सकियो चल्ला होलिडे, ४० लाख चल्ला बन्ने ६० लाख गर्भ अवस्थाको निशेचित अण्डा नष्ट

काठमाडौं । ब्रोइलर कुखुराको चल्ला उत्पादकहरूको दश दिन लामो ‘चल्ला होलिडे’ आइतबार सकियो । बजारमा चल्लाको मागभन्दा उत्पादन धेरै भएपछि नेपाल ह्याचरी उद्योग संघ चल्ला होलिडेका नाममा जिउँदा चल्ला मार्ने र अन्डा नष्ट गर्ने अभियान चलाएको हो ।

यस अभियानका क्रममा ४० लाख चल्ला बन्ने ६० लाख गर्भ अवस्थाको निशेचित अण्डा नष्ट गरिएको छ ।

तरकारी र दूध किसानले आफ्नो उत्पादनले बजार नपाएर आफ्नै उत्पादन सडकमा पोख्ने प्रचलन विगतमा देखिएको भए पनि कुखुराको व्यवसायमा पहिलोपटक यस्तो प्रयोग गरिएको हो ।

नेपाल ह्याचरी उद्योग संघको दाबीअनुसार एउटा चल्ला उत्पादन गर्न उद्योगको ५० रुपैयाँ, अण्डाको लागि १३ रुपैयाँ र २२ सय ग्रामको कुखुरा उत्पादन गर्न १७५ रुपैयाँ खर्च गर्नुपर्छ । लागत अनुसार उद्योगीले बजार नपाएको उनीहरू बताउँछन् ।

‘बजार नपाएका कारण कृषकको खोरमा ४ किलोसम्मका कुखुरा नबिकेर थन्किएका छन् । अहिले ८ रुपैयाँमा अण्डा, १५ देखि २० रुपैयाँमा चल्ला र २२ सय ग्रामको कुखुरा १२० रुपैयाँमा बेच्नु परेको कुखुरा व्यवसायीको भनाई छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको दाबी अनुसार काठमाडौं उपत्यकामा किसान र मासु व्यवसायीबीच मूल्यमा अन्तर छैन । तर तराईका जिल्लाहरूमा कुखुरा उत्पादकहरूले मूल्य नपाएको हुनसक्ने संघका अध्यक्ष जगंबहादुर बीसीले बताए ।

काठमाडौं उपत्यकामा असोजमा प्रतिकिलो तयारी मासुको मूल्य ३ सय, कार्तिकमा २ सय ७० तथा दुई साताअघि २ सय ५० र अहिले २ सय ७० तोकिएको संघले जनाएको छ । उपत्यका वरपरका किसानबाट किनेको कुखुरामा ५ देखि ७ प्रतिशतमात्रै नाफा राखेर उपभोक्तालाई बिक्री गरिएको संघका अध्यक्ष बीसी बताउँछन् ।
‘उपत्यकाको तुलनामा बाहिर तयारी मासुको मूल्य झनै सस्तो छ’, उनले भने ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले ह्याचरी उद्योगीको आन्दोलनको असर अण्डा र मासुमा पर्ने बताए ।

‘यो मूल्य बढाउने सिन्डिकेटपूर्ण आन्दोलन हो’, उनले भने । मूल्यवृद्धिका लागि विभिन्न आन्दोलन भए पनि सरकार मौन बस्ने गरेको उनको आरोप छ । बजारको माग र व्यवसायीको उत्पादनबारे सरकारले कुनै गृहकार्य नगर्दा यस्तो समस्या देखिएको महर्जन बताउँछन् ।

‘तत्कालका लागि सिण्डिकेट गरेको आरोपमा व्यवसायीहरू विरुद्ध कारबाही चलाउनु पर्छ’, उनले भने ।

बजारमा कृत्रिम अभाव सृजना गरेर उपभोक्ता हितविपरीत काम गरेकाले ह्याचरी उद्योगीविरुद्ध कारबाही गर्नुपर्ने उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना बताउँछन् । बजारमा आफै मूल्य तोक्न छुट भएका व्यवसायीले सरकारी कमजोरीको फाइदा उठाएर दादागिरी देखाएको उनले आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here