मकैको अमेरिकन फौजी किरा ( Spodoptera frugiperda ) र यसको एकीकृत व्यवस्थापन

  • 38
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

 अमेरिकन फौजी किरा अमेरिकाको रैथाने किरा हो । यस किरा सन् २०१६ मा अफ्रिकामा माहामारीको रुपमा देखिएको थियो । सन् २०१८ जुलाईमा भारतको करनाटाकामा माहामारीको रुपमा देखिएको यस किरा नेपालमा पहिलो पटक सन् २०१९ मे मा नवलपुर जिल्लामा  देखिएको थियो भने यस वर्ष यो किरा नेपालको अधिकांस जिल्लामा मकैमा मुख्य समस्याको रुपमा देखिएको छ ।

यसले मकै लगायत ८० भन्दा बढी अन्य विरुवामा असर गरेको पाइन्छ । यो किरा गत हिँउदमा चितवनमा आलुवालीमा समेत मुख्य समस्याको रुपमा देखापरेको थियो । यो किरा पुतली वर्गको नकटीडी (Noctuidae) परिवारमा पर्दछ र प्राय गरेर रातिमा सक्रिय भई विरुवाको विभिन्न भागमा असर पुर्याउदछ ।

यस फौजी किराको जीवन चक्रमा अण्डा, लार्भा, प्यूपा र वयस्क गरि चार वटा मुख्य चरण हुन्छन । यी मध्ये लार्भा अवस्था मुख्य हानिकारक हुन्छन भने अन्य अवस्थाले विरुवामा खासै असर नगरेपनि किराको जीवनचक्र पुरा गर्नको लागि सहयोग पुर्याउछ  ।

 

वयस्क भाले र पोथीको संसर्ग पछि पोथी पुतलीले विरुवाको पात तथा अन्य भागमा १० देखि २०० वटा अण्डा थुप्रोमा पार्दछ। एउटा पोथी किराले औषतमा करिब १५०० वटा सम्म अण्डा पार्दछ 

यो किराले अण्डाहरु प्रायजस्तो थुप्रोमा तह तह गरि पार्दछ जसलाई खैरो कपास जस्तो भुवाले ढाकेको पाइन्छ । यस किराको अण्डा ३ देखि ५ दिनमा विकसित  लार्भाहरु निस्कन्छन् । लार्भाको विकास ६ चरणमा सकिन्छ । सामान्यतया वयस्क लार्भाको लम्बाई ३.१ देखि ३.८ से.मी. हुन्छ जसको रंग हल्का हरियो देखि कालो हुन्छ । लार्भाको टाउकोमा उल्टो Y आकारको चिन्ह हुन्छ भने लार्भाको पेटको आठौं खण्डमा चारवटा थोप्ला वर्गाकार रुपमा रहेको हुन्छ ।

लार्भाको पुरा विकास हुनको लागि १४ देखि ३० दिन लाग्दछ । यस किराको लार्भा सुशुप्त अवस्थामा जादैन त्यसैले लार्भाहरु एकदमै चिसोमा (१० डिग्री सेल्सियस भन्दा कम मा ) मर्दछ । लार्भाको सुरुको अवस्थाले विरुवाको गुबोको कलिलो पातहरुको हरियो भागखाई सेतो पत्र मात्र राख्दछ ।

 

विशेषगरि लार्भाको पाचौ र छैटौ चरण धेरै हानिकारक हुन्छ । यसले पातमा प्वाल बनाएर खाने, गुबो भित्र पसेर गुवोको पातहरु खाने र मकैको घोगामा समेत प्वाल पारेर जुगा र कलिलो दाना खाइदिन्छ जसले गर्दा मकैको घोगामा दाना समेत रहदैन ।

विकसित लार्भा माटोमा २ देखि ८ से. मी. तल गई प्यूपा अवस्थामा जान्छ । प्यूपा अवस्था पूर्ण विकसित हुनका लागि गर्मीमा ८ देखि १० दिन लाग्दछ भने जाडो महिनामा १४ दिन सम्म लाग्दछ । त्यसैगरी वयस्क किरा करिब १० दिन बाच्दछ । वयस्क भाले पुतलीको अगाडिको पखेटाको किनारमा र टुप्पो त्रिकोण आकारको सेतो धब्बाहरु देखिन्छन तर पोथी पुतलीको अगाडीको पखेटा पुरै खैरो हुन्छ । वयस्क पुतलीले एक रातमा करिब १०० किलोमिटर सम्मको दूरी पार गर्न सक्दछ ।

