देशभर ९० प्रतिशत राेपाइँ सकियाे, ५५ लाख मेट्रिक टन धान उत्पादन गर्ने कृषि मन्त्रालयकाे लक्ष्य

काठमाडाैं – 

देशभर अहिलेसम्म करीब ९० प्रतिशत धान रोपाईं सम्पन्न भएको कृषि विकास मन्त्रालयले जानकारी दिएकाे छ । कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भूभागमा राेपाईँ सम्पन्न भैसकेकाे छ ।

गत आर्थिक वर्षमा देशभर ५१ लाख ५१ हजार मेट्रिक टन धान फलेकामा अहिले करीब ५५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । आव २०७३/७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको अभिलेख मन्त्रालयसँग छ ।

गत वर्ष साउनको दोस्रो साता (यही अवधि) सम्म ७७ प्रतिशत मात्र रोपाईं भएको थियो । अघिल्लो वर्ष भदौ १३ गतेसम्म ९५ प्रतिशत रोपाईं भएकामा यस वर्ष साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाईं हुने अनुमान मन्त्रालयले गरेको छ ।

मुलुकमा १५ लाख ५२ हजार हेक्टर जमीनमा धानखेती गरिन्छ । धान उत्पादनमा करीब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने तथ्यांक छ । तीन दशकयता धान उत्पादनको दर प्रतिवर्ष करीब चार प्रतिशतले वृद्धि हुने गरेको पाइएको छ ।

असार महिनामा मौसम सक्रिय भएको र त्यसपछि पनि छिटफुट वर्षा भइरहेकाले रोपाइँ मुलुकभर नरोकिएको कृषि मन्त्रालयका सहप्रवक्ता शङ्कर सापकोटाले जानकारी दिए । उनले साउन महिनाभर सतप्रतिशत रोपाइँ हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here