सैलेश श्रेष्ठ
बोट बिरूवा तथा पशुपछीबाट प्राप्त हुने पराल, छवाली, गोबर, विभिन्न घाँपातहरू, खरानी, चुन आदिलाई नियमित तवरले तह–तह पारी क्रमैसँग राखी पटक–पटक पल्टाएर कुहाई तयार पारिएको मललाई कम्पोष्ट मल भनिन्छ ।गोठेमोल जस्तै यो पनि प्राङ्गारिक मल हो।
कम्पोष्ट मलका फाईदाहरू:-
यसले बोट बिरूवाहरूको लागि आवश्यक पर्ने विभिन्न किसिमका खाद्य तत्वहरू प्रदान गर्दछ ।
यसले माटोको पानी सोस्ने क्षमता बढाउँछ।
यसले माटोको भौतिक, रासायनिक र जैविक गुणलाई सुधार्छ ।
यसको प्रयोगले माटोमा हावा तथा पानीको आवागमन तथा निकास राम्रो हुन्छ ।
कम्पोष्ट मल माटोमा धेरै समय सम्म रहिरहन्छ ।
यसले शूक्ष्म जिवाणुहरूको संख्यालाई बढाउँछ ।
यो मल आफुलाई पायक पर्ने ठाउँमा तयार गर्न सकिन्छ।
कम्पोष्ट मल बनाउन चाहिने सामग्री:-
कम्पोष्टमल बनाउन विशेषगरी दलहन बालीको अवशेष एवम् मकैको ढोड, नल, पराल आदिको प्रयोग गरिन्छ । कम्पोष्टमल बनाउन प्रयोग गरिने सामग्रीहरू कलिलो र नरम हुनुपर्दछ । कम्पोष्टमल बनाउन प्रयोग गरिने सामग्रीहरूलाई मुख्यतः दुई भागमा बाँड्न सकिन्छ । ती हुन् :
(क) असल गुणस्तरका वस्तुहरु
– दलहन बालीको अवशेष (जस्तै सिमी, बोडी, गहुत, भटमास, मास, , मुसुरो, ढैँचा, सनाई, लसुन, आदि),
– कलिला झारपात, जलकुम्भी, अँसुरो, तीतेपाती, खिर्रो, बनमारा, चिलाउने, उत्तीस, ठूलो भटमास, सानो भटमास आदिका पातहरू,
– भान्साबाट निस्कने वस्तु एवं कसिङ्गर,
(ख) कम गुणस्तरका वस्तुहरु
– नल, पराल, मकैको ढोड, भुस, काठको धुलो, सल्लाको पात आदि ।
कम्पोष्ट मल बनाउन जोरनको प्रयोग
कम्पोष्ट मल बनाउन जोरनको प्रयोग गर्नुपर्दछ । जोरनका लागि गोबर र मूत्रको घोल, गोबर ग्यासबाट निस्केको लेदो, पाकेको वा आधा पाकेको गोठेमलको घोल, पुरानो कम्पोष्ट खाडलको माटो, वनको माटो, पोखरीको माटो आदिको प्रयोग गर्न सकिन्छ । त्यस्तै चुन , खरानी, युरिया, हाडको धूलो आदि पनि जोरनका रूपमा प्रयोग गर्ने गरेको पाइन्छ ।
कम्पोष्टमल बनाउने तरिका:-
अवस्थाअनुसार कम्पोष्टमल तीन किसिमले बनाउन सकिन्छ:-
• खाडल विधि – सुक्खायाम वा हिउँदमा खाडल विधिबाट कम्पोष्टमल बनाउनु उपयुक्त हुन्छ ।
• थुप्रो विधि – वर्षायाममा थुप्रो विधिबाट मल बनाउनु उपयुक्त हुन्छ ।
• अर्धखाडल विधि – अर्ध–खाडल विधिबाट कम्पोष्टमल बनाउनका लागि खाडलको गहिराइ कम गरिन्छ । यो विधि पानी भेटिने ठाउँका लागि उपयुक्त हुन्छ ।
खाडलमा कम्पोस्ट मल बनाउँदा खाडल दुई हात अर्थात् एक मिटर भन्दा बढी गहिरो बनाउनु हुँदैन । त्यस्तै चौडाइ पनि दुई हात भन्दा बढी हुनु राम्री हुँदैन । लम्बाइ भने आवश्यकता अनुसार जति पनि बनाउन सकिन्छ । एक मिटर गहिरो, एक मिटर चौडा र एक मिटर लामो खाडल वा थुप्रोबाट करिब ४० डोको कम्पोष्टमल बनाउन सकिन्छ । त्यसैले आफूलाई कति मल चाहिएको हो सोही अनुसारको खाडल वा थुप्रो बनाउनु पर्दछ ।
