हावाहुरीले केराखतीमा १ करोडको क्षती, किसानलाई कर्जाको चिन्ता

कञ्चनपुर – हावाहुरीका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का किसानले लगाएको केरा खेतीमा ठूलो क्षति पुगेको छ । गत बिहीबार राति आएको हावाहुरीले घारी लाग्नै थालेको र लागेको केराका बोटहरु ढालेपछि किसानले निकै क्षति व्यहोरेका हुन् ।

कालागौंडी, तिलकी र दमलपट्टिका १५ जनाभन्दा बढी किसानले १० बिघा जग्गामा लगाइएको केरामा हावाहुरीले ९० प्रतिशत क्षति गरेको किसान मङ्गल चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार हावाहुरीले ४२ हजार ५०० केराका बोट ढालेको छ ।

जसबाट एक करोड ४८ लाख ७५ हजार रकम बराबरको केरा खेतीमा किसानलाई घाटा लागेको छ । केराको बोट खरीद, लगाउने खर्च, मल, सिँचाइ गोडमेल गरी प्रतिबोट केरा रु ३५० लागत खर्च लाग्ने गरेको छ स्थानीय किसान रामआश्रय रानाले भने, “दश कट्ठामा लगाएको पूरै केरा हावाहुरीका कारण ढलेपछि नोक्सानी भएको छ ।

जी नौ जातको केरा रोपेका यहाँका किसानले हावाहुरीले व्यापक क्षति पु¥याउँदासमेत निरीक्षणका लागि हालसम्म सरकारी निकाय र जनप्रतिनिधि नपुगेको स्थानीय किसानले गुनासो गरेका छन । धेरै जनाले गाउँको समूह, सहकारी संस्था र बैंकबाट कर्जा लिएर केरा खेती गरेका छन् ।

केरा खेती पूरै बर्बाद भएपछि समूहबाट केरा खेतीका लागि लिएको रु २० हजार ऋण कसरी तिर्ने भन्ने चिन्ता थपिएको भङ्गी रानाले बताउनुभयो। “प्राकृतिक प्रकोपका कारण निकै क्षति व्यहोरेका छौँ”, उहाँले भन्नुभयो “किसानलाई केरा खेतीबाट पलायन हुन नदिनका लागि नगरपालिका, प्रदेश र केन्द्र सरकारले क्षतिपूर्तिको व्यवस्था गरिदिनु पर्दछ ।” आउँदो वर्षदेखि केरा खेतीमा बीमा गर्ने वातावरण बनाई दिनसमेत उहाँले माग गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here