कास्की
गण्डकी प्रदेशको राजधानी पोखरामा पशु वधशाला निर्माणका लागि कार्यदल गठन गरिएको छ ।
वधशाला निर्माणका सम्बन्धमा आज पोखरा महानगरपालिका कार्यालयलको आयोजना तथा हेफर इन्टरनेशनलको समन्वयमा प्रदेश तथा महानगरस्तरीय प्रारम्भिक छलफलबाट महानगरका प्रमुख मानबहादुर जिसीको संयोजकत्वमा पशुवधशाला निर्माण कार्यदल गठन गरिएको हो ।
छलफलले सार्वजनिक, निजी र उपभोक्ता साझेदारी(पिपिसीपि)ढाँचामा निर्माण अघि बढाउन उपयुक्त हुने निश्कर्ष निकालेको छ । कार्यदलमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मासु व्यवसायी समिति, पोखरा उद्योग वाणिज्य सङ्घ, लेखनाथ उद्योग वाणिज्य सङ्घ, महानगरको पशु महाशाखा, पोखरा खसीबोका व्यवसायी समिति तथा उपभोक्ता मञ्चका प्रतिनिधि सदस्य छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका वातावरणमन्त्री विकास लम्सालले पोखरामा समस्याको रुपमा रहेको पशु वध गर्ने अव्यवस्थित प्रवृत्तिलाई अन्त्य गर्न वधशाला निर्माण अपरिहार्य रहेकामा जोड दिनुभयो । महानगर प्रमुख जिसीले कार्यदलले वधशाला निर्माणका लागि सरोकार भएकाहरुसँग निरन्तर छलफल गर्ने र आवश्यकतानुसार कार्यदल विस्तार गरिने बताउनुभयो । वधशाला निर्माणका लागि जग्गाको समस्या नरहेको र चालू आर्थिक वर्षमा सम्भाव्यता अध्ययनका लागि महानगरले रु ७० लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।
प्रमुख जिसीले महानगरबासीलाई आवश्यक पर्ने मासुका लागि महानगरका २० वडामा वर्षेनी आठ हजारका दरले खसीबोका उत्पादन गर्ने योजना अभियानका साथ अघि बढाइने बताउनुभयो । वधशालाका लागि आव २०७५÷७६ मा प्रदेश सरकारले रु पाँच करोड र सङ्घीय सरकारले रु तीन करोड बजेट विनियोजन गरेको सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।