दाङ। दाङका कुखुरापालक किसान आन्दोलित भएका छन् । दाना र चल्लाको मूल्य बढे पनि आफूहरुले उत्पादन गरेको तयारी कुखुराको मूल्य झन् घटेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।
कुखुरा किसानले आफूहरु पटक–पटक अन्यायमा परेको भन्दै आगामी १२ गतेदेखि अनिश्चितकालका लागि कुनै पनि किसानले ब्रोइलरको चल्ला माग नगर्ने र कुखुरा नपाल्ने बताएका छन् । कुखुरापालक किसानको सङ्गठन किसान सरोकार मञ्चका अध्यक्ष विष्णुप्रसाद न्यौपानका अनुसार चल्ला र दानाको मूल्य सप्लायर्सहरुले अस्वाभाविकरूपमा बढाए पनि किसानले उत्पादन गरेको कुखुरामा भने अत्यधिक गिरावट आएको बताए ।
उनले आफूहरुको माग सम्बोधनका लागि दाना र कुखुराको चल्लाको मूल्य घटाउनुपर्ने वा उत्पादन भएका तयारी कुखुराको मूल्य बढाउनुपर्ने मुख्य माग रहेको बताए । किसानका समस्या सम्बोधन नभए कात्तिक १२ गतेबाट कुनै पनि कुखुरापालक किसानले चल्ला खरीद नगर्ने घोषणा किसानले गरेका छन् । यसलाई आफूहरुले कडाइका साथ पालना गर्ने उनीहरुको भनाइ छ ।
अहिले दाङभरि करीब दुई हजार किसानले कुखुरा पालिरहेका छन् । दाङमा प्रति हप्ता एक लाख २५ हजार चल्ला जिल्ला भित्रिने गरेका बताइएको छ ।