धुलाबारी – किसान किसानीबाट पर जाँदै गरेको अवस्थामा झापाका एक किसान कागती, फलफूलका बिरुवा तथा विभिन्न प्रजातिका रुखका बिरुवा बेचेरै करोडपति बनेका छन् भन्दा अचम्म लाग्न सक्छ ।
तर झापाका एक किसानले कृषिबाट नै त्यतिको आम्दानी हुन्छ भनेर प्रमाणित नै गरिदिएका छन् । उनी हुन्, मेचीनगर नगरपालिका–९ मागुरमाडीका किसान डिल्ली उप्रेती ।
नौ वर्षसम्म विदेशमा श्रम गरे अनि पसिना बगाए । त्यसपछि नेपाल फर्किएका उप्रेती आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती, फलफूल तथा विभिन्न प्रजातिका रुखका बिरुवा बेचेरै करोडपति बनेका हुन् ।
उनले अहिले वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६९ सालदेखि कागती खेतीबाट व्यवसायिक खेती सुरु गरेका उप्रेतीले अहिले वार्षिक झण्डै ६ लाख रुपैयाँको त कागतीका दाना नै बेच्ने गरेका छन् ।
बिरुवा उत्पादनको शैली र उन्नत जातका बिरुवा पनि सरल प्रविधिबाट उत्पादन गर्दै थोरै ठाउँमा मनग्गे आम्दानी गर्न सकिने उदहारण प्रस्तुत गरेका उप्रेती अहिले मेहनती किसानका रुपमा झापामा परिचित छन्।
उनले कृषि कर्मसँगै निजी वनको संरक्षण, सम्बर्द्धन र जैविक विविधतामा पुर्याएको योगदान स्वरुप यस वर्षको निजी वन राष्ट्रिय सान्त्वना पुरस्कार समेत प्राप्त गरेका छन् ।
डेढ लाख रुपैयाँको लगानीमा कृषि कर्म सुरु गरेका उप्रेतीले अहिले आफ्नो कारोबार करोडमाथि पुर्याएको बताएका छन् । उनले पाँच कट्ठा क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवा समेत लगाएका छन् ।
डेढ बिगाहा काँसघारी किनेर कागतीका बिरुवा रोपी त्यसैलाई मलजल गर्दै आम्दानी लिन थालेका छन् उनले । उप्रेतीले भने, ‘गर्न नसक्ने भन्ने केही छैन । तर इच्छा शक्ति भने चाहिँदो रहेछ ।’ उनलाई कृषि कर्ममा लाग्न श्रीमतीले प्रेरित गरेकी हुन् ।
कागतीलाई विभिन्न प्रजातिमा रुपान्तरण गर्दै उनले युरिका, चाइनिज, एनसीआपी ५५ नामाकरण गरेका छन् । वार्षिक २५ देखि ३५ हजार उत्पादित बिरुवा बिक्री गर्दै आम्दानीको स्रोतलाई अझ फराकिलो बनाएका छन् । उनले कागती कलमी गरेर गमलामा समेत फलाएका छन् ।
कलमी गरिएका र बिउ राखेर उमारेका कागतीका प्रतिबिरुवा ५० देखि ८५ रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनका बुबा लक्ष्मीप्रसाद उप्रेतीले बताए ।
उनले भने, ‘छोराको कर्मबाट म अति खुशी छु । आफ्नो सन्तानले प्रगति गर्दा कसलाई खुशी हुँदैन र ?’ विदेशमा गएर कमाएको भन्दा धेरै आम्दानी उनले घरमै कृषि कर्म गरेर लिइरहेका छन् । होटल व्यवस्थापन अध्ययन गर्दागर्दै उप्रेती सीप नसिकी हतार गर्दै कतार पुगेका थिए । उनले विदेशमा पाएको दुःख सम्झिएर यहाँ मेहनत गरिरहेका छन् ।
‘धेरै पैसा कमाउने लाचले कतार पुगेको थिएँ’, उनले भने, ‘नौ वर्ष विदेश बस्दा जति कमाएँ त्योभन्दा दशौँ गुणा बढी त मैले यहाँ पाँच वर्षमै कमाएको छु ।’
कागतीसहित तेजपात, मेवा, तरकारी, मलेसियन साल, टिकलगायतका बिरुवा उत्पादन उनको अर्को आय स्रोतको बाटो हो । उनी उन्नत जातका तरकारीका बिरुवा पनि उत्पादन गर्दै बिक्री वितरण गर्छन् । त्यस्तै गड्यौले मल बिक्रीबाट पनि उनको मनग्गे आम्दानी हुने गरेको छ । गड्यौले मल उत्पादनका लागि उनले छुट्टै मल घर बनाएका छन् ।
उनले कृषि व्यवसाय सुरु गर्दा कागतीको खेती गरेर के कमाई होला र ? भन्नेहरु अहिले उनीसँगै कागतीखेतीका विषयमा बुझ्न आउँछन् । उप्रेतीले उत्पादन गरेका बिरुवा र कागती मेची अञ्चलका विभिन्न जिल्ला तथा अन्य जिल्लामा पनि बिक्री हुने गरेको छ ।
-देश सञ्चारबाट साभार