spot_img

 पशुमा लाग्ने रोग नियन्त्रणका लागि ३८ हजार सुँगुर मारियो

चीनमा सुँगुरबाट सोही जातका चौपाया फैलिने ज्वरो (अफ्रिकन स्वाइन फेभर) को प्रकोप नियन्त्रणका लागि ३८ हजारभन्दा बढी सुँगुर मारिएको चिनिँया समाचार समिति सिन्ह्वाले आइतबार जनाएको छ ।

विश्वको सबैभन्दा धेरै सुँगुर उत्पादक राष्ट्रका विभिन्न भागमा अफ्रिकन स्वाइन फेभरको प्रकोप देखिएपछि रोग नियन्त्रणका लागि उक्त उपाय अवलम्बन गरिएको हो ।

रोगको समस्या चीनका विभिन्न पाँच प्रान्तमा देखिएको सिन्ह्वाले चिनियाँ कृषि मन्त्रालयलाई उद्धृत गरी उल्लेख गरेको छ । चीनले अफ्रिकन स्वाइन फेभरको पहिलो बिरामी यही बर्षको अगस्टमा उत्तरपूर्वी लायोनिङ प्रान्तमा भेटिएको जनाएको छ । रोग लायोनिङबाट दक्षिणी क्षेत्रमा करिब एक हजार किलोमिटर टाढा भेटिएको थियो । यसबाट चीनका सबै सुँगुर फार्मलाई रोगबारे चनाखो बनाइएको थियो ।

अफ्रिकन स्वाइन फेभर मानव जीवनका लागि खतरा नभएपनि घरपालुवा सुँगुर तथा सोही जातका जङ्गली जनावरमा सर्ने र सरेको केही हप्तामा मस्तिस्क आघात भई अन्ततः मृत्युको कारण बन्ने बताइएको छ ।

रोग नियन्त्रणका लागि खोप वा अन्य कुनै बिषनासक औषधी नभएकोले सङ्क्रमण देखिएका पशुलाई मार्नु नै रोग फैलिनबाट रोक्ने उपाय भएको जनाइएको छ । बेइजिङले रोग फैलिनबाट रोक्न आकस्मिक योजना ल्याइएको जनाएको छ । संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनले गत मे मा एउटा सूचना जारी गरी रूसबाट उक्त रोग फैलिने खतरा रहेको भन्दै आवश्यक सावधानी अपनाउन चेतावनी दिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार