नेपालमा भेटेरिनरी जनस्वास्थ्यः अवस्था, अवसर र चुनौती

  • 21
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

  मेरुदण्ड भएका जनावरबाट मानिसमा सर्ने किसिमका र महामारीको रुप लिन सक्ने क्षमता भएका रोगहरुलाई जुनोटिक अर्थात् पशुबाट मानिसमा सर्ने सरुवा रोग भनिन्छ । यस्ता रोगहरु जीवाणु, बिषाणु, ढुसी, प्रोटोजोआ, परजीवी आदिबाट लाग्ने गर्दछन । यसरी पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने किसिमका रोगलाई जुनोजेज ( Zoonoses ) पनि  भनिन्छ ।

विश्व स्वास्थ्य संगठन (WHO) र बिश्व पशुस्वास्थ्य संगठन (OIE) का अनुसार विश्वभर ७४% मानिसमा आकस्मिक रुपमा देखापर्ने (Emerging) रोगहरु पशुपन्छीबाट सर्ने गरेको  पाइएको छ । त्यसैगरी ६०% जनावरमा लाग्ने  रोगहरु मानिसमा पनि सर्ने गरेको पाइएको छ ।

दोस्रो  बिश्वयुद्ध पछी संयुक्त राज्य अमेरिकाका जनस्वास्थ्य सेवामा कार्यरत प्रशासकहरुले भेटेरिनरी चिकित्साले विशेष चासो राख्ने जनस्वास्थ्यका क्षेत्रलाई जनाउन भेटेरिनरी जनस्वाथ्य शब्दको प्रारम्भ गरेको मानिन्छ । सन् १९९९ मा FAO र WHO को संयुक्त विज्ञ समितिले भेटेरिनरी विज्ञानको प्रयोगबाट मानिसको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यका निम्ति हुने सम्पूर्ण योगदानलाई नै भेटेरिनरी जनस्वास्थ्य भनेर परिभाषित गरेको छ । भेटेरिनरी जनस्वास्थ्यले पशुबस्तुबाट उत्पादित खाद्यान्नको क्षेत्रमा उत्पादक र उपभोक्ता दुवै तहमा हुने जोखिमहरू तर्फ विशेष ध्यान पुर्याउँछ । विशेष गरी जुनोटिक रोग अनि त्यस्ता रोगहरुले विश्व समुदायमा पुर्याउने नकारात्मक असर न्यूनीकरणमा भेटेरिनरी जनस्वास्थ्यले पहल गर्दछ ।

Source: “Veterinary Public Health: Overview Diagram “

हालसालै विश्वमा देखापरेका SARS, MERS,  स्वाइन फ्लु (H1N1) र बर्ड फ्लु (H5N1) जस्ता भाइरल रोगहरु पनि पशुपन्छीबाट मानिसमा सरेका हुन् भने भर्खरै विश्वलाई हल्लाइरहेको कोभिड–१९ पनि चमेरा जस्ता पशु स्रोतबाटै आएको हुनसक्ने वैज्ञानिकहरुले अनुमान गर्दै आएका छन् । यद्यपी अहिलेसम्म यो रोग कुनै पनि पशुबाट मानिसमा सरेको पुष्टी भने भएको छैन र यसको विषाणु (SARS-CoV2) ले पशुमा संक्रमण गर्न सक्ने क्षमता पनि विश्वव्यापी अनुसन्धानहरुले ज्यादै न्यून देखाएका छन् ।

यस्ता घातक रोगहरु प्रायजसो सर्वप्रथम पशुमा देखिने भएकाले समयमै पहिचान गरेर, अध्ययन तथा अनुसन्धान गरी पशुपन्छी मै नियन्त्रण गर्नु सबैभन्दा उत्तम उपाय हुन सक्दछ । तर यसो गर्न  नसक्दा र जैविक सुरक्षाका उचित विधि अपनाउन नसक्दा मानव समुदायसम्म यी रोगहरु फैलिने सम्भावनालाई नकार्न सकिदैन  । यसबाट पनि भेटेरिनरी जनस्वास्थ्य विश्वमा देखापर्ने क्रममा रहेका  र बारम्बार देखिईरहने (Emerging and Re-emerging) रोगहरुको  अनुसन्धान र  नियन्त्रणको क्षेत्रमा अग्रपंक्तिमा रहेको सहजै आँकलन गर्न सकिन्छ । पशुचिकित्सकहरु पशुको शारीरिक संरचनादेखि फिजिओलोजी, फर्माकोलोजी लगायत सुक्ष्मजैविक विज्ञान र  जैविक प्रविधिका क्षेत्रमा पनि उत्तिकै दक्ष  छन् ।

