शालिकराम घिमिरे ।
अधिकांश किसानहरुले रासायनिक मलको अन्धाधुन्द प्रयोग गरेको पाईन्छ । रासायनिक मलको प्रयोग गर्दा बालीको लागि सिफारिस गरिए बमोजिम गर्नुंपर्दछ । सिफारिस गरिए अनुसार प्रयोग गरेमा यसले माटोको उर्वराशतिमा खासै असर गर्दैन । हरेक बालीका लागि सिफारिस अनुपातको हिसाब कृषि विज्ञहरुले गर्दछन् । बिभिन्न ठाउँका किसानहरुसँगको कुराकानी र अध्ययनका आधारमा अनुपातको हिसाबमा गरिएको सिफारिसलाई नै किसाहरुले मलको मात्राको रुपमा लिएको र त्यहि आधारमा मलको प्रयोग गरेको पाईएको छ । यसमा प्राविधिकहरुको पनि कमजोरी छ भन्दा फरक नपर्ला ।
मलको मात्रा कति प्रयोग गर्ने भन्नेबारे किसानहरुलाई प्रष्टसँग बुझाउनु पर्र्ने हो तर सो हुन सकेको छैन् । अधिकांस प्राविधिकहरु पनि यो विषयमा जानकार छैनन । राम्रो उत्पादन लिनका लागि आवश्यक मात्राको मल उपलब्ध हुन जरुरी हुन्छ । यसै कुरालाई मध्यनजर राखी सामान्य रुपमै बुझ्न सकिने तरिकाले मलको मात्रा थाहा पाउने बारे जानकारी यहाँ प्रस्तुत गरिएको छ ।
उदाहरणका लागि एक हेक्टर सिंचित जमिनमा धानबालीका लागि मलखादको मात्रा १०० : ३०:३० सिफारिस गरिएको भनेको नाइट्रोजन (N) १०० केजी, फस्फोरस (P) ३० के.जी. र पोटासियम (K) ३० केजी हो । तर यहाँ सामान्य रुपमा १०० के.जी. युरिया, ३० के.जी. डीएपी र ३० के.जी. पोटास हो भन्ने कुरा किसानहरुले बुझ्दै आएका छन् । यो बुझाइ गलत हो किनभने अहिले नेपालमा उपलब्ध ५० केजी डीएपीको बोरामा फस्फोरस मात्र नभएर त्यसमा नाइट्रोजन को मात्रा पनि हुन्छ । जसको कारण ३० केजी फस्फोरस (P) सिफारिस भएको ठाउँमा ३० केजी डीएपी प्रयोग गर्दा फस्फोरसको मात्रा मिल्दैन । तपाई हामीलाइ यो थाहा हुनुपर्छ की डीएपीमा फस्फोरस मात्र नभइ नाइट्रोजन पनि हुने हुँदा फस्फोरसको लागि डीयपी प्रयोग गर्दा नाइट्रोजन पनि उपलब्ध भइरहेको हुन्छ ।
रासायनिक मलमा पाइने विभिन्न तत्वको अनुपात
मलको किसिम | नाइट्रोजन ( %) | फस्फोरस (%) | पोटासियम (%) |
डीएपी | १८ | ४६ | – |
युरिया | ४६ | – | – |
म्युरेट अफ पोटास | – | – | ६० |
आवश्यक मलको मात्रा कसरी पत्ता लगाउने ?साधारणतया आवश्यक मलखादको मात्रालाई अनुपातको रुपमा दिइएको हुन्छ जसको प्रयोगका लागि देहाय बमोजिमको सुत्र प्रयोग गरि आवश्यक मलको मात्रा निकाल्न सकिन्छ ।
आवश्यक मलको मात्रा (के.जी.) = प्रति हेक्टर सिफारिस मलको मात्रा × क्षेत्रफल (वर्गमिटर) /मलमा पाइने खाद्य तत्वको प्रतिशत मात्रा × १००
आवश्यक नाइट्रोजननको लागि
अब, उदाहरणको लागि यदि, कुनै बालीको सिफारिस गरिएको मलखादको मात्रा १००:३०:३० के.जी. प्रति हेक्टर ( ३० कठ्ठार२० रोपनी ) छ भने कुन कुन मल कति प्रयोग गर्नु पर्दछ भन्ने कुरा तल देखाइएको छ ।
माथिको सुत्रानुसार,
