
नेपालमा पछिल्लो वर्षको तथ्यांक (२०१९) अनुसार करिब १५ लाख हेक्टर जमिनमा धान खेती गरिएको थियो । जहाँ कुल धान उत्पादन भने ५५ लाख मेट्रिक टन भएको थियो (२०१८ को बर्ष भन्दा १.७ प्रतिशतले उत्पादनमा घटेको पाइन्छ) ।
त्यस्तैगरी धानको आयात वर्ष २०१९ मा ७५० टन रहेको छ । अबको आउदो वर्षहरुमा आयात दर थप वृद्धी हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा मात्र नेपालले करिब २५ अरब रुपैयाँ धानको आयातमा खर्र्च गरेको छ ।
यस हिसाबले नेपालमा उत्पादन र खपतको तारतम्य नमिलेको प्रष्ट देखिन्छ र यही हिसाबले धानको आयात भइरहने हो भने यसले थप ब्यापार घाटा बढाई आर्थिक चुनौती थप्न सक्ने देखिन्छ । तसर्थ नेपालमै खपत हुने धानको खेतीदेखि धान खेतीमा उन्नत प्रविधिको प्रयोग गरि उत्पादन वृद्धि गर्नु आजको आवश्यकता हो ।
धानको उत्पादन वृद्धिको लागि गुणस्तरीय बीउ बिजन को प्रयोग, उचित मात्रा र सहि तरिका बाट मलखादको प्रयोग, समयमा गोडमेल, सिँचाई, उचित बालि संरक्षण र सही अवस्थाको कटानी प्रमुख शर्तहरु हुन् । धान खेती नेपालमा निर्वाहमुखी भएको अवस्थामा यी प्रमुख शर्तहरुको अनुशरण निकै नै न्यून रहेको छ ।
१. उन्नत बीउ बिजन
नेपालमा गरिने धान खेतीको लागि आवश्यक पर्ने धेरै जसो बीउ अनौपचारिक तवरबाट आउने गर्दछ । यस्तोमा कृषक आफैले राखेको बीउको हिस्सा ठूलो रहेको छ । किसानहरुले प्रयोग गर्ने स्थानीय जातका बीउको उत्पादन क्षमता कम रहनुका साथै व्यवसायिक रुपमा लाभदायी नहुने देखिन्छ । यस्ता बीउ बिजनहरुको उचित बीउ परीक्षण नहुने भएको कारणले त्यसबाट हामीले जातिय, भौतिक रुपमा पनि उचित उत्पादन लिन सक्दैनौ ।
त्यसमाथि रोग किराको आक्रमण र कम उत्पादन क्षमताले पनि उचित उत्पादन हुन सक्दैन । यस्तोमा गुणस्तरीय बीउ बिजनको प्रयोग सफल धान खेतिको पहिलो र महत्वपूर्ण शर्त हो । बीउ गुणाको बोट, बोट गुणाको उत्पादन भने झै गुणस्तरिय बीउ बाट आएको उन्नत जातको बिरुवाले मात्र उचित उत्पादन दिने गर्दछ ।
पछिल्लो समय बढ्दै गरेको जनघनत्वको खाद्यान्न माग पूरा गर्न उन्नत जातको गुणस्तरिय बीउको प्रयोग अत्यन्तै प्रभावकारी हुने देखिन्छ । गुणस्तरिय बीउ सिफारिस गरिएको क्षेत्रमा प्रयोग गर्दा धेरै मात्रामा बिरुवाको जनसङ्ख्या प्राप्त गर्न सकिने, झार नियन्त्रण हुने, बिरुवाको उच्च वृद्धी हुने, मलसँग राम्रो प्रतिकृया दिने, कटानी पछि ब्यवस्थापनमा सहज हुने, बीउको मात्रा कम लाग्ने , प्रारम्भिक बाली विकास, प्रतिकुल मौसमको सामाना गर्ने क्षमता, किट र रोग प्रतिरोधात्मक क्षमता जस्ता विशेषता भएकाले उत्पादनमा १५ देखी २० प्रतिशत वृद्धि हुने गर्दछ ।

२. बाली चक्र
