चितवनका व्यवसायीको कागती खेतीमा करोडौं लगानी

चितवन:
चितवनका घरजग्गा व्यवसायी गोवद्र्धन गौलीले कृषि फार्ममा चार करोड भन्दा बढी लगानी गरेका छन् । घरजग्गाको कारोबार अस्थिर र अनुत्पादक बन्दै गएपछि गौलीले लमजुङको सुन्दरबजार नगरपालिका–१ कुन्छामा आजभन्दा चार वर्ष अगाडिबाट चार करोड बढी लगानी गरेर कागती खेती सुरु गरेका हुन् । गत वर्ष १० देखि १२ लाख रुपैयाँको कागतीको विरुवा बिक्री गरेका उनले यस वर्ष ४० लाख रुपैयाँको कागतीको विरुवा मात्र बिक्री गरेका छन् । उनको कृषि फार्ममा सुन कागती–१, सुन कागती–२ र तेह्थुम लोकल जस्ता कागतीका विरुवा पाइन्छ । झण्डै २०० रोपनी क्षेत्रफलमा सञ्चालित उनको कृषि फार्ममा १६ जनाले  रोजगारी पाएको सञ्चालक गौलीले बताए ।

सुन्दर बजार नगरपालिकाका मेयर जनक मिश्रले गौलीको कृषि फार्म सबैको लागि एउटा राम्रो उदाहरण भएको बताए । उनले उत्पादक क्षेत्रमा गरेको करोडौं रुपैयाँको लगानीले सबै नगरबासीमा आशाको सञ्चार गराएको नारायणी अनलाइनलाई जानकारी दिए । मेयर मिश्रले भने, ‘ गाउँमा बाँझो भएका जमिनलाई चितवनदेखि आएर यसरी लगानी गर्दा सबै किसानलाई प्रोत्साहन भएको छ । लमजुङको ग्रामीण क्षेत्रमा पनि जागरण आएको छ ।’ चितवनमा बसेर व्यवसाय गरेका एक जना उद्यमशिलता भएको मानिस आफ्नो जन्मभूमि फर्किएर कृषि क्षेत्रमा लगानी गरेकोमा नगरपालिका खुसी भएको उनले बताए ।
व्यवसायी गौलीले आफ्नो कृषि फार्ममा पाँच हजार बोट कागती लगाएका छन् । त्यसैगरी अहिले सुन्तला खेती, बाख्रापालन र भैँसी पालनलाई पनि सुरु गर्न थालेका छन् । व्यवसायी गौलीले भने, ‘घरजग्गाको कारोबार अनुत्पादक भएकोले पनि उत्पादक क्षेत्रमा लगानी गरेको हो । ’ आफ्नो कागती खेतीको संरक्षण गर्नको लागि तीनवटा जेटीएलाई मासिक १५ हजार तलब दिएर राखेको उनले बताए । उनले भविष्यमा महिनाको १० लाख आम्दानी गरी सरकारलाई वार्षिक ४० लाख रुपैयाँ राजस्व तिर्ने लक्ष्य बनाएको छु । उनले लगाएको कागतीको पाँच हजार बोटमा ८० प्रतिशत फलिसकेको उनले बताए । सुन्दर बजार नगरपालिकाका मेयर मिश्रले गौलीले पहाडको टुप्पोमा धेरै तलबाट पानी तानेर पनि निकै मेहनतका साथ कागती खेती गरेको बताए । उनी जस्ता व्यवसायीहरुलाई राज्यले पनि प्रोत्साहन गर्नुपर्ने उनको विचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here