटोमा हाल्नुपर्ने मलको मात्रा थाहा पाउन सकिने हुँदा अनावश्यक मल खरिद गर्दा हुने खर्च जोगिन्छ, साथै माटोको स्वस्थता पनि सन्तुलित  हुन्छ । एकपटक कार्ड जारी गरिसकेपछि कृषकहरुले प्रत्येक वर्ष माटोको गुणस्तर चेकजाँच गरी यस कार्डलाई नविकरण गर्नुपर्ने हुन्छ ।

किसानको खेतीयोग्य जमिनमा उपलब्ध खाद्यतत्वको आधारमा फरक फरक खाद्यतत्वको सिफारिस मात्रा  कार्डमा उल्लेख गरिनुको साथै अधिकतम उत्पादन लिनको लागि मलखाद तथा माटो सुधारका उपायहरुको बारेमा किसानलाई सुझाब दिईन्छ । यस कार्डले किसानलाई उनिहरुको माटोमा कुन खाद्य तत्वको कमी छ र कुन मलखाद राख्नुपर्छ भन्ने जानकारी दिन्छ । जसबाट कृषिबालिको उत्पादन वृद्धि गर्न सहयोग पुग्छ । यस कार्डको प्रयोगवाट कृषकहरुले आफ्नो खेतवारीमा कुन बाली लगाउने वा कुन बाली नलगाउने भन्ने निर्णय लिन सक्नेछन भने आफु स्वयंले नै उपयुक्त खाद्य तत्व व्यवस्थापन गर्न सक्नेछन ।

प्रत्येक वर्ष सरकारी निकायवाट नै माटोको परीक्षण गरी रिपोर्ट प्रदान गरिने हुनाले कुनै कारणबस माटोको अवस्था परिवर्तन हुन्छ कि भन्ने चिन्ता कृषकहरुलाई हुँदैन । किसानहरुले आफ्नो माटोको सुधार गरिएको अपडेट रिपोर्ट पाउनेछन । किसानले माटो व्यवस्थापन गर्ने अभ्यासको बारेमा अध्ययन गरेर भविष्यमा आफुले लगाउने बाली र जमिनको बारेमा योजना बनाउन सक्नेछन । विशेष प्रकारको माटो भए पनि त्यस्तो खालको माटोलाई सुधार गरेर कसरी खेती गर्न सकिन्छ भन्ने उपायहरु पनि कृषकलाई जानकारी हुन्छ ।

स्वायल हेल्थ कार्ड नेपालका कृषकलाई एकदमै महत्वपुर्ण तथा उपयोगि हुनेछ । नेपालमा अधिकांस कृषकहरु लाई आफ्नो खेतबारीको माटो कुन प्रकारको हो, कस्तो गुणस्तरको छ र कुन प्रकारको बाली लगाउदा अधिकतम उत्पादन लिन सकिन्छ, भन्ने नै थाहा छैन । आफ्नो विगतको अनुभव र परम्परागत रुपमा गरिआएको खेती प्रणाली बाहेक माटोको गुणस्तर चेक गर्नुपर्छ, चेक गर्न के गर्नुपर्छ समेत थाहा नहुने कृषकको लागि स्वायल हेल्थ कार्ड अत्यन्त उपयोगि हुने देखिन्छ ।

रासायनिक मल तथा रासायनको बढदो प्रयोगले माटोमा प्राङ्गारिक पदार्थको मात्रा घट्दै गईरहेको अवस्थामा स्थानिय तहको समन्वयनमा माटो परीक्षण सेवालाई फराकिलो बनाउदै माटोको उर्वराशक्ति बढाई स्वस्थ बाली उत्पादनको लागि स्वायल हेल्थ कार्ड आजको आवश्यकता हो । स्वायल हेल्थ कार्ड संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेका माटो प्रयोगशालाहरु तथा प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका माटो तथा मल परीक्षण प्रयोगशालाहरुवाट वितरण गर्ने प्रावधान मिलाउनुपर्ने हुन्छ ।

हालसम्म सरकारी प्रयोगशालाहरुबाट माटो परीक्षण गरी रिपोर्ट दिइएता पनि उक्त रिपोर्टमा उपयुक्त बालीहरु र मलखादको सिफारिस उल्लेख गरिएको पाईदैन । जसले गर्दा कृषकहरुमा अन्यौलता रहदै आईरहेको अवस्था छ । हाम्रो छिमेकी मुलुक भारतमा पनि सन २०१५ फेब्रुवरी १९ देखि स्वायल हेल्थ कार्ड वितरण सुरु गरिएको छ र उत्पादन बढाउनको लागि बाली पिच्छे कति मलखाद राख्ने  सिफारिस गरिदै आएको छ ।

लेखक सरिता लामिछाने कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवन अन्र्तगत कृषि संकायको  माटो विज्ञान तथा कृषि ईन्जिनियरिङ्ग विभागमा स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ ।


  • 319
  •  
  •  
  •  
  •  
  •  
    319
    Shares
error: Content is protected !!