                                      पोथी पुतली
                                        भाले पुतलि

 

 

 

 

 

यो किरा धेरै खन्चुवा प्रकृतिको किरा भएकोले यसको समयमै व्यवस्थापन गर्न नसके मकै उत्पादनमा धेरै नै गिरावट आउन सक्दछ । विषादीको सुरक्षित प्रयोग गर्ने तर्फ अधिकाँस किसानहरुको ध्यान गएको पाइदैन । सम्भव भएसम्म उपलब्धताको आधारमा जैविक विषादिको प्रयोग गर्र्नुपर्दछ र अन्तिम विकल्पका रुपमा रासायनिक विषादीको प्रयोग गर्नुपर्छ । विषादीको सुरक्षित प्रयोग नहुदा यसले मानवस्वाथ्य, जीवजनावर र वातावरणमा समेत प्रतिकुल असर पार्ने हुनाले सकेसम्म कृषि विज्ञ, प्राविधिकको सल्लाह लिएर मात्र विषादीको प्रयोग गर्नुपर्छ । यो किराको एकीकृत व्यवस्थापनका लागि उल्लेखित तरिका अवलम्बन गरेमा यसबाट हुनसक्ने क्षति न्यूनीकरण तथा उचित व्यवस्थापन गर्न सकिन्छ ।

  •  वाली छर्ने बितिकै वत्तिको पासोको प्रयोग गरि यस किराको माउ पुतलीलाई आकर्षण गरेर यसको व्यवस्थापन गर्न सकिन्छ । माउको व्यवस्थापन गर्नु भनेको १५०० नयाँ लार्भा नजन्मिनु भएकोले यो विधि निकै महत्वपूर्ण हुन्छ ।
  • खेतबारीको नियमित अवलोकन गर्ने र यदि उक्त किराको अण्डाको थुप्रो वा लार्भा भेटिएमा मिचेर नष्ट गरिदिने ।
  • मकै लगाए लगतै एक हप्ताभित्र एक हेक्टरमा १० वटा फनेल (फल आर्मिवोर्म ल्युर) पासोको प्रयोग गरि फौजिकिराको भालेलाई जम्मा गरेर नष्ट गरिदिने र फल आर्मिवोर्म ल्युर एक महिनाको अन्तरमा फेर्नु पर्दछ ।
  • बारीको कान्लामा नेपियर ( Napier) घास र मकैबारीमा डेस्मोडीयम (Desmodium) घास लगाउनाले यो किराको व्यवस्थापन गर्न सकिन्छ ।
  • बजारमा पाइने निमजन्य विषादी एजाडिराक्टिन १५०० पिपिएम (Azadirachtin १५०० ppm) ५ मि.लि प्रति लिटर पानीका दरले उम्रेको १० दिन पश्चात १० दिनको अन्तरालमा ३ देखि ४ पटक प्रयोग गर्ने ।
  • ट्राईक्रोग्रामा चिलोनिस ( Trichogramma chilonis ) र टेलीनोमस स्पिसिस (Telonomus sps) प्रति हेक्टर १,००,००० का दरले १ हप्ताको अन्तरालमा ३ पटक प्रयोग गर्नाले पनि यो किराको व्यवस्थापन गर्ने सकिन्छ । तर यस परजीवी किरा नेपालको बजारमा सजिलै उपलब्ध छैन ।
  • इमामेक्टिन बेन्जोएट ( Emamectin Benzoate) ५% एस.जी ०.४ ग्राम प्रति लिटर पानीका दरले वा स्पाईनोस्याड (Spinosad) ४५% एस. सी ०.३ मि.लि प्रति लिटर पानिका दरले वा स्पाइनेटोराम (Spinetoram) ११.७ एस. सी ०.५ मि.लि प्रति लिटर पानीका दरले वा क्लोरानट्रानिलीप्रोल (Chlorantraniliprole) १८.५ एस. सी ०.३ मि.लि प्रति लिटर पानीका दरले बिरुवाको गुबो भिज्ने गरि प्रयोग गर्दा प्रभावकारी पाईएको छ ।

लेखक उप प्राध्यापक राजेन्द्र रेग्मी कृषि तथा वन विज्ञान विश्वविद्यालय  रामपुर चितवनमा कार्यरत हुनुहुन्छ ।


  • 38
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares
error: Content is protected !!