एउटै खेतमा एक पछि अर्को बाली लगाउने क्रमलाई बाली चक्र भनिने गरिन्छ । निर्वाहमुखी खेतिमा माटोको उर्वराशक्ति कायम गरिराख्न र वर्षेनी बालीमा लाग्ने रोग किरा बाट जोगाउन प्रयोग हुने एउटा मुख्य बिधिको रुपमा वाली चक्रलाई लिने गरिन्छ । एउटै खेतमा एउटै बाली लगाइ राख्दा झारहरु,किट र रोगहरुको प्रकोप, माटोको उर्वराशक्तिमा कमी, पारिस्थितिक असन्तुलन, विषादी प्रतिरोधात्मक जस्ता थुप्रै समस्याहरु देखिने गर्छन् ।
ढैँचा,बोडी,मसुरो,बाज्रा जस्ता बाली धान खेती अघि लगाउँदा यसले खाद्यतत्व उपलब्ध गराउने सँग सँगै रोग किराको चक्र तोड्न पनि सहयोग गर्दछ । बाली परीक्रमा गर्नाले किट रोगहरुको चक्रलाई तोडेर माटो को उर्वराशक्ति बढाउने काम पनि गर्छ जस्ले धान उत्पादनमा महत्वपूर्ण भूमिका खेल्नुका साथै किसानहरुमा दुई वटा बालिको आर्थिक लाभ पनि हुने गर्दछ ।
३. मलको ब्यवस्थापन
धान उत्पादन वृद्धिको अर्को महत्वपुर्ण पाटो मलखाद ब्यवस्थापन हो । उन्नत जातहरुको उत्पादन क्षमता अनुरुपको उत्पादन लिनको लागि मलखादको उचित प्रबन्ध गर्नु पर्दछ । नेपालमा बर्णशंकर जातहरुको प्रयोग बढदो रहेको छ । धान एवं मकैमा बर्णशंकर जातहरुको माग उच्च रहेको छ र नेपाल सरकार अन्तर्गतका इकाईहरुको प्राथमिकतामा पनि बर्णशंकर जातहरुको विकास रहेको अवस्थामा नेपालमा अबको दिनमा मलखादको उच्च माग एवम खपत हुने देखिन्छ ।
मलखादको उचित प्रयोग बिना बर्णशंकर जातहरुको उत्पादन उल्लेख्य वृद्धि गर्न असम्भव प्राय हुन्छ । नेपालमा मलखाद उत्पादन गर्ने कारखाना नहुनु र बाहिरी मुलुक सँग पूर्ण रुपमा निर्भर रहनुपर्ने वर्तमान अवस्थामा मलखाद माग पूर्ति गर्नु अर्को ठूलो चुनौती हुने देखिन्छ ।
हाल नेपालमा खेती हुने बाली र तिनमा सिफारिस गरिएको मलखादको मात्रा हेर्ने हो भने बार्षिक ३९ लाख मेट्रिक टन माग रहेको छ । धानलाई मात्र जम्मा जम्मी ७.५ लाख मेट्रिक टनको माग हुँदा वर्ष २०७६/२०७७ मा ४.५ लाख मेट्रिक टन मात्र आयात हुनुले पनि नेपालमा उन्नत धानका जातले पनि उचित खाद्यतत्व पाएको छैन भन्ने प्रस्ट देखिन्छ । माथि दिएको तथ्याङ्कसँग तुलना गर्दा निकै कम मात्रामा मलको प्रयोग भएको देखिन्छ जस्ले उन्नत बीउ बिजन को उत्पादन क्षमतालाई प्रभावकारी ढंगले उपयोग गर्न सकेको देखिदैन ।
नेपाल सरकारले वार्षिक रुपमा अनुदानमा दिन आयात गर्ने मलखादले देश भर चाहिने मलको एक चौथाई माग मात्र पुरा गर्ने हुँदा माग अनुसारको मल पु¥याउन सकि रहेको छैन । खेतिको बेलामा समयमै मल नआउने, आएपनि कुनै क्षेत्रसम्म मात्र सिमित हुने र मल पाउन किसानलाइ निकै नै कष्टकर भएको देखिन्छ ।
त्यस्तै सरकारले अनुदानमा मलखाद वितरण गर्न वर्षेनी अर्बौ रुपैयाँ खर्चदै आएको छ जुन आगामी दिनमा अझ बढ्ने निश्चित प्राय छ । यस्तोमा धानको उत्पादन वृद्धि गर्न मलखाद ब्यवस्थापन सम्बन्धि निम्न अवधारणा अबलम्बन गर्न सकिन्छ ।
