आर्थिक वर्ष २०७४/७५ मा काठमाडौँ महानगरपालिकाले जथाभावी फोहर फाल्नेबाट रु पाँच लाख भन्दा बढी रकम असुल गरिको छ ।
महानगरका मुख्य ठाउँहरु कालीमाटी चोक, कलंकी चोक, बागबजार, पुतलीसडक, बल्खु, चाबहिललगायतका स्थानबाट जहाँतहीँ फोहर फाल्ने १८१ जनाबाट कारबाहीस्वरुप ५ लाख ६ हजार १५० असुल गरिएको हो ।
महानगर वातावरण व्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरका अनुसार कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याक्ने अन्य समयमा जथाभावी र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने १८१ जनालाई कारबाही गरेको हो ।
उहाँका अनुसार विशेष गरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको समयमा बढी मात्रामा फोहर फाल्ने गरिएको छ । हरेक दिन काठमाडौँ उपत्यकाबाट एक हजार मेट्रिक टन फोहर जम्मा हुने गरेको छ ।
विभागले जथाभावी फोहर फाल्नेबाट न्यूनतम रु ५०० देखि एक लाखसम्म जरिवानाको व्यवस्था गर्दै आएको छ । त्यसरी फोहर फाल्नेमा संस्थाभन्दा बढी व्यक्ति रहेका छन् । हरेक दिन कामपाले काठमाडौँ उपत्यकाको ८०० मेट्रिक टन फोहर व्यवस्थापन गर्दै आएको छ ।
अघिल्लो आर्थिक वर्षमा १४२ जनाबाट रु पाँच लाख असुल गरेको थियो ।