बनेपा- विगत सात वर्षदेखि निरन्तर पुष्प व्यवसाय गर्दै आउनुभएका रमिला खड्काले यस वर्ष पनि फूल व्यवसायबाट राम्रो आम्दानी गरेको बताउनुभयो ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनागालमा विगत सात वर्ष अगाडिदेखि व्यावसायिक रुपमा नै खेती गर्दै आउनुभएका खड्काले मौसमी फूल खेती गरे रु ५० हजारभन्दा बढी आम्दानी गरिसकेको बताउनुभयो । उत्पादन गरेको फूल बनेपा र काठमाडौँको बजारमा बेच्दै आएकामा अब अलिअलि मात्रै बाँकी छ । उहाँले भन्नुभयो, “दुःख गरेअनुसार आम्दानी राम्रै छ ।” उहाँले तिहार लक्षित गरेर सयपत्री, गोदावरी र मखमली फूल उत्पादन गरी बिक्री गरेको बताउनुभयो ।
विगत सात वर्ष अगाडि शुरुमा ११ लाखमा टनेल निर्माण गरेरै पुष्पखेती गर्दै आउनुभएका उहाँले अरु विभिन्न जातका मौसमी तथा बेमौसमी फूलखेती गर्दै आइरहनुभएको छ ।
काभ्रेमा पछिल्लो समयमा व्यावसायिक पुष्पखेती गर्ने व्यवसायीको सङ्ख्या बढिरहेको फ्लोरिकल्चर एशोसिएशन नेपाल काभ्रे शाखाले जनाएको छ । शाखाका उपाध्यक्ष भेषराज दनुवारका अनुसार जिल्लाको रोशी गाउँपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, धुलिखेल नगरपालिका, पाँचखाल नगरपालिका, र भुम्लु गाउँपालिकामा व्यावसायिक पुष्पखेती गर्ने किसान रहेका छन् । “काभ्रेको अधिकांश भूभाग ग्रामीण क्षेत्र भएको कारण धेरैजसो किसानले आफूलाई प्रयोग गर्नको लागि र केही किसानले मौसमी तथा धार्मिक समयलाई लक्षित गरी फूलको खेती गरिएको कारण काभ्रेमा तिहारको लागि उपयोग गर्न फूल आयात गर्नै पर्दैन ।” दनुवारले भन्नुभयो ।
उहाँका अनुसार काभ्रेमार्फत् काठमाडौँको बजारमा तिहारको लागि दुई लाख सङ्ख्यामा पुष्प माला निर्यात गर्न सफल भएको छ । सो खेतीमार्फत् जिल्लामा गरिएको खेतीमार्फत् तिहारमा मात्र रु एक करोड नगद आम्दानी भइरहेको उहाँले बताउनुभयो ।
व्यावसायिक हिसाबले अगाडि बढिरहेको खेतीमा बर्खामा आएको बाढीका कारण कतिपय व्यवसायीको फर्ममा बाढीले क्षति पु¥याएको कारण भने जति आम्दानी गर्न नपाएको फ्लोरिकल्चर एशोसिएशन नेपाल काभ्रेका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताउनुभयो ।
जिल्लाका पुष्प व्यवसायीका अनुसार काभ्रेमा उत्पादन भएको रैथाने जातको पुष्प नरम पत्र भएकाले निर्यात गर्ने समयमा प्याकिङ उपयुक्तरुपमा नगरिने हुँदा फूलको पत्र खुम्चने समस्याको कारण पनि बजारी करणमा समस्या हुने गरेको बताएका छन् ।
Comments are closed.