सहि मात्रा
सहि समय
सहि तरिका
सहि स्रोत
यी उल्लेखित अवधारणाले मलखादको प्रभावकारिता वृद्धि गर्नुका साथ साथै खर्च कटौती एवं पर्यवरणिय संरक्षणमा पनि उल्लेख्य टेवा पुर्याउन सकिन्छ ।
सहि मात्रा
नेपालमा विभिन्न बालीहरुको लागि मलखादको सिफारिस मात्रा तय गरेको पनि धेरै वर्ष भैसकेको छ र नेपालको विभिन्न भूभागमा भएका अनुसन्धानहरुले परिमार्जित मलखाद मात्रा सिफारिस गरेका छन् । मलखादको उचित मात्रा तय गर्न सबै भन्दा उत्तम विकल्प भनेको माटो परीक्षण नै हो ।
तथापी नेपालका सम्पूर्ण भूभागहरुमा सहज माटो परिक्षणको व्यवस्था नभएको कारण सरकारले सिफारिस गरेको मलखाद मात्रा प्रयोग गर्न सकिन्छ । बिरुवाको अवस्था, लगाउने तरिका आदि कुराहरुलाई मध्यनजर गर्दै र कम्तिमा पनि बर्षको एकपटक माटो परीक्षण मार्फत आफ्नो खेत बारीको लागि र बालीको लागि आवश्यक मलखाद मात्रा तय गर्न सकिन्छ । धान खेतिमा सिफारिस गरिएको मल भनेको १००:३०:३० के.जी नाइट्रोजन,फोसफोरस,पोटास प्रति हेक्टर हो ।
सहि समय
मलखाद उचित समयमा हाल्ने कार्यले मलखादको प्रभावकारिता वृद्धि गर्न मद्दद गर्दछ । धेरै नास भएर जाने नाइट्रोजन (युरिया) जस्ता मलखादहरु सकेसम्म एकैपटक प्रयोग गर्नु भन्दा पटक पटक बिरुवालाई आवश्यक हुने अवस्थामा दिन सकियो भने त्यसले मलखादको प्रभावकारिता वृद्धि गर्ने मात्र नभई मलखाद नास भएर जाने प्रवृतिलाइ कम गरि खर्च कटौतीमा पनि उल्लेख्य योगदान पुर्याउने देखिन्छ । धान बालीको हकमा २५ % सिफारिस मलखाद मात्र रोप्ने बेलामा, ५०% गाँज हाल्ने बेलामा र बाला पसाउने बेलामा २५ % गरि हाल्न सकेमा यसले सकारात्मक नतिजा दिन सक्छ ।
सहि तरिका
सम्पूर्ण कुरा सहि भएतापनि मलखाद हाल्ने तरिका गलत हुदा पनि मलखादले गर्ने कार्य सन्तोषजनक नहुन सक्छ । तसर्थ धानबाली लगाएको खेतको अवस्था हेरी र बिरुवाको अवस्था हेरी मलखाद हाल्ने तरिका फरक गर्दा मलखादको उचित सदुपयोग हुन सक्दछ । सहि समय र सहि तरिकाबाट हालेको मलखादले उत्पादन वृद्धिमा सहयोग गर्दछ । यसको लागि निम्न लिखित उपाय अवलम्बन गर्न सकिन्छ ।
सहि स्रोत
रासायनिक एवम प्रांगारिक स्रोत मार्फत बिरुवालाई आवश्यक पर्ने खाद्यतत्व दिन सकिने हुदा आफुलाई पायक पर्ने र माटोको प्राकृतिक उर्वराशक्ति जोगाई राख्ने पद्दतिको अबलम्बन गर्न सकेमा त्यसले अल्पकालीन मात्र नभई दिर्घकालिन रुपमै फाईदा लिन सकिन्छ ।
धानबालीमा खाद्यतात्वको व्यवस्थापनको लागि निम्न स्रोतहरु उपयोग गर्न सकिन्छ । यसको अतिरिक्त उपलब्ध रासायनिक मलखाद मै पनि कम नास भएर जाने किसिमको मलखाद छनौट गर्न सके किसानको लगानी घटाई प्रतिफल बढाउन सकिन्छ ।
प्राङगारिक मल
