सुनसरी – तरकारी बालीको तुलनामा केराउबाट राम्रो आम्दानी हुनेहुदा सुनसरीको देवानगञ्ज–६ राजगञ्ज सिनुवारीका किसान केराउ खेतीतर्फ आकर्षित भएका छन् । अन्य बाली लगाउन स्याहार गर्ने तथा बजार समस्या भएपनि केराउको बजार र उत्पादन राम्रो हुने भएकाले केराउ खेतीतर्फ आकर्षण बढेको हो ।
राजगञ्ज सिनुवारी क्षेत्रका धेरै किसानले एक कट्ठादेखि एक बिघासम्मको क्षेत्रफलमा केराउ खेती लगाएको स्थानीय रामदेव मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिकट्ठा पाँचदेखि दस हजार रुपियाँ लगानी गरेपछि २० हजारदेखि ३० हजार रुपियाँसम्म आम्दानी हुने गरेको छ ।
किसानले सिँचाइ, कामदार र मलखादको अभावका बीच केराउ खेती गरेको स्थानीय सञ्जु मेहताले बताउनुभयो । राजगञ्ज सिनुवारी क्षेत्रका किसानले प्रत्येक वर्ष बाली परिर्वतन गर्दै राम्रो आम्दानी हुने बाली लगाउने गरेको बताइएको छ ।
स्थानीय किसान विद्यानन्द मेहताका अनुसार यहाँका किसानहरूले सिँचाइ समस्याका बीचमा भूमिगत पानीको प्रयोग गरी सिँचाइ गरेर केराउ खेती गरेका छन् । यहाँ उत्पादित केराउ देवानगञ्ज बजार र विराटनगरमा बिक्री हुने गरेको किसान देवनरायाण मेहताले बताउनुभयो । किसानहरूलाई आफ्नो बारीमै थोक बिक्रीका लागि गाउँपालिकाले पहल गरे राम्रो हुने तर्क किसान राधे मेहताको रहेको छ ।