कैलालीको घोडाघोडी नगरपालिका–८, लठुवाका वसन्त रेग्मी गैरसरकारी संस्थाको लामो जागिरेबाट बिदा लिएर कृषि व्यवसायमा लागेको सात महिना मात्र भएको छ ।
व्यावसायिक बाख्रापालन र लोकल कुखुरापालन व्यवसायमा लाग्नुभएका रेग्मीले छोटो समयमै राम्रो आम्दानी गर्न थाल्नुभएको हो ।
विश्वव्यापी कोरोना महामारीका कारण जागिर गुमाएर घर आएका रेग्मी तीन/चार महिना त त्यत्तिकै बस्नुभयो । अन्य व्यवसाय गर्ने माहोल पनि थिएन । उहाँको दिमागमा एकाएक कृषि व्यवसाय गर्ने सोच आयो ।
कहिलै नगरेको के कसो हुने हो भन्ने मनमा दुविधा लिएका रेग्मीलाई साथ दिनुभयो उहाँको भिनाजु भीमलाल न्युरे अनि छिमेकी नरेन्द्र चौधरीले । तीन जनाले १०÷१० लाख लगानी लगाएर अहिले उहाँहरूले बाख्रापालन र कुखुरापालन व्यवसाय सुरु गरेको पनि पाँच महिना पुगिसकेको छ । न्युरे शिक्षण पेसा छोडेर यस व्यवसायमा लाग्नुभएको हो भने चौधरीले गैरसरकारी संस्थाको जागिर छोडेर कृषि व्यवसायमा लाग्नुभएको हो । अन्य व्यापार व्यवसायलाई कोरोनाले तहस नहस पारिरहेका बेला कृषि व्यवसाय नै उत्तम ठानेर सुरुमै फार्म दर्ता गरेर व्यवसाय सुरु गरेको वसन्तले बताउनुभयो । असार महिनामा कल्पवृक्ष एग्रोफार्म एण्ड रिसर्च सेन्टरका नाममा फार्म दर्ता गरेर तीस लाख लगानीमा कुखुरापालन र बाख्रापालन व्यवसाय सुरु गरेको हामीले प्रतिफल लिन थालेका छौँ, उहाँले भन्नुभयो ।
व्यवसायका विषयमा सामाजिक सञ्जाल युट्युबबाट जानकारी लिएर सुरु गरेको बताउँदै रेग्मीले भन्नुभयो, सुरुमा ३५० लोकल कुखुरा हालेका थियाैं, ती हुर्किएर पनि बेचिसक्यौँ, राम्रै हुँदो रहेछ पहिलो पटकमै ६० हजार फाइदा भयो । अहिले रेग्मीको दुईवटा खोरमा एक हजार २०० कुखुरा हुर्कंदै छन् भने बाख्राले समेत बगाल बढाउँदै छन् । तीनवटा बोयर जात र ४० वटा लोकल बाख्राबाट व्यवसाय सुरु गरेका उहाँको खोरमा छवटा पाठापाठी थपिसकेका छन् । आफ्नै डेढ बिघा जमिनमा बाख्रा र कुखुराको खोर बनाइएको छ भने बाख्राका लागि घाँस पनि लगाइएको छ ।