विदेशमा बगाउने पसिना नेपालमा बगाए सुन फलाउन सकिन्छ – कृषक शर्मा

  • 65
  •  
  •  
  •  
  •  
  •  
    65
    Shares

म्याग्दी – धु्रवसागर शर्मा जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ । म्याग्दीको बेनी नगरपालिका–२ बन्चरेढुङ्गाका ५० वर्षीय हरिलाल घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो ।

तीनदशक अघि २० वर्षे उमेरमा गरीबीका कारण साहुसँग ऋण लिएर मुग्लानको बाटो समाएका घिमिरेले दश वर्ष साउदी अरब र १० वर्ष खाडीका अन्य मुलुकमा पसिना बगाए पनि खासै राम्रो कमाइ गर्न नसकेपछि घर फर्किए । घर फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने घिमिरेले आम्दानी हुन थाले । “शुरुशुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि मैले हिम्मत हारिन”, घिमिरेले भने, “कतिले मलाई विदेशमा त कमाउन नसकेको मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए पनि तर, म आफ्नो काममा लागिरहेँ ।” विसं २०६६ सालदेखि व्यावसायिक रुपमा प्राङ्गारिक तरकारी खेती गर्दै आएका घिमिरेले सात रोपनी जग्गामा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरिया, बोडी, बन्दागोभीलगायतका मौसमी तथा बेमौसमी तरकारी लगाउँदै आएकाछन ।

तरकारी बिक्री गरेर घिमिरेले वार्षिक रु छ लाखभन्दा बढी कमाइ हुने गरेको बताए । “यही माटोमा पसिना बगाउन थालेपछि मैले बुझे विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने पैसा यही फल्दोरहेछ”, घिमिरेले भने, “उमेर ढल्केपछि मलाई चेत आयो तर, मैले मेरा छोराहरुलाई समयमा नै चिनाइ दिएँ पैसा फलाउने माटो र छेकी दिएँ मुग्लान जाने बाटो ।” अहिले घिमिरेको खेत बारीमा गोलभेँडा, काँक्रो, करेला लटरम्मै छ ।

खेतबारीमा फलेको तरकारीसँगै घिमिरेको घरपरिवारमा खुशी र सन्तुष्टि पनि छाएको छ । दुई भाइ छोरा, श्रीमती र आफू गरी परिवारका चार सदस्यले तरकारीको स्याहार गर्ने, गोडमेल गर्ने, टिप्ने र बजारमा लगेर बिक्री गर्दै आएका छन् । तरकारी बिक्री गरेर सरदर मासिक रु ५० हजार कमाइ हुन थालेपछि घिमिरे परिवारले मुग्लानको बाटोमा सधैँभरिका लागि बन्द गरेका छन् । घिमिरे भन्छन्, “आफ्नै माटोमा पैसा फलाउन सकिने उपाय मैले मेरो परिवारलाई पनि सिकाएको छु, त्यसैले उनीहरुका लागि पनि पैसा कमाउन भनेर कहिल्यै विदेश नपठाउने मेरो सोचाइ छु ।” घिमिरेले अहिलेसम्म कुनै पनि सङ्घसंस्था वा सरकारी निकायबाट तरकारीखेतीसम्बन्धी तालीम नलिएको बताउँछन् । “सिकाइ अनुभव नै मेरा लागि तालीम र अवसर दुवै बन्यो”, घिमिरेले भने ।

राज्यले किसानलाई दिने अनुदानसमेत पाएछैनन् उनले । घिमिरेले अर्गानिक तरकारी खेती गरेकाछन् । अर्गानिक तरकारीबाटै घिमिरले वर्षमा रु छ लाखभन्दा बढी कमाउँछन् । वर्षमा चारपटक तरकारी उत्पादन गर्दै आएका घिमिरेको छ जनाको परिवारका लागि यही नै आम्दानीको भरपर्दो स्रोत बनेको छ । घिमिरे बिहान उठेदेखि साँझसम्म तरकारीखेतीमै व्यस्त रहन्छन् ।

तरकारीमा विषादीको प्रयोग नगर्ने घिमिरे बताउँछन्, “औषधिमूलक झारपात तथा पशुको पिसाबबाट रोगकीरा हटाउने, मलजल गर्ने गरेको छु ।” दुई वर्ष अघि आफूले फलाएको १० टन बन्दागोभी सदरमुकाम बेनीमा बिक्री हुन नसकेपछि पोखरा, काठमाडौँ, चितवन र बुटवलसम्म पु¥याएर सस्तो मूल्यमा बिक्री गर्नुपरेको उनले गुनासो गरे । पहिला २÷४ सय आवश्यक पर्दा अरुसँग हात थाप्नुपर्ने घिमिरेले अहिले विभिन्न बैंक तथा वित्तिय संस्थामा रकम सङ्कलन, छोराछोरीको पढाइ र घरघडेरीसमेत जोडेका छन् । राज्यले अनुदानको व्यवस्था गरे अझै तरकारीखेती विस्तार गर्ने घिमिरेको सोच छ । पानीको अभाव हुँदा सार्वजनिक कुवाबाट पानी बोकेरसमेत तरकारीखेती गर्दै आएको उनले बताए ।

घिमिरेको सिको गरेर अहिले धेरैले तरकारीखेती गर्न थालेका छन् । बन्चरेढुङ्गाका किसानका घर–घरमा करेसाबारी छन् । किसानले उत्पादन गरेको तरकारी बजारीकरणका लागिसमेत कुनै समस्या छैन । व्यापारी खेतीबारीमै पुग्ने गरेको स्थानीय कृषकको भनार्ए छ ।


  • 65
  •  
  •  
  •  
  •  
  •  
    65
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here