तसर्थ यस्ता किसिमका अनुसंधानहरुमा पशुचिकित्सकको  भूमिकाको महत्व र आवश्यकता बुझेर सरकारी एवं निजि क्षेत्रले सदुपयोग गर्न सकेमा यस्ता जैविक विपत्तिहरु बिस्तारै न्यूनिकरण गर्न ठूलो टेवा पुग्ने विश्वास लिन सकिन्छ । यस्ता रोगहरु स्रोतबाटै उन्मुलन गर्न सकेमा मानव स्वास्थ्यमा पर्न सक्ने खतरा धेरै मात्रामा कम गर्न सकिन्छ ।

नेपालको सन्दर्भ

हाल नेपालमा पशु सेवा विभाग अन्तर्गत  भेटेरिनरी जनस्वास्थ्य इकाई  रहेको छ ।  २००४ सालमा स्थापित  भेटेरिनरी जनस्वास्थ्य  शाखा मार्फत पशुपन्छीको रोग अन्वेषण र नियन्त्रण सम्बन्धि आवश्यक विभिन्न कामहरु हुदै आएको छ ।

विश्व पशुस्वास्थ्य संगठन, खाद्यय तथा कृषि संगठन  लगायत अन्य अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग सम्बन्ध कायम गरी पशुस्वास्थ्य स्थितिको जानकारी लिने र दिने अनि खाद्य सुरक्षा कायम गर्ने काम पनि यस शाखाबाट भैरहेको छ । यसका साथै पशुरोग तथा जनस्वास्थ्य सम्बन्धि  रोगहरुको वस्तुस्थिति (Epidemiological status) अध्ययन तथा अनुसन्धान गर्ने र सम्भावित खतराको समयमै विश्लेषण गरी समयमै सूचना प्रवाह गर्नु यस शाखाको प्रमुख जिम्मेवारी रहेको छ ।

करिब  ६५.५ प्रतिशत मानिसहरु  कृषि र पशुपालनमा आधारित भएका र शिक्षाको अभाव, कमजोर आर्थिक अवस्था र स्वस्थ जीवन जिउने कमजोर अभ्यासले गर्दा नेपालका कृषक वर्गमा जूनोजेजले सहजै आक्रमण गर्न सक्ने खतरा देखिन्छ । पशुवस्तुका वरिपरी भइराख्ने र असल पशुपालन अभ्यास सम्बन्धि बारे थोरै मात्र ज्ञान भएका किसानहरुमा जुनोटीक रोग लाग्ने खतरा बढी हुने गर्दछ ।

पशु व्यवसायीहरु, किसान, पशुचिकित्सक, पशुचिकित्सा प्राविधिक तथा पशुको निम्ति खटिने पशु अधिकारकर्मी पनि जुनोटिक रोगहरुप्रति सवेंदनशील क्षेत्र हुन । तसर्थ किसानहरुलाई यस्ता रोगहरु पशुमा लागेको कसरी पत्ता लगाउने, कसरी नियन्त्रण गर्ने, अनि आफू र आफ्नो परिवार साथै छरछिमेकसम्म पुग्न नदिन के कस्ता सुरक्षाका विधिहरु अपनाउने भन्ने बारे चेतना फैलाउनुमा पनि पशुचिकित्सकहरुको उल्लेखनीय भूमिका रहेको हुन्छ ।

स्वास्थ्य तथा वातावरण मन्त्रालयका अनुसार नेपालका मुख्य जुनोजेजहरु परजैविक , भाइरल, ब्याक्टेरियल र अन्य संक्रमक रोगहरु पनि छन् । न्युरोसिस्टिसकोर्सिस ,लेप्टोस्पाइरोसिस, टोक्जोप्लाजमोसिस, रेबिज, ब्रूसेललोसिस, टियुबरर्क्लोसिस, डेंगु  र एभिएन इन्फ्लुएन्जा नेपालमा महामारीको सम्भाव्यता बोकेका र प्राथमिकताका साथ लिइएका जुनोटिक रोगहरु हुन् ।

