भारतबाट प्याज ल्याउन थालेपछि कालिमाटी बजारले तोक्यो मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दुई दिनपछि भारतीय सुकेको प्याजको मूल्य तोकेको छ । आज बिहीवार कालीमाटी थोक तरकारी बजारमा भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ र न्यूनतम मूल्य प्रतिकिलो ७५ रुपैयाँ कायम भएको हो ।

भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेसँगै कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याज नभित्रिएको भन्दै दुई दिन मूल्य तय भएको थिएन ।

प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने भारतले निर्णय गर्नुभन्दा अगाडि गएको आइतवार कालीमाटीमा प्याजको अधिकतम मूल्य प्रतिकिलो ६२ रुपैयाँ र न्यूनतम मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको थियो । सोमवार भने प्याजको मूल्य २० रुपैयाँसम्म बढेको थियो । अस्ति मङ्गलवार र हिजो बुधवार मूल्य तोकिएको थिएन ।