नवलपरासी, असार ६ – हुप्सेकोट ३ वेलहानीका कृषक थमन रजालीको जोश जागर र मेहनत देखेर सबै दगं छन । २३ वर्षको उमेर देखि तरकारी खेती शुरु गरेका थमन अहिले वार्षिक लाखौको आम्दानी गर्न सफल भएका छन ।
७ वर्षदेखि तरकारी खेती गर्दै आएका थमन पत्रकारीता विषय लिएर अध्ययन गरे पनि कृषिलाई आफ्नो पेशा बनाएर अगाडि बढेका छन । स्वतन्त्र पेशा कृषि मात्रै भएको हुँदा थमन यसतर्फ आकर्षित भएको बताउछन । ४७ हजारको लगानीमा १३ कठ्ठामा काक्रो लगाएर कृषि पेशा शुरु गरेका उनले पहिलो वर्षमा नै ७ लाखको काक्रो वेच्न सफल भएका थिए । अहिले ५० कठ्ठामा तरकारी लगाउने उनले गत वर्षमात्रै २० लाख आम्दानी गरेका छन ।
मौसम अनुसारका तरकारी लगाउदै आएका थमनलाई बजारको समस्या नभएपनि खेतीको लागि पानीको समस्या हुने भएकोले अहिले एक लाख लिटर क्षमताको पोखरीमा पानी जम्मा गरी थोपा सिंचाई प्रणाली अनुसार सिंचाई गर्दै आएका छन ।
थमन अर्गानिक एग्री र्फम संचालन गरी कृषि पेशालाई अगाडि बढाएका उनी विभिन्न पुरस्कारहरुबाट पनि सम्मानित भएका छन् । सरकारले युवाहरुलाई नेपालमा नै परिचालन गर्ने हो भने कृषि क्षेत्रमा आधुनिकीकरण गरी बजारको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको थमनको कथन छ ।