काठमाडौं । असार १५ गतेसम्म देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । असार १४ गतेसम्म देशभर २७.१२ प्रतिशत भूभागमा धान रोपाई भएको छ जुन अघिल्लो वर्षको भन्दा ८ प्रतिशतले कम भएकाे कृषि विभागले जनाएकाे छ ।
कृषि विभागका अनुसार असार १४ गतेसम्म देशभर झण्डै तीन लाख ७१ हजार ९५८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । गत वर्ष यो अवधिमा चार लाख ८६ हजार हेक्टरमा धान रोपाइँ सकिएको थियो । बर्खा याममा नेपालभर १३ लाख ७१ हजार ७ हेक्टरमा धान खेती हुने विभागको भनाई छ ।
सयममै मनसुन सुरु भएको र मल बिउको उपलब्धताका कारण देशभर यसवर्ष रोपाइँ उल्लासमय रहेको विभागको दाबी छ । देशभरका ७७ जिल्लामध्ये रामेछापमा यस वर्ष कम पानी परेका कारण रोपाइँमा ढिलाइ भएको गुनासो विभागमा आएको छ । अन्य जिल्लाहरुमा भने रोपाइँ नियमित रुपमा चलिरहेको विभागको भनाइ छ ।
कुल धान उत्पादनको झण्डै ७५ प्रतिशत हिस्सा ओगट्ने प्रदेश दुईमा भर्खर रोपाइँ सुरु भएको विभागले जनाएको छ । कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ भने प्रदेश दुईमा सबैभन्दा कम १० प्रतिशत क्षेत्रधफलमा मात्रै रोपाइँ सकिएको छ ।