डडेल्धुरामा पशुमा हुने लम्पी स्किनको संक्रमण

डडेल्धुरा । गर्मी मौसममा गाईभैंसीमा देखिने संक्रमण (लम्पी स्किन रोग) ले डडेल्धुराका कृषक चिन्तित भएका छन् ।

गर्मी मौसममा टोक्ने झिंगा (डाँस), लामखुट्टे, किर्ना जस्ता किराहरुबाट सर्ने महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट पशुको दूध उत्पादनमा कमी हुने प्रजननमा समस्या आउने, छालाको गुणस्तरमा ह्रास आउने, तौल घटने, छाला र लोतीमा गिर्खा देखिने लगायतका लक्षणहरु देखिएको छ ।

गत बैशाख मसान्तसम्मको तथ्यांक अनुसार डडेल्धुराका साढे आठ हजार बिरामी गाईमध्ये ४ सय १९ र ४ सय २५ बिरामी भैंसीमध्ये २३ भैंसी मरेपछि करोडौंको लगानी नोक्सानी भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले जनाएको छ ।

चैत्र अन्तिम साताबाट देखिएको यो रोगको उपचारका लागि अस्पतालमा दिनहुँ सयौं चौपाया आउने गरेको तर प्रभावकारी उपचार नभए पनि नियन्त्रणमा ल्याउने प्रयास भएको पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख देवराज भट्टले जानकारी दिनुभयो ।

जिल्लाका सातवटै पालिकाले उपलब्ध गराएको तथ्यांकअनुसार मरेका पशुधनबाट कृषकलाई डेढ करोड बराबरको क्षति भएको छ भने थप क्षति रोक्न जिल्ला विपद व्यवस्थापन समितिको सिफारिस बमोजिम प्रदेश सरकारलाई सिफारिस गरिएको कार्यालयले जनाएको छ ।