काठमाडौं । बिमा समितिले चिया बिमालेख जारी गर्ने तयारी गरेको छ । कृषकहरूको मागलाई ध्यानमा राखी बिमालेख निर्माणको कार्य अन्तिम चरणमा पुगेको समितिले बताएको हो । तर, चियाखेतीको बिमा गर्न न्यूनतम ०.०५ हेक्टर क्षेत्रफलको जग्गामा खेती गरेको हुनुपर्ने समितिका उपनिर्देशक कुन्दन सापकोटाले जानकारी दिए ।
उनका अनुसार बिमा गर्ने चिया अधिकतम ७५० बोट (गाँज) सम्मको हुनुपर्नेछ । यस्तो भएमा चिया रोपिएको सुरुको वर्षदेखि नै बिमा गर्न सकिनेछ । चिया बिमालेखअन्तर्गत कृषकको दुर्घटना बिमा पनि हुनेछ । दुर्घटनाबाट कृषको मृत्यु भएमा २ लाख रुपैयाँ भुक्तानी हुनेछ ।
बिमालेखले रक्षावरण गर्ने जोखिमहरू
बिमालेखले बिमा अवधिभरि चियाखेतीमा कुनै हानिनोक्सानी भएमा बिमांक रकमको सीमासम्म वास्तविक क्षतिको ९० प्रतिशतसम्म क्षतिपूर्ति पाउन सक्छ । बिमालेखले आगलागी, चट्याङ, भूकम्प, बाढी, डुबान, खडेरी, पहिरो भू–स्खलन, आँधीबेहरी, असिना, हिउँ, तुषारो, आकस्मिक दुर्घटना, किरा तथा रोगबाट हुने हानिनोक्सानीबाट रक्षावरण गर्छ ।
दाबी भुक्तानी नगर्ने अवस्थाहरू
बिमितको परिवारको लापरबाहीका कारणले खेतीमा हानिनोक्सानी भएमा, कानुनी निकायको आदेशमा बिमा गरिएको चियाखेतीलाई नष्ट गर्नुपर्ने भएमा, चोरी भएमा, जग्गा नामसारी भएमा, बिमा गर्दा कृषकले झुटो विवरण दिएमा क्षतिपूर्ति हुँदा भुक्तानी गर्न कम्पनीमा बाध्य हुनेछैन ।
बिमालेख चियाखेतीमा हानिनोक्सानी भएको अवस्थामा क्षतिपूर्ति भुक्तानी गरे पनि बिमितले भने निश्चित सर्तहरू पालना गर्नुपर्नेछ । बिमा गरिएको चियाखेतीमा कुनै रोग किरा लागेमा कृषकले उचित रेखदेख तथा उपचार गरेको हुनुपर्नेछ । चियाखेतीलाई नियमित रूपमा रेखदेख गर्नुपर्नेछ । कृषकले नियमित कृषक डायरी अभिलेख राख्नुपर्नेछ ।
कसरी हुन्छ बिमांक गणना
चियाखेतीको बिमांक चियाको बोट संख्या, प्रतिकेजी वार्षिक औसत मूल्य र वार्षिक औसत उत्पादन प्रतिग्राम वा प्रतिगाँजका आधारमा कायम गरिन्छ । बिमा गर्दा कृषकले बिमांक रकमको ५ प्रतिशत बिमाशुल्क भुक्तानी गर्नुपर्छ । नयाँ चिया बगानको हकमा चियाको बेर्ना लगाइसकेपछि मात्र बिमा गर्नुपर्नेछ ।
बिमांक रकम सम्बन्धित जिल्लाको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यालय वा अन्य सरकारी निकायको कृषिसँग सम्बन्धित कार्यालयबाट प्रमाणित गराई बिमकसमक्ष पेस गर्नुपर्नेछ ।
कसरी गर्ने दाबी
बिमा गरेको चियाखेती हानिनोक्सानी भएमा १५ दिनभित्र कम्पनीलाई सूचित गर्नुपर्नेछ । दाबी गर्दा सक्कल बिमालेख, पूर्ण रूपले भरिएको दाबी फारम, प्राविधिकको प्रतिवेदन, गाउँपालिका, नगरपालिका वा वडा कार्यालयको सर्जमिन मुचुल्का, क्षति भएको चियाखेतीको फोटो र कृषकको डायरी अभिलेख प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।
बिमा अवधिभित्र कुल उत्पादनको ५ प्रतिशतभन्दा बढी क्षति भएमा मात्र बिमा दाबी भुक्तानी हुनेछ । खेती ८० प्रतिशतभन्दा बढी क्षति भएमा पूर्ण क्षतिअनुसार दाबी भुक्तानी गरिनेछ । यस अवस्थामा बिमा दाबी वार्षिक औसत मूल्यअनुसार भुक्तानी गरिनेछ । खेती काम नलाग्ने भई प्रतिस्थापन गर्नुपर्ने अवस्थामा बिमा दाबी वार्षिक औसत मूल्यअनुसार भुक्तानी गरिनेछ ।