एक लाख हेक्टरमा चैते धान लगाउने तयारीमा छौँः कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गरेर मात्रै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कृषि नेपालको लागि मेरुदण्ड भएको उल्लेख गर्दै कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिंचाईको रहेको बताउनु भयो ।

उहाँले अहिले पनि देशको खेतीयोग्य जमिनको आधा पनि सिंचाई हुन नसकेको बताउनु भयो । ४८ प्रतिशत जमिन वर्षा याममा मात्रै सिंचाई हुने र १८ प्रतिशत जमिन मात्रै सधैँभर सिंचाई हुने अवस्था रहेको बताउँदै सिंचाईको समस्या समाधान गर्नु नै पहिलो काम रहेको बताउनु भयो ।

यस वर्ष सरकारले चैते धान एक लाख हेक्टर क्षेत्रफलमा लगाउने गरी काम शुरु गरेको बताउनु भयो । कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले उपभोक्ताको घर र भान्सासम्म पुग्ने विषयलाई एउटा छाता कानूनको रुपमा कृषि विधेयक हाउसमा पेस गर्ने तयारी भइरहेको बताउनु भयो ।

उहाँले आगामी अधिवेशनमा कृषि विधेयक संसदबाट पारित हुने र पारितपछि नेपालको कृषि क्षेत्रमा वृहत कानूनी संरचनाको व्यवस्थापन हुने बताउनु भयो । उहाँले नर्सरीले अब बिरुवा बेच्दा श्रोत खुलाएर मात्रै बेच्न पाउने नर्सरी निर्देशिका बनाइरहेको पनि बताउनु भयो ।