डीएपी = ३०× १०००/४६× १०० =६५.२१ के.जी
यहाँ,
३० = सिफारिस गरिएको फस्फोरसको मात्रा
१०००० = १ हे. वर्ग मि.मा
४६ = डी. ए. पी. मा उपलब्ध फस्फोरसको मात्रा
यसको मतलब माथि सिफारिस गरिएको फस्फोरस को मात्रा पुर्याउन ६५.२१ के.जी डीएपी प्रयोग गर्नु पर्दछ । अर्थात ६५.२१ के.जी डीएपी बाट मात्र ३० के.जी फस्फोरस उपलब्ध हुन्छ ।
फस्फोरसका लागि प्रयोग गरिएको डीएपी बाट १८ % नाइट्रोजन जाने हुँदा, उक्त डीएपीबाट उपलब्ध नाइट्रोजनको मात्रा =६५.२१ × १८ % = ११.७३ के.जी. ।
यसको मतलब हामीले माथि प्रयोग गरेको डीएपीबाट ११.७३ के.जी नाइट्रोजन गइसकेको हुन्छ । अब सिफारिस अनुसार १ हेक्टर (१०००० वर्ग मिटर) को लागि १०० केजी नाइट्रोजन चाहिन्छ । सो मध्ये ११.७३ केजी डीएपीबाट प्राप्त भइसकेको छ, अब बाँकी चाहिने नाइट्रोजन भनेको १०० केजी – ११.७३ के.जी. = ८८.२७ के.जी. मात्र हो जुन युरियाबाट दिनुपर्छ ।
कृषि सामाग्री संस्थानले उपलब्ध गराउने युरियामा ४६ प्रतिशत नाइट्रोजन उपलब्ध हुनेहुँदा ४६ केजी नाइट्रोजन १०० केजीबाट प्राप्त हुन्छ ।
आवश्यक युरिया = ८८.२७ × १०००० /४६ × १०० = १९१.८९ के.जी.
तसर्थ माथिको सिफारिस बमोजिम नाइट्रोजनको आवश्यक मात्रा पुर्याउन १९१.८९ के.जी. युरिया प्रयोग गर्नुपर्दछ ।
त्यसैगरी माथीको सिफारिस अनुसार आवश्यक पोटासियमको मात्रा
म्युरेट अफ पोटास =३० × १००००/६० × १०० = ५० के.जी.
माथिको सिफारिस बमोजिम पोटासियमको आवश्यक मात्रा पुर्यारउनको लागि ५० के.जी. पोटास प्रयोग गर्नुपर्दछ ।
तसर्थ NPK को मात्रा १००:३०:३० केजी प्रति हेक्टर सिफारिस गरिएको बालिको लागि प्रयोग गर्नुपर्ने युरिया, डीएपी र पोटासको मात्रा तल तालिकामा दिएको छ ।
क्षेत्रफल | युरिया | डीएपी | पोटास |
१ हेक्टर | १९१.८९ | ६५.२१ | ५० |
१ रोपनी | ९.५९ | ३.२६ | २.५ |
१ कठ्ठा | ६.३९ | २.१७ | १.६६ |
हामी सबैले बुझ्नुपर्ने कुरा भनेको कुनै पनि मलखादको बोरामा मलखाद अनुपातमा उपलब्ध हुन्छ । त्यसलाई मात्राको रुपमा लिनु हुँदैन । अर्थात सरल भाषामा भन्ने हो भने बजारमा उपलब्ध ५० के.जी. युरियाको बोरामा ४६ प्रतिशतमा २३ केजी नाइट्रोजन हुन्छ । त्यसैले ५० केजी नाइट्रोजन प्रयोग गर्ने ठाउँमा ५० के.जी. युरिया प्रयोग गरेर पुग्दैन । जसको फलस्वरुप आवश्यक मलखाद अपुग भई हुनुपर्ने जति उत्पादन हुँदैन । अन्धाधुन्दा रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको छ । रासायनिक मलको मात्रा मिलाएर प्रयोग गर्न सकेमा दिगो रुपमा उत्पादन बढाउन सकिन्छ ।
लेखक घिमिरे कृषि तथा बन विज्ञान विश्वविधालय, रामपुर चितवनमा कृषि संकाय अन्तर्गत वागवानी विज्ञान विभागमा स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ ।
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.