१५ दिनमा १५० रुपैयाँ सस्तो भयो ब्रोइलर कुखुराको मासु

काठमाडौं । ब्रोइलर कुखुराको मासुको मूल्य फेरी सस्तिएको छ । आकस्मिक निषेधाज्ञाका कारण ब्रोइलर कुखुराको मासुको मूल्य सस्तिएको हो । सुरुआती लकडाउनले कुखुरा बिक्री गर्न नसकेका किसानले कुखुरा पालन नगरेपछि असारमा आइपुग्दा बजारमा मासुको अभाव भएको र मूल्य ३९० रुपैयाँ प्रतिकिलोसम्म पुगेको थियो ।

‘मूल्य आकासिएपछि किसानले उत्पादन बढाएको तर पुनः निषेधाज्ञा सुरु भएपछि मूल्य ओरालो लागेको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासु बिहीबारसम्म प्रतिकिलो २५५ रुपैयाँमा बिक्री भएको छ । सातामा तीन पटकसम्म मूल्य घटेपनि मासुको बिक्री नबढेपछि किसानहरु चिन्तित भएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

प्रतिकिलो २५५ रुपैयाँमा पनि मासुको खपत नभएपछि शुक्रबारबाट पुनः मासु सस्तो बनाउने निर्णय भएको संघले जनाएको छ ।

संघको बिहीबार बसेको बैठकले तयारी मासुको प्रतिकिलो मूल्य १५ रुपैयाँ घटाएर २४० मा झारिएको जनाएको छ ।

सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक साढे दुईदेखि तीन लाख किलो मासुको माग हुने गरेको संघले जनाएको छ । तर, लामो समय लकडाउनको कारण उक्त खपत आधिमा झरेको संघको भनाई छ ।

पछिल्लो १५ दिनमा मासुको मूल्य किलोमा १५० रुपैयाँले सस्तो भएको र घट्दो मूल्यका कारण किसानको लागत पनि नउठ्ने अवस्था आएको संघले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here