इलाम – इलाममा यो वर्ष ७२ करोडभन्दा बढीको दूग्धजन्य पदार्थ निर्यात भएको छ । जिल्ला पशु सेवा कार्यलय इलामले दिएको तथ्याङ्क अनुसार जिल्लाबाट यस वर्ष दूग्धजन्य पदार्थ घ्यू र छूर्पी मात्र जिल्लाबाट ७२ करोड १९ लाख रुपैयाँ बराबरको निर्यात भएको पाइएको छ ।
कार्यालयका अनुसार यो वर्ष जिल्लामा २० करोड ७९ लाख रुपैयाँ बराबरको छूर्पीको कारोबार भएको छ भने ५१ करोड ४० लाख रुपैयाँ बराबरको घ्यू बिक्री भएको छ ।
इलामका स्थानीय बजारमा दूग्धजन्य उत्पादनको माग बढ्दै गएको छ । जिल्लाको व्यापारीक केन्द्र मानिएका स्थान फिक्कल, कन्याम र पशुपतिनगर बजारमा मात्रै दैनिक ५० हजार लिटरसम्म दूध बिक्री हुने गरेको स्थानियको भनाई छ ।
स्थानीय बजारमा दूधबाट अन्य उत्पादित ललिपप, चुर्पी, बम्बैसन र पनिर जस्ता खाद्य पदार्थको उत्पादन हुने गरेको छ । दुग्धजन्य उत्पादनको माग बढ्दै गएपछि यहाँका किसानहरुले आफ्नै आगनीमा स्वरोजगार बन्न समेत पाएका छन् ।
आन्तरिक पर्यटकले कोसेलीको रुपमा इलामबाट दुग्धजन्य उत्पादन खरिद गरेर लैजाने गरेकाले उत्पादित पदार्थले बजार पाउन सहज भएको छ ।
जिल्लामा करिव तीन सयको संख्यामा घरेलु तथा साना उद्योग मुख्य शाखा कार्यलय इलाममा दर्ता गरेर सञ्चालन भइरहेका दुग्धजन्य उद्योगहरुले दैनिक २५ हजार लिटरसम्म दूध खपत गर्ने गरेको जिल्ला पशु सेवा कार्यालय इलामले जनाएको छ ।
डेरी उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी जिल्ला र जिल्ला बाहिरका गरी ३ सय ५० जना भन्दा बढीले रोजगारी पाएका छन् ।