सन् १९७८ मा रेबिज र जापानिज इन्सेफलाइटिस रोग नेपालका पहाडी र तराइका भूभागमा देखिएपछि पहिलोपटक  जुनोजेज  प्रमाणीत भएको उल्लेख गरिएको छ  । नेपालमा अझै पनि वार्षिक १५०–२०० नेपालीको रेबिजका कारण मृत्यु हुने गरेको पाइएको छ । नेपालका ८ भन्दा बढी जिल्लाहरुमा रेबिज रोग एन्डेमिक (खास बहुभौगोलिक क्षेत्रमा देखापर्ने ) रहेको छ । यस रोगको प्रसार नियन्त्रण गर्न पशुस्वास्थ्य तथा भेटेरिनरी जनस्वाथ्य शाखा /इकाइले सरोकारवालाहरुसँग समन्वय गरी सामुहिक रुपमा देश भरिका कुकुरहरुमा रेबिज विरुद्धको खोप लगाउने कार्य हरेक बर्ष गर्दै आएको छ ।

विशेष गरी एशियामा महामारीको सम्भाव्यता बोकेको बर्ड फ्लु (H5N1) बाट गतवर्ष  अप्रिलमा पहिलो पटक एक नेपालीको मृत्यु भएको  पुष्टी भैसकेको छ । त्यसैगरी हरेक वर्ष गर्मीयाममा विशेष गरी तराइमा हजारौ  मानिसहरु डेंगुबाट संक्रमित हुदै आइरहेका छन् । विशेष गरी काभ्रे लगायत विभिन्न जिल्लामा गर्भ तुहाउने र बाझोपन निम्त्याउने ब्रूसेलोसिस वा माल्टा ज्वरोबाट पनि नेपालीहरु संक्रमित भएको पाइएको छ, जुन रोग संक्रमित गाईभैसीको साल, तुहेको पाडाबाच्छासँगको सन्सर्ग र दुध राम्रोसंग नतताइ पिउनाले सर्दछ ।

यद्यपी  ब्रूसेलोसिस विरौको खोप पनि नेपालका केही जिल्लामा गाईभैसीमा लगाउने कार्यक्रम भैराखेका छन् । गाइभैसीमा क्षयरोग (टिबी) लगाउने जीवाणु (Mycobacterium bovis ) बाट पनि श्वासप्रश्वास प्रणाली बाहिर देखिने टिबी प्रशस्त मानिसमा लागेको देखिएको छ । यसैगरी सुँगुर/बंगुरको मासु राम्रोसँग नपकाइ खानाले न्युरोसिस्टिसकोर्सिस  नामक स्नायुप्रणालिको रोग पनि नेपालका सुंगुरको मासु (Pork) खाने समुदायमा देखिएको छ । यस्ता किसिमका अरु विभिन्न रोगहरुको  नियन्त्रण र निदान गरी स्वस्थ वातावरण, स्वस्थ मानिस र खाद्य सुरक्षा कायम गर्न भेटेरिनरी जनस्वास्थ्य कार्यालय को महत्वपूर्ण भूमिका छ । तसर्थ, भेटेरिनरी जनस्वास्थ्यले खाद्यवस्तु उत्पादन, खाद्य सुरक्षा जुनोजेज नियन्त्रण र वातावरणको सुरक्षाका साथै पशु कल्याणका क्षेत्रमा पनि सरोकार राख्दछ ।

अझै पनि विश्वमा बर्ड फ्लु, स्वाइनफ्लु, सार्स (SARS) जस्ता घातक र कोलिब्यासिलोसिस, साल्मोनेलोसिस जस्ता रोगहरुले हाम्रो वरिपरी रहेर पशुवस्तुलाई हानि गर्नका साथै मानिसलाई पनि सहजै आक्रमण गर्ने खालका रोगहरु निम्तिने क्रम जारी छ । यस्ता रोग फैलिइ सकेपछि महामारीको रुप लिने, अनि परीक्षण र उपचारमा विश्वभरिको जनजीवन र अर्थतन्त्र नै तहसनहस हुने गर्छ । त्यसकारण यस्ता रोगहरु पशुबाट मानिसमा फैलिइ सकेपछि ठूलो आर्थिक क्षति बेहोर्नु भन्दा श्रोतबाटै कसरी यस्ता रोग निर्मुल पार्ने भन्ने तर्फ सबैको ध्यान जानु  मानी हुने देखिन्छ ।