गोठे मल अर्थात् कम्पोष्ट मल राम्रो सँग कुहिएको मल १०—१५ टन प्रति हेक्टरका दरले २ देखी ३ हप्ता रोपाइ अघि हालिन्छ । गोठेमलको प्रयोगले बाली र माटो दुवैको अवस्था सुधार गरेर उत्पादनमा १० देखी १२ प्रतिशतको वृद्धीमा भूमिका खेल्ने गर्दछ ।
हरियो मल
ढैँचा,बोडी,मसुरो,बाज्रा,भटमास जस्ता बालीको जरामा गिर्खा भएकाले नाइट्रोजनलाई शोषेर माटोको उर्वराशक्ति बढाउने क्षमता हुन्छ । धान रोप्नु अघि रोपेर ३० देखी ४० दिनमा माटो मुिन पल्टाइन्छ ।
यो बालीलाई नकुहिदै पल्टाएर माटो सँग मिलाउदा माटाको उर्वराशक्ति बढ्नुका साथै धानलाइ आवश्यक पर्ने खाद्यतत्व धेरै हदसम्म प्रदान गरि बिरुवाको उचित वृद्धिमा भूमिका खेल्दछ ।
रासायनिक मल
धानबाली बिशेषतः धेरै खाद्यतत्व लिने बिरुवा भएकोले र हाल धेरै जस्तो स्थानमा बर्णशंकर जातहरुको खेती हुने भएको कारणले प्रांगारिक स्रोत मात्र अपर्याप्त हुने देखिन्छ । यस्तोमा धान खेतिबाट उच्च प्रतिफलको लागि रासायनिक मलको पनि उचित प्रयोग गर्नुपर्दछ ।
उचित ब्यवस्थापन गर्न सकेको खण्डमा रासायनिक मलखादले २० देखि ३० प्रतिशत उत्पादन वृद्धि गर्न सहयोग गर्दछ । धान बालिको लागि सबै भन्दा धेरै आवश्यक पर्ने खाद्य तत्व नाईट्रोजन हो जसको लागि हाम्रो देशमा युरिया र अमोनियम सल्फेट धेरै प्रयोग हुन्छ । त्यस पश्चात धानलाई फस्फोरस र पोटास पनि धेरै मात्रामा आवश्यक पर्दछ । योसँगै धानको हकमा जिङ्कको प्रयोग पनि अपरिहार्य मानिन्छ ।
धेरै आवश्यक पर्ने तर धेरै नास भएर जाने नाइट्रोजन (युरिया) को निम्न बिधि मार्फत ब्यवस्थापन गर्दा त्यसको प्रभावकारिता बढ्ने र सँगै उत्पादनमा समेत त्यसले सकारात्मक भूमीका खेल्ने गर्दछ । बिरुवामा नाइट्रोजनको उपयोगिता बढाउनलाई युरियालाई ब्यवस्थित ढंगले राख्नु पर्ने हुन्छ । त्यसको लागि निम्न कुराहरुमा ख्याल पुर्याउनु पर्दछ ।
युरियाकोे ३ बिभाजित खुराक
युरियालाई बाली विकासको चरणमा ३ विभाजित खुराकमा हाल्न सकिन्छ । धानको महत्वपूर्ण विकास चरण रोपाइको १ हप्तापछी २५ प्रतिशत, गाँज लाग्ने बेला (Tillering stage) ५० प्रतिशत र बाला आउने बेला ( Panicle initiation stage) २५ प्रतिशतका दरले हालिन्छ ।
बिरुवा बढ्दै जाँदा जराहरु उम्रदै जान्छ जस्ले गर्दा बिरुवालाई हुर्कन चाहिने नाइट्रोजनको मात्रा सजिलै गरी प्राप्त गर्न सक्छ र यसरी हाल्दा नाइट्रेटको रुपमा खेर नजाने र बिरुवाले आफुलाई चाहिने मात्रामा उपयोग गर्न सक्नेछ ।
एल. सी. सी. (LCC) को प्रयोग
बिरुवामा रहेको हरियोपनको तुलनात्मक परीक्षण मार्फत बालीको नाइट्रोजन माग मापन गर्ने सामान्य पाता लाई लिफ कलर चार्ट वा एल सी सी भनिन्छ । रोपाइ गरेको २१ दिन देखी १० दिनको फरकमा बाला लाग्ने बेलासम्म एल सी सी ले सबैभन्दा माथिको पुरै फक्रेको पातको रङ मापन गरिन्छ ।

