काठमाडाैं – सरकारले अब एक वर्षभित्रमा मुक्त हलियाको पुनर्स्थापना गर्ने अाश्वासन दिएकाे छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले पर्याप्त योजना र बजेट नभए पनि चालु आर्थिक वर्ष भित्रै उनीहरुकाे पुनर्स्थापना गरिसक्नु पर्ने बताएका छन् । सिंहदरबारमा भएको मुक्त हलिया पुनर्स्थापना सम्बन्धी अन्तर्क्रियामा मन्त्री खनालले मुक्त हलियाको यसै आर्थिक वर्ष भित्र पुनर्स्थापना गरिसक्ने गरी काम गर्न मन्त्रालय र सम्बन्धित निकायका पदाधिकारीहरूलाई निर्देशन दिए ।
‘मुक्त हलियालाई रकम दिने प्रकृया सहज बनाउनु पर्छ । छुटेकाको पनि तथ्याङ्क संकलन गरी समयमै आवश्यक गृहकार्य सक्नुपर्छ,’ उनले भने, ‘यसका लागि रकम पनि पर्याप्त छैन । अहिले नै काम अघि नबढाए योजना फेरी लथालिंग हुन सक्छ । त्यसैले सुरु गरेको कामलाई पहिले फत्ते गरिहालौँ ।’
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री अध्यक्ष रहेको समितिमा योजना आयोगका सदस्य, सरोकारवाला मन्त्रालयका अधिकार र मुक्त हलियाका प्रतिनिधिसहित १७ सदस्य छन् । अहिले पनि प्रदेश ६ र ७ मा मुक्त कमैयाको पुर्नस्थापना हुन सकेको छैन । जवकी सरकारले २०६५ साल भदौ २१ गते नै हलिया मुक्तिको घोषणा गरेको थियो । मन्त्रालयका अनुसार १६ हजार ३ सय २२ जना मुक्त हलियाको पुनर्स्थापना हुन बाँकी छ ।