नेपालमा टर्की पालन र यसकाे सम्भाव्यता

  • 1.2K
  •  
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

परिचयः टर्की मासुको लागि पालिने चरा हो । युरोप र अमेरिकामा क्रिसमसको समयमा टर्की नभै हुँदैन । ग्यालीफर्मस (Galliformes) अन्तर्गतको दुई जाति (species) एग्रोचारिस वा मेलाग्रिस वासिलाट
(Agrocharis  or Melagrias ocellata ) र कमन टर्की मध्ये प्रचलित कमन टर्की उत्तर अमेरीकाको स्थानीय खेल खेलाउने चरो हो । तर यो मासु खानका लागि पनि उत्तिकै रुचिका साथ पालिन्छ । यसको विकास मेक्सीकोबाट भएको हो त्यसपछि तुरुन्तै इटलीले लग्यो । त्यसपछि स्पेन हुँदै युरोप अमेरिका र एशिया भरी नै छायो । यी दुई प्रकारका टर्कीमा पनि हावा पानी र भौगोलिक प्रभावले गर्दा विविधता पाईन्छ ।

जातहरु: हुन त टर्कीका धेरै जातहरु विकास भएका छैनन् तैपनि अमेरीकाको पोल्ट्री संस्थाले विकास गरेका जातहरु व्रोन्ज, ह्वाईट हलैण्ड, व्राउन रेड नार्गान सेट, कालो स्लेट र स्मल ह्वाईट मुख्य हुन् । त्यस्तै जंगली जातवाट विकास गरिएका व्रोड व्रेनटेड व्रोन्ज र व्रोड व्रेन्टेड ह्वाइट हुन् ।

नेपालमा टर्की पालन : नेपालमा टर्की कहिले आयो भन्ने कुराको एकिन गर्न नसकियता पनि यसको पालन भने काठमाडाैमा फाट्ट फुट्ट देखिन्छ । परवानीपुर कृषि अनुसन्धान केन्द्रमा मिडियम ह्वाईट जातको टर्की २०५७ सालमा भारतको वरेलीवाट ल्याईएको हो । यहाँवाट व्यवसायिक रुपमा टर्की पालन गर्न चाहने कृषकहरुलाई चल्ला र प्रविधि वारे जानकारी दिईन्छ । वढी मूल्यमा वेचविखन हुने यो टर्कीको पालन निम्न अनुसार गर्न सकिन्छ ।

तालिका १. टर्कीलाई खुवाउने दानामा उमेर अनुसार प्रोटीन र शक्तिको मात्रा निम्न अनुसार हुनुपर्छ ।

तह उमेर प्रोटिन (प्रतिशत ) शक्ति/के.जी.

दाना

स्ट्रायर–१ ०–२ हप्ता २८ २९०० क्यालोरी
स्ट्रायर–१ २–४ हप्ता २६ ३००० क्यालोरी
ग्रोअर–१ ४–८ हप्ता २३ ३०५० क्यालोरी
ग्रोअर–२ ८–१२ हप्ता २० ३१५० क्यालोरी
डेभलपर १२–१५ हप्ता १८ ३२२५ क्यालोरी
फिनिसर–१ पोाथी १२–१६ हप्ता १६ ३२७५ क्यालोरी
फिनिसर–२ भाले १५–१८ हप्ता १६ ३२७५ क्यालोरी

माथिको तालिका अनुसार शुरुको उमेरमा २८ प्रतिशत सि.पि. (Crude Protein) भएको दाना दिईन्छ । त्यसपछि चल्ला ठूलो हुँदै जाँदा प्रोटीनको मात्रा घटाउँदै जानु पर्दछ । यसरी टर्कीलाई विभिन्न तहको उमेरमा विभिन्न मात्रामा प्रोटीन र शक्ति भएको दाना दिनुपर्छ ।