तसर्थ, माथिका सबै कुराबाट के प्रष्ट हुन्छ भने भेटेरिनरी जनस्वास्थ्यका क्षेत्रमा अनुसन्धानको पाटोलाई विशेष महत्व दिनुपर्ने तर यसका निम्ति स्रोत र साधनको उपलब्धता  नै मुख्य बाधक भएकोले यसको उचित व्यवस्था गर्न जरुरी देखिन्छ ।  विभिन्न भेटेरिनरी विषयका स्नातक तथा  स्नातकोत्तर पढाई संचालन गरिने  शैक्षिक संस्थाहरुमा पनि नयाँ र महत्वपूर्ण  अनुसन्धानलाई जोड दिई प्राध्यापक र विद्यार्थी दुवै पक्षको  हौसला  बढाउने कार्य गर्नुपर्ने देखिन्छ  ।

राष्ट्रले पनि भेटेरिनरी सेवालाई उचित मुल्यांकन गरेर  भेटेरिनरी पेशाको मूल्य र मान्यतालाई बुझी यस पेशाले सधै दिइराखेको सेवालाई शुद्धिढिकरण गर्न विभिन्न किसिमका योजना र कार्यक्रमहरु ल्याउनुपर्ने देखिन्छ ।  साथै नेपालको प्रशाशनिक संरचनामा परिवर्तन भएतापनि हाल केन्द्रमा मात्र भेटेरिनरी जनस्वास्थ्य इकाई रहेको छ ।

तर देशको प्रशाशनिक स्वरूप परिवर्तन भएसँगै  प्रदेश स्तरमा पनि त्यहाँ बाहुल्यता भएका जुनोजेस पत्ता लगाई, सोहि अनुसारका आवश्यक स्रोत र साधन व्यवस्थापन गरि भेटेरिनरी जनस्वास्थ्य प्रयोगशालाहरु स्थापना गर्नु जरुरि देखिएको छ । यसो गर्नाले विभिन्न ठाउबाट केन्द्रमा भेटेरिनरी जनस्वास्थ्यको चासो भएका सुचना प्रवाह प्रणाली पनि सहज र समयमै गर्न सकिन्छ भने लक्षित समुदायमा रोग नियन्त्रण गर्न समयमै भेटेरिनरी सेवा प्रदान गर्न सकिन्छ । यसरी भेटेरिनरी जनस्वास्थ्यले जुनोजेस नियन्त्रणमा अपेक्षित सफलता हासिल गर्न सकिने सम्भावना देखिन्छ ।

एक स्वास्थ्य रणनीति, २०७६ लागु भैसक्दा पनि भेटेरिनरी जनस्वास्थ्य  क्षेत्र अझै एक्लिएको भान हुन्छ । यस रणनीति मानव, पशुपन्छी र वातावरण स्वास्थ्य एक अर्कामा अन्र्तरनिहित छन् र कुनै एकमा आंच आएमा बाँकी दुवै पक्ष स्वस्थ हुन नसक्ने सिद्धान्तमा आधारित छ । यतीमात्र नभई विभिन्न संक्रमक पशुरोग नियन्त्रण ऐन, नियमावली तथा आदेश  तर्जुमा गरी छिटो भन्दा छिटो लागु गर्न नसक्दा भेटेरिनरी जनस्वास्थ्य अझै पछि पर्न सक्ने देखिन्छ ।

त्यसैले, स्रोतबाट नै  जुनोजेसलाई निर्मुल पार्न, वातावरणको रक्षा गर्न, मानव स्वास्थ्यको रक्षा गर्न, स्वस्थ र निर्वाध  आयात निर्यात आदि संचालन गर्न, खाद्य सुरक्षा दिलाउन र आर्थिक उन्नती गर्न भेटेरिनरी जनस्वास्थ्य, मानव जनस्वास्थ्य र वातावरण स्वास्थ्यका सरोकारवालाहरुले एकअर्काको दक्षता र ज्ञानको उचित प्रयोग गरी एकैसाथ अगाडी बढ्न  जरुरी छ ।

लेखिका डा. सबिना पोखरेल कृषि तथा वन विज्ञान विश्वविद्यालाय रामपुर, चितवनमा भेटेरिनरी चिकित्सा र जनस्वाथ्य विभागमा स्नातकोत्तर तहमा अध्यनरत हुनुहुन्छ ।


  • 21
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares
error: Content is protected !!