कम्पोष्टमल बनाउँदा सामग्री मिलाउने तरिका:-
• कम्पोष्ट बनाउन प्रयोग गरिने वस्तु काटेर स–साना टुक्रा बनाएर मात्र राख्नुपर्दछ ।
• कम्पोष्ट मल बनाउने सामग्री जति मसिनो भयो त्यति नै छिटो र सजिलोसँग कुहिन्छ ।
• कम्पोष्ट बनाउन प्रयोग गरिएको वस्तुमा चिस्यान हुनुपर्दछ । चिस्यान कम भएमा पानी छर्कनुपर्दछ भने धेरै ओसिलो (चिसो भएमा सुक्खा वस्तु मिसाएर राख्नुपर्दछ ।
• दायाँ चित्रमा देखाइए जस्तै करिब एक बित्ता बाक्लो हुने गरी कम्पोष्टमल बनाउने वस्तु राखे पछि त्यसमा जोरन प्रयोग गर्दै जानुपर्दछ ।
• खाडल भरिए पछि माटो वा अन्य वस्तुले माथिबाट छोप्नुपर्दछ वा टाल्नुपर्दछ ।
• जाडो याममा वा चिसो ठाउँमा भने कालो प्लाष्टिकले ढाक्नु उपयुक्त हुन्छ।
• आवश्यक पानी उपलब्ध हुन नसक्ने गर्मी याममा वाष्पीकरण बढी हुने र वायुमण्डलीय आर्द्रता कम हुने समयमा चिस्यानको व्यवस्थाका लागि निम्न कुराहरूमा विचार पुर्याउनुपर्दछ;-
वाष्पीकरण कम गर्न खाडल विधिबाट कम्पोष्टमल बनाउने,
रूख वा काँन्लाको छायाँमा कम्पोष्ट खाडल खन्ने कम्पोष्ट खाडलबाट हुने वाष्पीकरण कम गर्न खाडलको वरिपरि छायाँ दिने खालका बिरुवाहरू लगाउने ।
खाडल माथि छानो बनाइएको छ भने हिउँदे सिमी जस्तै लहरे कोसेबाली वा लहरे तरकारी बाली लगाउन सकिन्छ।
मल बन्ने प्रक्रिया शुरु भए– नभएको जान्ने तरिका:-
फलामको डण्डी अथवा काठको लट्ठी खाडलको ३० देखि ६० से.मि. भित्र पुग्ने गरी घुसारेर ५ देखि १० मिनेटसम्म राख्नुपर्दछ र झिकेर छाम्नु पर्दछ । यदि तातो अनुभव नभएमा कुहिने प्रक्रिया सुरु नभएको भनेर जान्नुपर्दछ ।
कम्पोष्टमल पल्टाउने काम
राम्रो र छिटो कम्पोष्टमल बनाउन खाडल वा थुप्रोमा राखिएको वस्तुलाई पल्टाउनु पर्दछ ।
सामान्यतया मल बनाउन सुरु गरेको डेढ महिनामा पहिलो पटक र त्यसको एक-डेढ महिना पछि दोस्रो पटक गरेर दुई पटक मल पल्टाउनुपर्दछ । जाडो याममा वा लेकाली क्षेत्रमा भने मल पल्टाउने काम ३ पटकसम्म गर्नुपर्ने हुन्छ।
पाकेको मलको पहिचान गर्ने तरिका:-
मल कालो अथवा खैरो रङ्गको, गन्धहीन, छाम्दा फिस्स जाने र हातमा नटाँसिने भएमा,
खाडल वा थुप्रोमा गँड्यौला र ढुसी देखिएमा,
कुन–कुन वस्तुहरू कुहिएर कम्पोष्ट बनेको हो सो नचिनिने भएमा ।
कम्पोष्ट मल तयार हुन लाग्ने समय तापक्रम, चिस्यान, प्रयोग गरिएका सामाग्रीमा भर पर्दछ । तर सामान्यतया ३महिनामा कम्पोष्टमल तयार हुन्छ ।
अन्त्यमा, जलवायु परिवर्तनको असरले कृषि क्षेत्रमा विभिन्न समस्या बढाइरहेको सन्दर्भमा कम्पोस्ट मल कृषि क्षेत्रका लागि एउटा गतिलो अनुकुलन प्रविधि सावित हुन सक्छ।
– लेखक श्रेष्ठ हाल कृषि तथा बनबिज्ञान बिश्वविद्यालय, रामपुर, चितवनकाे स्नातक तहमा अध्ययनरत छन् ।