म्याग्दीको केरा खेतीमा खपटे घुनको प्रकोप

म्याग्दी । म्याग्दीमा केराखेतीमा रोग र किराको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मङ्गला र मालिकाका विभिन्न स्थानमा गरिएको केरा खेतीमा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो ।

व्यावसायिक रूपमा गरिएको केराखेतीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित भएका छन् । केरा उत्पादनको पकेट क्षेत्र मानिने खबरा गाउँमा खपटे घुनले सयौँ रोपनी क्षेत्रफलमा लगाइएको केराका बोट सुक्न थालेका छन् ।

केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका कृषक केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित बनेका हुन् । प्रकोपबाट पसाएका केरामा दाग देखिने, केराका बोट सुक्दै जाने, पहेँलो हुने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेशा नै संकटमा पर्न थालेको कृषकको दुखेसो छ । पटक पटक कृषि ज्ञान केन्द्रमा जाँदा पनि कृषि प्राविधिकहरुले वास्ता नगरेको कृषकको भनाइ छ ।