एल सी सी को प्रयोग गर्नका लागि खेतमा समग्र रुपमा रहेको बालीको बिरुवाबाट अनियमित रुपमा १० वटा बिरुवा छनौट गर्ने । बिरुवाको पूर्णरुपमा बिकसित भएको पात छनौट गरेर त्यो पातमा आफ्नो छाँया नपर्ने गरी एल सी सी को पाता पातको बीचमा राखेर उल सी सी पाताको रङ पातको रङसँग दाज्ने । यसैगरी छनौट गरिएका १० वटा बिरुवामै मापन गरिन्छ ।
एल सी सी मा रहेका विभिन्न अंक (१,२,३,४,५,६) मध्य पातको रङ ३ भन्दा कम भयो भने त्यो बिरुवामा नाइट्रोजन को आवश्यक्ता छ भन्ने बुझिन्छ । सोही अनुसार पातामा सिफारिस गरिएको मात्रामा मलखाद प्रयोग गर्नु पर्दछ ।
धानमा गाँज आएदेखि बाला पसाउने बेलासम्म मलको आवश्यक्ता भएको देखिएमा मध्यम वा लामो अवधिको धानका लागि ३० के.जी प्रति हेक्टर र छोटो समय अवधिकोे धानका लागि ४० के.जि प्रति हेक्टरका दरले छरिन्छ ।
युरिया सुपर ग्रानुल्स को प्रयोग (यु. एस. जी.)
धानमा प्रयोग गरेको नाइट्रोजन करीब ६० प्रतिशत बगेर वा हावामा उडेर जाने गर्दछ । युरिया सुपर ग्रानुल्स (गेडा) धानको जरामा ८ देखी १० सेमिको गहिराइमा राख्दा बगेर उडेर हुने नाइट्रोजनको क्षती लाई ३० प्रतिशत सम्म कम गर्नुको साथै प्रसारण गर्दा चाहिने नाइट्रोजनको मात्रा भन्दा पनि कम लाग्ने गरेको पाइन्छ । नाइट्रोजन बिस्तारै बिरुवालाइ लामो समय सम्म उपलब्ध हुने हुदा खाद्यतात्व नास हुनबाट जोगाई त्यसको प्रभावकारिता वृद्धि गर्दछ ।
निमले कोटिङ गरिएको युरियाको प्रयोग
बालीको महत्वपूर्ण चरणमा हालिएको नाइट्रोजन करिब ६० प्रतिशत जति बगेर वा उडेर खेर जाने गर्छ भने ३५ देखी ४० प्रतिशत नाइट्रोजनले अहिलेको हाइब्रिड जातहरुलाई हुर्कन अपुग हुने हुन्छ । निमले कोटिङ गरिएको युरिया धानको महत्वपूर्ण चरणहरुमा सिफारिस गरिए अनुसारले राख्दा बिस्तारै नाइट्रोजन बिरुवाले लामो समय सम्म लिन सक्ने, नाइट्रोजन बगेर जादा हुने प्रदुषण कम हुने , किट प्रतीरोधात्मक शक्तिको वृद्धि हुने संगै अनावश्यक आर्थिक बोझ कम गर्न पनि सहयोगी सिद्ध हुने देखिन्छ ।
विश्वकै महामारीको रुपमा फैलिएको कोभीड १९ ले गर्दा देशले मलको आयात गर्न कठिनाई भोग्नु परेको बेला हामीले राम्रोसँग मलको व्यवस्थापन गर्न सकियो भने थोरै मलमा पनि उत्पादनमा वृृद्धि ल्याइ अहिलेको अवस्थामा मात्र नभएर भोलिका दिनहरुमा पनि धान उत्पादनमा टेवा पु¥याउन सकिन्छ । साथै किसानहरुले समिश्रण रुपमा (प्राङारिक र रसायनिक) मलको प्रयोग गर्नाले ५० प्रतिशतसम्म आर्थिक बोझ कम हुनेछ जस्ले गर्दा थुप्रै किसानहरुलाई व्यवसायिक रुपमा खेती गर्न प्रोत्साहन मिल्नेछ ।
– ढकाल कलेज अफ लाइभ साइन्स तुलसीपुर दाङमा कृषि स्नातक तहमा आठौ सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ ।