चितवन
चैत ४ – गाई, भैंसीलाई कृत्रिम रुपमा गर्भाधान गराउने सेवा चितवनमा प्रभावकारी बन्दै गएको छ । पछिल्लो समयमा बाख्रामा पनि कृत्रिम गर्भाधारण सेवा प्रभावकारी भन्दै गएको छ । चितवनमा यो आर्थिक वर्षको आठ महिनाको अवधिमा ३५ हजार १ सय ९० पशुमा कृत्रिम गरिएको छ । जसमध्ये १ सय ५७ वटा बाख्रामा कृत्रिम गर्भाधान गरिएको थियो ।
गएको आर्थिक वर्ष २०७३/०७४ मा ४७ हजार २ सय ६४ पुशमा कृत्रिम गर्भाधान गरिएको जिल्ला पशु सेवा कार्यालय चितवनको तथ्याङ्क रहेको छ । जसमध्ये ४२ हजार ६ सय ७८ गाई, ४ हजार ४ सय २४ भैंसी र १ सय ६२ वटा बाख्रामा कृत्रिम गर्भाधान गरिएको जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर चेतनारायण खरेलले बताउनुभयो । यो अर्थिक वर्षमा गाई ३१ हजार ५ सय ७५ भैंसी ३ हजार ४ सय ५८ र बाख्रा १ सय ५७ वटालाई कृत्रिम रुपमा गर्भाधान गराइएको खरेलले बताउनुभयो ।
चितवनमा २०३२ सालबाटै पशुमा कृत्रिम गर्भाधान सुरुवात भएको थियो । तर पछिल्लो समयमा मात्र यो सेवा व्यवसायिक गाईपालन र उन्नत नश्ल सुधारको लागि कृषकहरुको अकार्षण बन्दै गएको छ । सरकारले आर्थिक वर्ष २०६८/०६९ वाट कृतिम गर्भाधान सेवालाई मिसनको रुपमा देशका ३५ जिल्लामा कृत्रिम गर्भाधान आयोजना (एआई मिसन) कार्यक्रम बनाएर लागू गरेको थियो ।
पछिल्लो समयमा उन्नत नश्ल सुधार र बढी उत्पादनको लागि कृषकहरुले कृत्रिम गर्भाधान सेवालाई मन पराएको डाक्टर खरेलले बताउनुभयो । चितवनमा कृत्रिम गर्भाधान प्रति कृषकको आकर्षणले थप बढेकोे डाक्टर खरेलले बताउनुभयो । कृतिम गर्भाधन सेवालाई अझै सरल र सहज बनाउन जिल्ला पशु सेवा कार्यालय लागि रहेको खनालको भनाई छ । बाख्राको नश्ल सुधार गर्न तथा बीउका लागि बोकाको उत्पादन गर्न बाख्रामा कृत्रिम गर्भाधान गरिँदै आएको उहाँले बताउनुभयो ।
कृत्रिम गर्भाधान भैँसीमा ५५ प्रतिशत र गाईमा ७० प्रतिशत सफल भएको खरेलको भनाई छ । कतिपय अवस्थामा पशुको गर्भाधनको समय, रोगका कारण असफल हुने गरेको डाक्टर खरेलले बताउनुभयो । १५ वटा सेवा केन्द्रबाट जिल्ला पशु सेवा कार्यालय मार्फत कृतिम गर्भाधानको सेवा दिइँदै आएको छ । सामुदायिक पशु प्रजनन केन्द्र मार्फत २० स्थान नीजि क्षेत्रबाट २० स्थान गरी ५५ वटा केन्द्रबाट कृत्रिम गर्भाधानको सेवा दिइएको उहाँले बताउनुभयो ।
गाईभैँसीमा कृत्रिम गर्भाधान गराउँदा नस्ल सुधार मात्र नभई दूध उत्पादनमा समेत वृद्धि हुने भएपछि किसानहरू यसतर्फ बढी उत्साहित भएका हुन् । गाई र भैंसीमा प्रभावकारी ढंगबाट कृत्रिम गर्भाधान गराई नस्ल सुधार गर्दै व्यावसायिक पशुपालनमा अभिरुचि जगाउने उद्देश्यले सेवा सञ्चालन गरिएको हो । संख्यात्मक रूपमा धेरै रहेका कम उत्पादनशील पशुको कृत्रिम गर्भाधानको माध्यमद्वारा उत्पादकत्व वृद्धि गराउन सेवा कृत्रिम गर्भाधान सुरु गरिएको हो । कृत्रिम गर्भाधानको वीर्यबाट जन्मिएका पाडी तथा बाच्ची पनि उन्नत जातका हुने गरेका छन् ।
जिल्ला पशु सेवा कार्यलय र मातहतको सेवा केन्द्रमा गाई भैँसी ल्याएर कृत्रिम गर्भाधान गराउदा कृषकले २५ रुपैयाँ राजश्व तिर्नुपर्ने हुन्छ ।