व्यवस्थापन: एउटा वयस्क भाले टर्की २४ हप्तामा १.३ मी. अग्लो र १२ देखि १५ किलो तौल सम्मको हुन्छ । यस्तै पोथी टर्की भाले भन्दा सानो र ८ देखि १० किलो तौल सम्मको हुन्छ । टर्कीको भाले,पोथी पहिचान १२ –१३ हप्ताको उमेरमा गर्न सकिन्छ । ५ वटा पोथीको लागि एउटा भाले सँगै राख्नुपर्छ । पोथीले ८र ९ महिना देखि फुल पार्न शुरु गर्छे । फुल ८० –८५ ग्राम तौलका हुन्छन् । फुल २८ दिन सम्म कोरले पछि चल्ला निस्कन्छ । टर्की ठूलो चरामा पर्ने भएकोले यिनिहरु ३ वर्षमा वयस्क हुन्छन् । टर्कीका चल्ला पनि कुखुराको चल्ला जस्तै हुर्काउन सकिन्छ । बढी नाफा कमाउन तालीकामा देखाए जस्तै उचित दाना पानी दिएर २०–२४ हप्ता उमेरमा बेच्नुपर्छ ।
यिनिहरुलाई खुल्ला बगैचा वा चउरमा छोड्न राम्रो हुन्छ । साथै थप चाराको लागि गहुँको चोकर, मकै, कनिका, मसिनो गरी काटेको तरकारीको टुक्रा विहान बेलुका दिनुपर्छ । जहाँ जग्गाको कमी छैन त्यहाँ ४–६ फिट अग्लो तारबार गरी १ कट्ठामा ५०–६० वटा टर्की पाल्न सकिन्छ । तीन, चार वर्षमा चरन क्षेत्र परिवर्तन गरिरहनु पर्छ । गाई भैंसी सँगै टर्की चराउन सकिन्छ तर बंगुर र भेडा सँग चराउन राम्रो हुदैन । जंगली जनावर र कुकुरले टर्कीलाई आक्रमण गर्दछ । त्यसवाट बचाउनु पर्दछ ।

व्यवसायिक रुपमा टर्की पाल्नेहरुले टर्कीलाई धानको भुस वा काठको धुलो लिटरको रुपमा व्यवस्था गरेर कुखुरा पाले जस्तै पाल्नुपर्छ । यसका लागि ४० फिट चौडा, ३०० फिट लामो, घर राम्रो हुन्छ । पाँच फिट अग्लो जाली लगाएर छाना हाल्नु पर्छ । भालेलाई पाँच वर्ग फिट र पोथीलाई चार वर्ग फिट ठाउँ चाहिन्छ ।

लामा दिनमा टर्कीको विकास छिटो हुन्छ तर दिन छोटो भएपनि तापक्रम ६५ डिग्री फरेनहाईट र दिन ११ घण्टा वा त्यो भन्दा वढीको छ भने पनि तिनीहरु छिटै वयस्क हुन्छन् । धेरै फुल उत्पादन गर्नको लागि पोथीलाई १८–२२ हप्ताको उमेरबाट अध्यारोमा राख्नुपर्छ । अध्यारोमा राख्दा १८–२० हप्ता उमेरमा ८ घण्टा प्रकाश तथा १६ घण्टा अध्यारो र २०–२२ हप्ता उमेरमा ६ घण्टा प्रकाश तथा १८ अध्यारोामा राख्नुपर्छ । यदि अध्यारोमा राख्न ढिला भयो भने २२ हप्ताको उमेरमा ४ घण्टा प्रकाश दिने र २० घण्टा अध्यारोमा राख्नुपर्छ । अध्यारोमा राखेको समयमा राम्रो हेरचाह पुर्याउनु पर्छ ।

रोगहरु: कुखुरालाई जस्तैः टर्कीलाई पनि कुखुरामा लाग्ने रोगहरु लाग्दछन् । तर कालो टाउको र टाउको सुन्निने रोग यसका प्रमुख रोगहरु हुन् । कक्सी, किर्ना, जुम्रा पनि यसलाई लाग्ने गर्दछन् ।

खोप: फूल पार्ने कुखुरालाई दिने जस्तैः खोप, रानी खेत, गम्वारो, फवल पक्स, फवल टाईफाईड आदि खोपहरु समयमै दिनु पर्दछ ।

लेखक प्रा.डा. मोहन प्रसाद शर्मा कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा, पशु प्रजनन तथा जैविक प्रविधि बिभागमा कार्यरत हुनुहुन्छ । 


  • 1.2K
  •  
  •  
  •  
  •  
  •  
    1.2K
    Shares
error: Content is protected !!