काठमाडौं – नेपाली उच्च हिमाली क्षेत्रमा पाइने जटामसीको सुगन्धित तेल प्रयोग भएका महँगा परफ्युम (अत्तर) र रक्सी नेपाल भित्रिन्छन् । नेपालबाट कच्चा पदार्थका रूपमा सस्तो मूल्यमा निर्यात भएका पदमचाल, सुगन्धवाल, चिराइतो, तेजपात, जटामसी, पाँचऔलेलगायतका जडीबुटी प्रयोग भएका महँगा औषधि तथा उपभोग्य सामानहरू नेपालले बर्सेनि आयात हुने गर्छ । उच्च हिमाली क्षेत्रमा पाइने जडीबुटीको औषधीय गुणले गर्दा त्यस्ता औषधिहरू जटिल रोगको उपचारमा प्रयोग हुने गरेका छन् । सस्तो मूल्यमा बिक्री गरिएका जडीबुटीबाट बनेका महँगा सामान आयात गरेर बर्सेनि नेपालको अर्बौं रुपियाँ विदेशिने गरेको छ ।
औषधीय गुण भएका र सुगन्धित तेल निकाल्न सकिने दर्जनौँ जडीबुटी नेपालमा अझै प्राकृतिक रूपमा पनि वन जङ्गलमा रहेका छन् । तिनको प्रशोधन गर्न नसक्दा कच्चा पदार्थका रूपमा बाहिरिने र तिनै जडीबुटीबाट बनेका महँगा चिजवस्तु नेपाल भित्रिने गरेकोले वनस्पतिलाई आर्थिक विकासको मेरुदण्डका रूपमा विकास गर्न नसकिएको हो । वनस्पति विभागका महानिर्देशक सञ्जीवकुमार राईका अनुसार यार्सागुम्बा र जटामसी भारतको हिमाञ्चल प्रदेश, तिब्बतको केही भाग र नेपालमा मात्र पाइन्छ । जसको माग विश्वव्यापी रूपमा बढ्दो छ ।
त्यसलाई प्रशोधन नगरेरै कच्चा पदार्थका रूपमा हाल नेपालबाट सस्तोमा बाहिरिने गरेको छ । महानिर्देशक राईले भन्नुभयो, यो नै हाम्रा लागि दुर्भाग्य हो । अन्तर्राष्ट्रिय बजारमा सस्तोमा बेच्छौँ, तिनै जडीबुटीबाट बनेको महँगा चिज हामी प्रयोग गर्न बाध्य छौँ ।
अन्तर्राष्ट्रिय बजारमा निकै माग भएका र नेपाली हावापानीमा व्यावसायिक खेती गर्न सकिने जडीबुटीको अध्ययन अनुसन्धान गरी विभागले १३ प्रकारका जडीबुटीलाई किसानका लागि सिफारिस गरेको छ । अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य भएका यार्सागुम्बा, गुच्ची च्याउ, पाँचऔले, जटामसी, कुट्की, पिपला, सर्पगन्धा, चिराइतो, लौठसल्ला, गुर्जौ, कालो मुसली, काकोली र सतुवालाई खेती प्रविधिमा लिन सकिने अध्ययनले देखाएको विभागका सूचना अधिकारी शिशिर पन्थीले जानकारी दिनुभयो ।
प्राकृतिक रूपमा वन जङ्गलमा भएको मौज्दात घट्दै जाँदा हावापानी र माटो अनुसार खेती गर्न सिफारिस गरिएका जडीबुटीको किन व्यावसायिक खेती हुन सकेन त रु महानिर्देशक राईले भन्नुभयो, जडीबुटी खेतीका लागि लामो समय र प्रशस्तै जग्गा चाहिन्छ, जग्गाको हदबन्दीलगायतका कारणले व्यक्तिहरूसँग त्यो अनुसारको जग्गा पनि पाउन मुश्किल छ । अनि मूल्य अभिवृद्धि ९भ्यालु एड० गर्नका लागि प्रशोधन गर्ने उद्योगधन्दा पनि नभएकाले यसतर्फ खासै आकर्षण नदेखिएको हो । कच्चा पदार्थका रूपमा मात्र निर्यात गर्दा फाइदा नहुने भएर ठूलो लगानी यस क्षेत्रमा देखिएको छैन ।
अन्य बाली जस्तै जडीबुटीको बजार स्थिर नभएको तर्क पनि उहाँको छ । सरकारी नीतिका कारणले बहुमूल्य जडीबुटीको नेपालमा खेतीपाती गर्न सकिने सम्भावनालाई सफलतामा परिणत गर्न नसकेको गुनाशो जडीबुटी व्यवसायीको छ । नेपालमा जडीबुटी खेती गर्दा सरकारले अनुदान, बीमा तथा गुणस्तर प्रमाणीकरण गर्ने व्यवस्था नगरकोले जोखिम लिन कसैले पनि आँट नगरेको जडीबुटी व्यवसायी गोपालबहादुर मल्लले बताउनुभयो ।
विभागले ३३ वटा बहुमूल्य जडीबुटीलाई नेपालका आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडीबुटी भनेर सूचीकृतसमेत गरेको छ ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा। विश्वनाथ ओलीले भन्नुभयो, नेपालमा पाइने जडीबुटीको सदुपयोग गर्नसके देशको अर्थतन्त्र उकास्न ठूलो मद्दत पुग्नेमा कुनै शङ्का छैन । प्राकृतिक अवस्थामा रहेका जडीबुटीको मौज्दातलाई दृष्टिगत गरी खेती गर्न सकिने महìवपूर्ण जडीबुटीलाई खेती विस्तार गरेर पनि निर्यात गर्न सकिन्छ ।
मन्त्रालयका अनुसार जडीबुटी स्रोतको सही व्यवस्थापन गर्नका लागि जडीबुटी स्रोत ऐन मस्यौदा भइसकेको छ । हाल विभागले जडीबुटीमा रहेका छवटा औषधीय तथा सुगन्धित तेलीय गुणको मापदण्डको प्रमाणीकरण गर्न थालेको छ । जसले गर्दा हिजोका दिनको भन्दा अहिले जडीबुटी नेपाली बजारमा महँगो बिक्री हुन थालेको बताइएको छ ।