झापा –
झापाको गौरिगञ्ज गाउँपालिका क्षेत्रका पशु चौपायामा खोरेतको प्रकोप देखिएको छ । सरकारले उपलब्ध गराएको खोरेत बिरुद्धको भ्याक्सिन समयमा नै लगाउन नपाएपछि खोरेत प्रकोपकै रुपमा फैलिएको हो । गौरिगञ्ज ६ खजुरगाछिमा रहेको ढकाल गाई फर्ममा ४ वटा गाई छन् ।
चार वटा गाईबाट दैनिक ३० देखि ३५ लिटर दुध पुग्ने गरेकामा अहिले दैनिक दुई लिटर मात्रै हुने गरेको छ । यसको प्रमुख कारण गाईमा खोरेत लागेको र प्राविधिकले समेत गलत औषिधिको सेवन गर्न लगाउनु रहेको किसानको आरोप छ ।
पशु सेवाकेन्द्र गौरिगञ्जका प्रबिधिकले खोरेतबाट पशुलाई प्रतिरक्षाका लागि ट्रिमोलिभ नामको औषधि दिएपछि रोग निको हुनुको सट्टा अझै बढ्दै गयो । पशु चिकित्सकसँग परामर्श गर्दा ट्रिमोलिभको काम खोरेत र ज्वरो न्यूनीकरण भन्दा पनि झाडापखला निर्मुल गर्ने रहेको बताइयो ।
अहिले यहाँ अधिकांश किसानले पालेका चौपायामा खोरेतको संक्रमण फैंलिसकेको छ । तर, गाई फर्मले सेवा केन्द्र गौरीगंजका प्रमुखको लापरवाहिले २२ लाख लगानी गरेर सञ्चालन गरेको फर्म नै मासिने आवस्थामा पुगेपछि प्राबिधिक बिरुद्ध गाउँपालिकामा मुद्धा दर्ता गराएको छ ।
यता, पशु सेवा केन्द्रले भने गाईको रोग परिक्षण गरेर सहि नै औषधि दिएको दावी गरेको छ । पशुमा देखिने यस्ता प्रकृतिका रोगको राम्रो पहिचान हुन नपाउदै किसानहरु ठुलो क्षति ब्योहोर्नु पर्दा आक्रोशित भएका छन् ।