स्याङजा । स्याङजाबाट यो वर्ष एक अर्ब ३८ करोड रुपैयाँ बढीको सुन्तला बिक्री भएको छ । सुन्तलाका लागि प्रख्यात मानिने स्याङजामा दुई हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।
नेपालमा सबैभन्दा धेरै क्षेत्रफलमा सुन्तला खेती हुने स्याङ्जामा उत्पादनका हिसाबले पनि धेरै हुने गरेको छ । स्याङजामा यस वर्ष सुन्तला छिटो पाकेकाले कात्तिकको दोस्रो साताबाट बिक्री सुरु भएको थियो ।
कात्तिकको दोस्रो सातामा प्रतिकिलो ५० र पौषको अन्तिम साता सम्म ६५ रुपैयाँका दरले सुन्तला बिक्री भइरहेको बिक्रेताहरुको भनाइ छ । धेरै बिक्री हुनु र स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि हुनुले किसानहरु पनि उत्साहित भएका छन् । यस वर्ष प्रतिहेक्टर पाँच मेट्रिक टनका दरले सुन्तला उत्पादनमा वृद्धि भएको किसानले बताएका छन ।
झण्डै ८५ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका कृषक रामप्रसाद भण्डारीले यस पटक २२ देखि २५ लाख आम्दानी गरेको बताउनुभयो । भण्डारीको बगैंचामा अहिले आठ सय सुन्तलाका बोट छन् । एउटै गाउँबाट डेढ करोडका सुन्तला बिक्री गर्ने स्याङ्जाको सिरौंसाका सुन्तलाको मुल्य भने केही बढि पर्ने कृषक रामप्रसाद भण्डारीको भनाइ छ ।
सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले कोदो मकैसहितका खाद्यान्न बाली मासेर बारीमा सुन्तलाका बोट हुर्काएका छन् । अर्को सिजनमा सुन्तला उत्पादन दोब्बर बनाउने कृषकको लक्ष्य छ । उत्पादन बढि भएपनि बजारको खासै समस्या नरहेको उनीहरुको भनाइ छ ।
स्वादका दृष्टिले देशैभर छुट्टै पहिचान बनाएको स्याङ्जाको सुन्तला काठमाडौं, पोखरा, बुटवल, नारायणगढलगायत बजारमा खपत हुने गरेको छ । जिल्लामा खासगरी पुतलीबजार सुन्तला पकेट क्षेत्रको रुपमा चिनिन्छ । यो वर्ष स्याङजामा सुन्तला उत्पादन बृद्धीहुँदा धेरै किसानहरु लाभन्वित भएको प्रधानमन्त्री कृषि आधुनिक परियोजना एकाइ स्याङ्जाका प्रमुख माधव लम्सालले बताउनुभयो ।
यो वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको उहाँले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले यस वर्ष एक अर्ब ३८ करोडौं रुपैयाँ बढीको सुन्तला उत्पादन भएको छ ।
गत वर्ष सुन्तला बिक्रीबाट ५७ करोड भित्रिएको उहाँले बताउनुभयो । गत वर्ष प्रतिहेक्टर १० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमाले बताउनुभयो ।