छुर्पीको मूल्य घटेपछि किसान मर्कामा

इलाम  – इलाममा विगत केही महिना यता छुर्पीको मूल्य घटेपछि किसान मारमा परेका छन् । जापान, अमेरिकादगमयत अन्तर्राष्ट्रिय बजारमा निकासी हुने छुर्पीबाट मनग्गे आम्दानी लिँदै आएका छुर्पी व्यवसायी मूल्य घटेपछि मारमा परेका हुन् ।

नेपालबाट अन्तर्राष्ट्रिय बजारमा प्रति महिना तीन टन छुर्पीको माग हुने गरेको थियो । विगतमा यसको माग धान्न नै धौ धौ पर्ने गरेको डेरी उद्योगीको भनाई छ । तर अहिले माग निकै कम भएको छ ।

यसअघि प्रति केजी हजारमा विक्री हुने गरेको छुर्पीको मूल्य अहिले प्रतिकेजी सात सय रुपैयाँ मात्र रहेको इलामको सन्दकपुर गाउँपालिका–४ माबु बालकृष्ण कृषि फामका प्रोप्राइटर बालकृष्ण गुरुङ्गले बताउनु भयो । उहाँले भन्नुभयो, ‘दुधको मूल्य बढी छुर्पीको मूल्य कम भएपछि लगानी डुब्ने डरले छुर्पीको उत्पादन नै कम गर्न थालेको छु ।’ संकलन गरेर लगेको छुर्पीको पाँच लाख रुपैँया रकम नपाएपछि पाँच बोरा छुर्पी गोदाममा नै थन्काएर राखेको गुरुङ्गको भनाई छ ।

छुर्पीबाट राम्रो आम्दानी हुन थालेपछि व्यापारी र उद्योगको सख्यामा वृद्धि भएको थियो । बजारीकरणमा प्रतिष्पर्धा भएपछि व्यापारीले गुणस्तरहीन छुर्पी संकलन गरी निकासी गरेकाले समस्या भएको हो । अहिले छुर्पीको माग विगतको जस्तो राम्रो छैन ।

शुन्य डिग्री फ्याटमा तयार पारिएका छुर्पी कुकुरका लागी उपयुक्त मानिन्छ । तर अन्तर्राष्ट्रिय बजारमा फ्याट सहित तयार पारिएका छुर्पी र राम्राे नसुकेका छुर्पी पुगेपछि छुर्पी खोक्रो हुने, कुहिने कुकुरले खाँदा विरामी हुने जस्ता समस्या भएकाले छुर्पीको माग ह्वात्तै घटेको छ ।

इलामका छुर्पी अन्तराष्ट्रिय हिमालय डेरी उद्योग विर्तामोड, कृष्ण डेरी उद्योग झापा, हिमालय डक च्यू कलेक्सन सेन्टर काठमाडौं र सिल्भर लिङ्क (आइएनसी) प्रालि काठमाडौं, एभरेष्ट प्रोडक्सन काठमाडौंलगायत निकासी हुने गरेको छ ।

इलाममा ५ सय ६५ वटा दुग्धजन्य डेरी,  चिज उद्योग घरेलु तथा साना उद्योग विकास समिति  मूख्य शाखा कार्यालय इलाममा दर्ता भई सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समिति इलामले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here